कोभिड १९ समुदायस्तरमा फैलिने क्रम पूर्णरुपमा नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै धरान उपमहानगरापलिकामा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ।
आज बिहान नगर कार्यपालिकाको बैठकले भदौ १७ गते मध्यराती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो। यसअघि थप भएको लकडाउनको समय आज बुधबार राती १२ बजे सकिने भएपछि कार्यपालिका बैठक बसेको थियो। बैठकले लकडाउनलाई पुनः निरन्तरता दिदै एक साता समय थप गर्ने निर्णय भएको १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए। ‘लकडाउन एक साता थप गर्ने निर्णय भएको छ, भदौ १७ गते राती १२ बजेसम्म लकडाउन कायम राख्ने निर्णय भयो,’उनले भने।
नगरकार्यपालिका बैठकले खाद्यान्न, दुध र हरियो सागसब्जीको पसलहरु बिहान १० बजेसम्म खोल्न दिने पनि निर्णय गरेको छ। यसअघि बिहान ८ बजेसम्म मात्र खाद्यान्न, तरकारी तथा दुधको पसल खुला गर्न दिइएको थियो। साउन २२ गतेदेखि शुरु भएको धरानको लकडाउनमा शुरुवाती हप्तामा औषधी पसलबाहेक अन्य सबै व्यापार, व्यवसाय खोल्न प्रतिबन्ध थियो। लकडाउनको म्याद थप गर्दा दुध, तरकारी र खाद्यान्न पसललाई बिहान ८ बजेसम्म मात्र खोल्न दिइएको थियो। ‘आजको बैठकले खाद्यान्न, दुध र तरकारी पसललाई २ घण्टा थप गरेर १० बजेसम्म खोल्न दिने निर्णय भएको छ,’वडाअध्यक्ष काफ्लेले भने। धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ।
प्रकाशित: १० भाद्र २०७७ ०८:३१ बुधबार





