'जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्।’ पूर्वीय साहित्यहरुमा पढ्न पाइने लाइन हो यो। हो जुन घरमा महिलाहरूले समान अवसर पाएका छन् त्यो परिवारको समाजमा कदर पनि भएकै छ। जुन परिवारमा महिलाहरू स्वावलम्बी छन्, त्यो परिवार शिक्षित र हरेक कोणबाट सक्षम देखिन्छ।
‘परिवारमा एक पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एक महिला शिक्षित भएमा पूरै परिवार शिक्षित हुन्छ’ भन्ने मान्यता पनि समाजमा छ।
तर, अनेक समस्यासँग जुझ्दै यहाँसम्म आइपुगेका महिलाहरूलाई कोरोना महामारीले अझैं सामाजिक र आर्थिक रुपमा पछि धकेल्ने देखिन्छ।
कोरोना माहामारीले मान्छेदेखि मान्छे डराउने परिस्थिति छ। त्यसैले सामाजिक एवं आर्थिक गतिविधि निकै प्रभावित छन्। महामारीले महिलाहरूको आय स्रोतमा ठूलो समेत असर पुर्याएको छ।
गोरखाकी पार्वती दुवाडी दम्पतीले काठमाडौं माछापोखरीमा फलफूल बेच्न थालेको १५ वर्ष भयो। यही पेसाबाट उनीहरुले दुई सन्तानलाई राम्रै शिक्षा दिइरहेका छन्। तर काेराेना नियन्त्रणका लािग चैतदेखि गरिएकाे लकडाउनका कारण उनको आयस्रोत बन्द छ। उनी भन्छिन्– ‘रोगको डर त छदै छ, व्यापार नहुँदा घर चलाउन पनि मुस्किल परेको छ। अहिले न राहत पाइएको छ, न काम?
त्यस्तै नुवाकोटकी फुलमाया बलामीले पनि माछापोखरी तरकारी बजार नजिकै दहीदूध बेच्न लागेको १० वर्ष भयो। नुवाकोटबाट दहीदूध ल्याएर व्यपार गर्ने उनले लकडाउन अगाडि राम्रो व्यापार भए पनि अहिले बिक्रिवितरण नभएको बताइन्। उनले भनिन्– ‘गाउँबाट दहिदूध ल्याउन पनि समस्या छ। यता ग्राहक कम छन्। व्यापारै नभएपछि घर चलाउन र भाडा तिर्न समस्या भएको छ।’
लकडाउने अधिकाशं व्युटिपार्लर बन्द छन्। निजी स्कुल तथा कलेजले पनि नियमित तलब दिन सकेका छैनन्। त्यहाँ कार्यरत महिलाहरु पनि मारमा परेका छन्, भने त्यस्ता पेसाबाट आश्रित परिवारहरुको आर्थिक स्थिती झनै दयनीय बनेको छ।
गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर परेको छ। उनीहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने अस्पताल जान पनि डराउनुपर्ने अवस्था छ।
गत डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिलोचोटि देखिएको कोरोना भाइरसले विश्वभर महामारीको रूपमा फैलिएको छ। कोरोना महामारीले स्वास्थ्य क्षेत्रलगायत विश्व अर्थतन्त्रलाई अपुरणीय क्षति पुर्याएको छ।
विकसित राष्ट्रहरू पनि अहिले कठिन समस्यासँग लडिरहेका छन्। नेपालमा पनि १ सय २० दिन लामो लकडाउन भएर फेरि देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको छ।
