६ वैशाख २०८१ बिहीबार
समाज

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा जारी रहने

चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राती १२ बजे सकिदैछ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को (क) बमोजिम भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।  

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने भएको छ ।  

निशेधाज्ञा अवधिभर लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सन्चालन गर्न पाइने प्रजिअ भट्टराईले बताए । आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु मात्र संचालन हुने उनले बताए ।

प्रकाशित: १२ भाद्र २०७७ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App