२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

‘तपाईको मास्क खै ?’

‘तपाईको मास्क खै ?’ अभियानका क्रममा हलेसीमा निकालिएको र्‍याली । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ। दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेका बेला नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीको सहकार्यमा मंगलबार ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो। 

लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएकाले सचेतना फैलाउने लक्ष्यका साथ हलेसी बजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो।  

‘आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित हलेसीको माल्खु ग्यारेज टोलबाट सुरु भएको र्‍याली लाकुरीभन्ज्याङ, बैंकचोक, रिठ्ठाबोटे, मन्दिर प्राङ्गण, डाँडाबजार हुँदै पुनः लाकुरीभन्ज्याङमा पुगेर समापन गरिएको थियो। अभियानका क्रममा निकालिएको र्‍यालीमा सहभागीले ‘मास्क अनिवार्य लगाऔं, हाम्रो स्वास्थ्य हाम्रो हातमा, जीवन अमूल्य छ, नियमित साबुन पानीले हात धोऔं’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए। 

अभियानका क्रममा अति आवश्यक काम बेगर हिँडडुल नगर्न, आफूलाई रोग नसार्न र अरुलाई नबाँड्न, सामाजिक तथा भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ। अभियानका क्रममा मास्क लगाउने तरिका सिकाउनुका साथै स्थानीयलाई मास्क वितरण गरिएको छ।  

कार्यक्रममा मेयर इवन राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल लगायतको सहभागिता रहेको थियो। संक्रमणबाट बच्नका लागि हाललाई मास्क प्रयोग गर्नुको बिकल्प नभएकाले गत साउन २१ गते दिक्तेलबाट ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको थियो।

प्रकाशित: ९ भाद्र २०७७ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App