जेनजी आन्दोलनका क्रममा हालसम्मको मूल्यांकन कुल तीन सय २० वटा सरकारी संरचनाका विभिन्न तहमा क्षतिग्रस्त भएको छ । देशभरका सरकारी तथा सार्वजनिक भवनहरूमा ठूलो मात्रामा क्षति पुगेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने दुई सय ६९ संरचनामा क्षति पुगेको छ । तीमध्ये एक सय २५ संरचनामा सामान्य क्षति (हरियो स्टिकर), एक सय संरचनामा आंशिक क्षति (पहेँलो स्टिकर) तथा ४४ संरचनामा पूर्ण क्षति (रातो स्टिकर) देखिएको विभागले जनाएको छ ।
यस्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद् भवनलगायत ५१ संरचनामा क्षति पुगेको छ । यसमध्ये १५ संरचना हरियो, २९ पहेँलो र सात रातो स्टिकर वर्गीकरणमा परेका छन् ।
दुवै निकायका विवरण समेट्दा आन्दोलनका क्रममा एक सय ४० संरचनामा सामान्य, एक सय २९ मा आंशिक र ५१ संरचनामा पूर्ण क्षति पुगेको पुष्टि भएको छ । संरचना पुनस्र्थापना तथा पुनर्निर्माणका लागि परामर्शदाता नियुक्त गरी विस्तृत मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सरकारी र सार्वजनिक संरचनाको पुनस्र्थापना तथा पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी छिटो काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘सरकारी तथा सार्वजनिक संरचनाको पुनस्र्थापना र पुनर्निर्माणमा तीन–चार वर्ष कुर्नु हुँदैन । छिटोभन्दा छिटो काम अघि बढाउनुपर्छ ।’
प्रकाशित: २४ मंसिर २०८२ २०:४२ बुधबार





