६ वैशाख २०८१ बिहीबार
समाज

‘महामारीभन्दा भोकमरीले मार्ने भो’

नेपालगन्जको धम्बोझी चोकस्थित चियापसलमा शान्ति कोरी। तस्बिर: नागरिक

कैलालीका धनबहादुर शाहले गत फागुनमा काठमाडौंको कलंकीमा खाजा पसल खोलेका थिए । पसल सञ्चालन गरेको डेढ महिना नपुग्दै मुलुकमा कोरोना कहरले लकडाउन सुरु भयो । उनको खाजा पसलको सटरमा त्यहीबेलादेखि ताला लागेको छ ।  

‘दुई महिनाको भाडा त घरधनीले छुट दिए । मासिक २० हजारको भाडा घटाएर १० हजार पनि बनाइदिए । तर व्यापार गर्न नपाएपछि सहज हुँदोरहेनछ । अवस्था कहिले सहज बन्छ भन्ने टुंगो छैन । त्यसैले यो काम नै छाड्ने सोचमा छु,’ शाह भन्छन्, ‘अझै केही दिन यस्तै अवस्था रहे फर्निचर र सामान कोठामा थन्काएर गाउँ जान्छु ।’ केही समयअघि लकडाउन खुकुलो भएका बेला पनि राम्रो व्यापार नभएको बताए उनले । उनी भन्छन्, ‘व्यवसाय सुरु गरेलगत्तै कोरोना कहर आइलाग्यो । विकल्प के हुन्छ, सोच्नसमेत सकेको छैन ।’

काठमाडौं उपत्यकामा शाहको जस्तै अवस्था अन्य व्यवसायीको पनि छ । कोरोनाले गर्दा सामान्य जीविकोपार्जनमा समेत समस्या देखिन थालेको छ । अर्घाखाँचीकी कमला नेपाली र उनका पति बिरामी छोरासहित कलंकी स्युचाटारमा बस्दै आएका छन् । मजदुरी गर्ने उनीहरूका छोरा मिर्गौलाका रोगी हुन् । कोरोनाका कारण कहिले लकडाउन र कहिले निषेधाज्ञा लाग्दा उनीहरूले काम गर्न पाएका छैनन् । ‘उहाँ (पति) को भरमा मात्र छोराको उपचार र चारजनाको परिवार धानिएको थियो तर कोरोना महामारीले नियमित काम पनि पाइन छाड्यो,’ उनी भन्छिन्, ‘गाउँ फर्कौं छोराको उपचार गर्नु छ, नफर्कौं दुई छाक खानसमेत गाह्रो पर्न थाल्यो ।’ छोराको उपचारका लागि रकम अभाव त छ नै, त्यसमाथि अस्पताल गइरहन साधन अभाव र संक्रमणको जोखिम उत्तिकै छ ।

संघीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकभरका व्यवसायीदेखि सर्वसाधारण सबै कोरोनाको मारमा छन् । कोरोनाले सामान्य दैनिकीदेखि आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत पक्ष प्रभावित बनेको छ । नेपालगन्जका निजामुद्दिन साहको घरअघि यसपटक ‘ताजिया’ हुनेछैन । इस्लाम धर्मावलम्बको मुख्य पर्व मोहरममा ताजिया राख्ने चलन छ । नेपालगन्जमा कागज, प्लास्टिक र काठले बनाइने ताजियाको मूल्य १ हजारदेखि ५० हजार रूपैयाँसम्म पर्छ । हरेक वर्ष उनले दुईदेखि ३ हजार रूपैयाँ मूल्य पर्ने ताजिया आफ्नो घरअघि सजाएर राख्ने गरेका थिए । निजामुद्दिनको परिवार खुसीसाथ ताजिया सेलाउन कर्बला पुग्थ्यो तर यसपटक यो परिवारमा ताजिया किन्ने पैसा छैन । उनले जीवनमा पहिलोपटक घरमा ताजिया नराख्ने निर्णय गरेका छन् । उनी भन्छन, ‘परिवारलाई खाना जुटाउन मुस्किल छ । ताजिया कसरी किन्ने ? पसलमा गएर बस्ने मात्र काम भएको छ । ग्राहक आउँदैनन् । कमाइ छैन ।’

मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आफन्त, छिमेकी र गरिब–दुःखीलाई खाना खुवाउँछन् । निजामुद्दिनका अनुसार यसलाई ‘नियाज फातिए’ भन्ने गरिन्छ । विगतमा उनले हरेक वर्ष नियाज फातिएमा ५ हजार खर्च गर्थे । तर यसपटक त्यो पनि हुनेछैन उनको घरमा । उनले मोहरम मात्र होइन, यस वर्ष सबै पर्व खल्लो हुने बताए । उनी भन्छन्, ‘यस वर्ष इद, बकर इदमा खासै रमाइलो भएन । इदमा हरेक वर्ष परिवारका सबैलाई नयाँ कपडा किन्ने गरिन्थ्यो । यसपटक बच्चाहरूका लागि मात्र किनियो ।’