कर्मचारी कटौती होस् वा अब आउने नयाँ अवसरमा महिलाहरू झनै पछि पर्ने अवस्था आउने नेकपा नेता विन्दा पाण्डे बताउँछिन्। पाण्डेले भनिन्, ‘ धेरै महिला अनौपचारिक क्षेत्रमा कार्यरत छन्। शहरी क्षेत्रमा हेर्ने हो भने महिलाहरू निर्माण, सडक व्यापार, घरेलु उद्यम, घरेलु श्रममा संलग्न भएको पाइन्छ। ग्रामीण क्षेत्रमा दैनिक साना खेतीपाती कृषिमा आधारित उत्पादन तथा सेवा र दैनिक पारिश्रमिकको काममा महिलाहरूको संलग्नता बढी रहेको पाइन्छ। औपचारिक क्षेत्रमा पनि महिलाहरूलाई बढी करार, अस्थायी र दैनिक पारिश्रमिकको काम नै दिएको पाइन्छ। अहिले कोभिडको महाव्याधिका कारण यी अधिकांश काम बन्द भएका छन्। जसका कारण उनीहरूको आम्दानीको स्रोत गुमेको छ।’
हिजो आफ्नो परिश्रममा बाँच्न थालेका महिलाहरू पनि पुन आश्रित हुनुपर्ने अवस्था आएको बताउँदै पाण्डेले भनिन्– ‘पुरानो पेसा गुम्ने र नयाँ अवसर नपाइने कारणले महिलाहरूमा मानसिक तनाव बढेको छ। साथमा परिवारभित्रै पनि हिंसाका घटनाहरू बढेको महिला आयोगदेखि विभिन्न संघसंस्थामा दर्ज भएका घटनाहरूका आधारमा अनुमान गर्न सकिन्छ।’
कोरोना कहर छिट्टै नहट्ने देखिएकोे बताउँदै पाण्डेले भनिन्– ‘अब लिभिंग विथ कोरोना अर्थात् कोरोनासँगै जिउन सिकौ भन्न थालिएको छ। यस्तो अवस्थामा राज्यले घरैमा बसेर पनि महिलाहरूले गर्न सक्ने सेवा र उत्पादनको कामलाई नयाँ ढंगबाट व्यवस्थापन गर्न आवश्यक छ। अहिले धेरै सेवाहरू अनलाइनमा जाँदै छन्। यस्ता संस्था वा समूहहरूले पनि महिलाहरूले घरमा बसेर उत्पादन गर्न सक्ने वस्तुको बजारीकरणमा ध्यान दिन जरूरी छ। यसरी महिलाहरूले काममा राहत पाए भने उनीहरूको आर्थिक अवस्था सुधार हुन्छ। एक महिलाले राहत पाउने भनेको परिवारका अन्य सदस्य बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएका नागरिकले पनि राहत पाउनु हो।’
‘कोरोना महामारीबीचमा महिलाहरूको जीवनस्तर राम्रो बनाउन स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्दछन्। समन्वयका काममा स्थानीय तह, समुदायमा आधारित संघसंस्थाले अगुवाइ गरेर महिलाहरूलाई नयाँ कामको अवसर दिन सकिएमा आम नागरिकको समस्यामा मलहम लगाउन सकिन्छ। स्थानीय तहलाई नयाँ उपाय, सोच र स्रोत समेतको व्यवस्था गर्न प्रदेश र संघीय तहले हातेमालो गर्नुपर्ने बताउँदै पाण्डेले भनिन्– ‘उद्यम क्षेत्रमा रहेका व्यक्ति र संस्थाहरूले विषय परिस्थितिलाई सामना गर्ने उपायहरू सोच्न र समाजमा प्रवाह गर्न आवश्यक छ। संचार जगतले पनि एक ठाउँमा भएका असल अभ्यासहरूलाई अर्को ठाउसम्म पुर्याउन सक्दछन्। महामारीले हामी सबैलाई अप्ठेरोमा पारेको छ। राज्यका सबैै तह र नागरिकहरूले सद्भावपूर्ण हातेमालोले गर्दै समाजमा पछि परेका समूहहरूलाई नयाँ अवसर प्रदान गर्दै महामारीको सामना गर्न सकिन्छ।’
महामारीले सबै क्षेत्रलाई असर गरेको छ तर विशेष महिलाहरू बढी प्रभावित भएको बताउँदै संघीय संसद तथा नेकपा नेता विद्या भट्टराईले भनिन्– ‘अबका दिनमा महिलाहरूको आयस्रोतमा प्रत्यक्ष असर पर्ने छ। विदेशमा पनि घरेलु कामदार र सेवा क्षेत्रमा नै महिलाहरूको योगदान रहेको छ। देश भित्र निजी विद्यालय र बैंकिङ सेवामा कार्यरत भए पनि कार्यरत कर्मचारी चापका कारण घटाउन सक्ने देखिन्छ। निजी विद्यालयमा कार्यरत शिक्षकहरूलाई बेतलबी विदा दिने निर्णयका कारण महिलाहरूको आयआर्जनमा विशेष असर गर्नेछ।’
