कास्कीमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित ५८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । मृतक पोखरा महानगरपालिका वडा नम्बर १४ काजिपोखरीका बासिन्दा हुन् ।
मृतक पुरुषलाई भदौ १० गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पेट सम्बन्धी समस्या भएका उनी ८ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोहि दिन सफल शल्यकृयासमेत गरिएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
मृतक पुरुषको शनिबार अपराह्न ४ बजे तिर शव ब्यबस्थापन गर्ने तयारी भएको छ । उनको पोखरा महानगरपालिका वडा नम्बर ३२ मझुवामा शव ब्यबस्थापन गरिने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोली खटिइसकेको छ ।
शनिबार भएको पुरुषको मृत्युसँगै कास्कीमा कोरोनाबाट मृत्यू भएको संख्या ५ पुगेको छ । गण्डकी प्रदेशमा भने कोरोनाबाट मुत्यु हुनेको संख्या १२ पुगेको छ । यसअघी शनिबार विहान गोरखा घर भएका एक व्यक्तिका चितवनको भरतपुरस्थित अस्पतालमा उपचारका क्रममा मुत्यु भएको थियो ।
प्रकाशित: १३ भाद्र २०७७ ०९:०६ शनिबार