लकडाउनले निजामुद्दिनको खुसी खोसिदिएको छ । नेपालगन्ज न्युरोडस्थित कपडा पसलमा सिलाइ काम गर्ने निजामुद्दिन मात्र एउटा उदाहरण हुन् । कोरोना सिर्जित लकडाउन र निषेधाज्ञाले ज्यालादारी गरेर जीवन चलाउने मानिसलाई दुई छाक खाना जुटाउन कठिन हुँदै गएको छ ।  

नेपालगन्ज धम्बोझी चोकनस्थित कृषि विकास बंैकअघि शान्ति कोरीको चिया पसल छ । चोकमा चिया पसल गर्न लागेको ठ्याक्कै कति वर्ष भयो भन्ने थाहा छैन उनलाई । तर वीरेन्द्र राजाको हत्या भएको केही महिनाअघिदेखि चिया पसल सुरु गरेको याद उनलाई छ । नेपाल राष्ट्र बंैक र कृषि विकास बैकका कर्मचारी, रिक्सा, गाडीचालक र बटुवा उनका नियमित ग्राहक हुन् ।  

सामान्य अवस्थामा दिनमा १६ देखि २० लिटर दूधको चिया बेच्ने उनले अहिले मुस्किलले तीन लिटर खपत हुने गरेको बताइन् । उनी आम्दानी घट्दै गएपछि घरभाडा बुझाउन नसकेको बताउँछिन् । ‘गरिब मर्दैछन् । सरकार कहाँ छ, थाहा छैन । नगरपालिकाले १५ किलो चामल राहतस्वरूप दिएको थियो । त्यसपछि केही पाइएको छैन । कहिलेकाहीँ त ग्यास किन्ने पैसा पनि हुँदैन,’ उनी भन्छिन्, ‘बैकका कर्मचारीले सहयोग गर्नुहुन्छ । घरभाडा पनि बुझाउन सकिएको छैन । के गर्नुजस्तो भए पनि जिन्दगी काट्नुपर्दो रहेछ । महामारीले भन्दा भोकमरीले मार्ने भयो।’  

कोरोनाले सामान्यदेखि ठूला व्यापारी प्रभावित बनेका छन् । नेपालगन्ज न्युरोडका कपडा व्यापारी दुर्गा रोकाया व्यापार नभएपछि पसल बेच्ने तयारीमा छन् । उनी ग्राहकको खोजीमा छन् । लकडाउन र निषेधाज्ञाले पसल खोल्न नपाउँदा घाटा थपिँदै गएपछि कर्मचारी कटौती गर्दै गएका रोकायले अब पसल बिक्री गर्ने निर्णयमा पुगेको बताए । उनले भने, ‘कर्मचारीलाई तलब दिन र सटरको भाडा तिर्न सकिएको छैन । बैंकको ब्याजले थप तनाव बनाएको छ । नाफाभन्दा घाटा बढी हुने देखियो । त्यसैले पसल बिक्री गर्ने निर्णयमा पुगेको छु ।’

समाजशास्त्री डा. दिनेश प्रसाईं अहिले सिंगो समाज कोरोनाको प्रभावमा परेको बताउँछन् । दैनिक मजदुरीमा गुजारा चलाउँदै आएको वर्ग कोरोनाले सबैभन्दा बढी प्रताडित भएको उनले बताए । ‘मध्यम वर्ग, जो प्राइभेट र इन्फर्मल सेक्टरमा काम गर्दै आएको छ, पनि जागिरबाट बाहिरिनुपरेको अवस्था छ । ठूला व्यवसायी पनि संकटमा छन् । मजदुरीमा जीवन धान्ने वर्ग त थिलथिलो भएको छ,’ उनले भने, ‘घरभित्रै बस्दा ज्यान कसरी पाल्ने भन्ने चिन्ता छ, बाहिर जाँदा पहिलो कुरा काम पाइँदैन, दोस्रो कोरोना संक्रमण बढ्न नदिन सरकारले लकडाउन र निषेधाज्ञा लगाउँदै आएको छ ।’  

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ कोरोनाले अर्थतन्त्र कमजोर बनिरहेको बताउँछन् । सरकारले आगामी दुई–तिन वर्षका लागि विशेष योजना ल्याउन नसके मुलुकको आर्थिक अवस्था थप गम्भीर हुने उनको अनुमान छ । चुन्ना भन्छन्, ‘सामान्यदेखि ठूला व्यापारी सबै समस्यामा छन् । सामान्यलाई दैनिक खर्च जुटाउन समस्या भइरहेको छ । ठूला व्यापारीलाई बैंकको ब्याज तिर्न कठिन परेको छ ।’

कोरोना संक्रमणले नेपालगन्ज बजार राम्ररी खुल्न सकेको छैन । अत्यावश्यक सामान बिक्री गर्ने पसलबाहेक अन्य खुलेका छैनन् । सार्वजनिक यातायात सेवा बन्द छ । स्थानीय व्यापारी ललित रौनियार लकडाउनले साना र मझौला व्यापारी ठूलो समस्यामा परेको बताउँछन । उनी भन्छन्, ‘ठूला व्यापारीलाई त सरकारले मौद्रिक नीतिमार्फत सहयोग गर्न खोजेको छ तर सानाको समस्यामा उसको ध्यान पुगेको छैन ।’

प्रकाशित: १३ भाद्र २०७७ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App