१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

नेपालमा कोरोना सुरुवात मात्र हो, नराम्रो दिन देख्न बाँकी नै छ : डब्लुएचओ

डब्ल्युएचओकाे नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएर

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) काे नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा हाल कोरोना संक्रमण सुरुवात मात्रै भएको बताउँदै आगामी दिनमा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिएका छन् ।  

‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमसँग कुरा गर्दै उनले अहिले नेपालमा देखिएको संक्रमणलाई सुरुवात मात्रै ठान्न र आउने दिनमा अवस्था अझ भयावह हुनेवाला छ भनेर बुझ्न नेपालीलाई आग्रह गरेका हुन् ।  

‘मलाई के लाग्छ भने यो सुरुवात मात्र हो । अब निकै नै केसहरू (संक्रमण) बढ्नेवाला छ । हामीले धेरै नै केसहरू देख्नेवाला छौं, आगामी दिनमा,’ उनले भने, ‘यहाँनिर मानिसहरूले गम्भीर भएर के बुझ्न जरुरी छ भने यो सुरुवात मात्रै हो र परिस्थिति अझै नराम्रो हुनेवाला छ ।’  

मन्त्रालयका प्रवक्ता डा. गौतमले ‘नेपालको हालको कोभिडको परिस्थितिलाई कसरी हेर्नुभएको छ’ भन्ने प्रश्नमा डब्ल्युएचओकाे नेपालस्थित कार्यालयका प्रतिनिधि डा. भ्यानडिलिएरले राखेका विचार जस्ताको तस्तै :  

नेपालमा केस (संक्रमित) को संख्या बढिरहेको देखिएको छ । केही महिनाअघि हामीकहाँ विदेशबाट फर्किएका आप्रवासी युवाका मात्र केस थिए । तर त्यसरी फर्किेनको संख्या घटेकाले अहिले केसको संख्या पनि घटेको हो । 

तर फेरि केसको संख्या बढिरहेको छ । तर मलाई के लाग्छ भने यो सुरुवात मात्र हो । अब निकै नै केसहरू बढ्नेवाला छ । हामीले धेरै नै केसहरू देख्नेवाला छौं- आगामी दिनमा, आगामी हप्ताहरूमा, आगामी महिनाहरूमा । 

यहाँनिर मानिसहरूले एकदम के बुझ्न जरुरी छ भने यो सुरुवात मात्रै हो र परिस्थिति अझै नराम्रो हुनेवाला छ ।  

नेपालमा अहिले धेरैभन्दा धेरै केसहरू देशभरि देखिइरहेको छ र अब हामीले अलि वृद्ध अवस्थाका व्यक्तिहरूमा बढी केसहरू पनि देख्न थाल्नेछौं । जबकि पहिलाचाहिँ आप्रवासी युवामा बढी केस थियो ।  

अहिले मर्ने व्यक्तिको संख्या पनि बढिरहेको छ । यसको एउटा प्रमुख कारण भनेको बढी उमेरका व्यक्तिहरूलाई यो संक्रमण हुँदाखेरि उहाँहरूको मृत्यु हुने दर अलि बढी हुन्छ । 

यो भन्दै गर्दाचाहिँ अन्य धेरै देशमहरूमा पनि, धेरै केस देखिएका देश जस्तै : ब्राजिल, धेरै जनसंख्या भएका देशमा पनि समग्र जनसंख्याको १ देखि २ प्रतिशतलाई मात्रै पोजिटिभ देखिने हो । यो समग्र जनसंख्याको सानो संख्यामा मात्र देखिने हो ।  

अहिले नेपाल त्यो अवस्थामा पुगिसकेको छैन । अहिले हामी (नेपाल) शून्य दशमलव १ प्रतिशतको अवस्थामा छौं । मैले के भन्न खोजेको हो भने केसको संख्या बढ्दै गए तापनि आत्तिहाल्नुपर्ने अवस्थाचाहिँ छैन । र, अन्ततः पोजिटिभ आउने व्यक्तिहरूको संख्या पनि समग्र जनसंख्याको तुलनामा कम नै हुनेवाला छ ।  

हाम्रा वरिपरिका व्यक्तिमा संक्रमण देखियो भन्दैमा, टोल छिमेकमा देखियो भन्दैमा त्यसरी आत्तिहाल्नुपर्ने अवस्थाचाहिँ छैन । सबै जना संक्रमित हुने भन्ने होइन ।

म यो कुरा स्पष्ट गर्न चाहन्छु कि केसको संख्या बढिराखेको छ र संक्रमणको जोखिम पनि बढिराखेको छ । तथापि हामीले देखिराखेको अथवा सम्भावित संक्रमितको संख्या, पोजिटिभ आउने संख्या भनेको जनसंख्याको तुलनामा एकदम कम नै हुन्छ । अधिकांश संक्रमित हुने व्यक्तिलाई चाहिँ मन्द लक्षण मात्र देखिन्छ, घातक हुँदैन ।

(उनको भनाइ तलको भिडियोमा पनि सुन्नुहोस् । अन्तिमतिर उनको अन्तर्वार्ता छ)

प्रकाशित: ९ भाद्र २०७७ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App