महामारीकै कारण परिवारमा कलह बढ्ने, समाजमा हिंसा र मानसिक तनाव वृद्धि हुने र महिलाहरूमा अझै पर निर्भरतामुखी सोचको विकास हुने बताउँदै भट्टराईले भनिन्– ‘ विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गरेर महिलाहरूको जीवनस्तरमाथि पुर्याउन सकिन्छ भनेर खोजी गरी आधार तयार गर्नु पर्ने देखिन्छ। साथै सरकारले श्रम तथा रोजगार मन्त्रालय, स्थानीय तहसँगको समन्वयमा तथ्यांक तयार गरी महिलाहरूलाई देशभित्रै पर्यटन क्षेत्र, मनोरञ्जनका क्षेत्र र अनौपचारिक सेवा क्षेत्रमा अवसर दिनुपर्दछ।’
कोरोना माहामारीले महिलाको आयस्रोतमा निकै असर पारेको बताउँदै संचारकर्मी बबिता बस्नेतले भनिन्– ‘सडकमा नाङ्गलो पसल गर्ने, साना तथा मझौला व्यवसायी, महिला कामदार, ब्युटीपार्लर लगायतका क्षेत्रमा महामारीले समस्या पारेको छ। उद्योगकर्मीहरूदेखि निजी स्कुलमा पढाउने शिक्षक, पत्रकार, वकिल, घरेलु कामदार हुँदै ‘सेक्स वर्कर’ सम्ममा यसले असर पारेको छ। ट्राभल एजेन्सी, होटेल, दोहोरी साँझ, रेष्टुरेन्ट, डान्स बार लगायतका ब्यवसायमा काम गरिरहेका महिलाहरूको अवस्था नाजुक भएको छ। आफूले गरिरहेको कामबाट निकालिँदा या काम गरेर पैसा हातमा पर्ने अवस्था नहुँदा उनीहरूले आर्थिक कठिनाइ भोग्नुपरेको छ।’
यही बेलामा बच्चाहरू घरमा छन्, कतिले बच्चाहरूलाई खुवाउन नसक्ने अवस्था आएको बताउँदै बस्नेतले भनिन्– ‘घरेलु कामदार लगायतका धेरैजसो आफूले कमाएर जिन्दगी धान्दै आएका महिलाहरू एकल छन। उनीहरूलाई घरपरिवार धान्न र आफू बाँच्न गाह्रो छ। आर्थिक अभावले मानसिक तनाव बढाएको छ।’
‘उनीहरूको जीवनस्तर उकास्न राज्यले उनीहरूकोे लागत राखेर सहयोग गर्नुपर्छ। काम गरेर खाने वातावरण नहुञ्जेल प्रत्यक्ष आर्थिक सहयोग गर्नुपर्छ। सहुलियत ऋणको ब्यवस्था गर्नुपर्छ। निम्नवर्गका धेरै महिलाहरूसँगको धितो राख्न पुँजी नहुने हुँदा बिनाधितो ऋणको ब्यवस्था गर्नुपर्दछ। महिलाहरूको आर्थिक अवस्था उकास्न नयाँ अवसरहरूको खोज्नु पर्दछ।’– बस्नेतले भनिन्।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूमा कोरोना महामारीले गर्दा शिक्षा, उद्योग, व्यापार, व्यवसाय, कलाकारखाना लगायत अधिकांश क्षेत्र ठप्प भएको र भोकमरी लगायत अन्य डरलाग्दा समस्याहरू उत्पन्न हुने बताउँदै नेविसंघकी महामन्त्री उर्मिला थपलियाले भनिन् – ‘हाम्रो नेपाली समाजमा पहिले पनि धेरै महिला रोजगारीको अवसरबाट वञ्चित थिए। रोजगारीको अवसर पाएका महिलाहरू पनि अहिले बेरोजगार अवस्थामा पुग्न लागेका छन्। यो महामारीले अहिले धेरै महिलालाई रोजगारी र पारिवारिक साथ कम हुँदै गएको छ। स्वास्थ्य क्षेत्रमा आवद्ध कतिपय महिलाहरूलाई संक्रमण सर्छ कि भनेर परिवार र समाजबाटै रोजगारी छोड्न दबाब पनि दिएको पाइन्छ। जसले गर्दा आफ्नो शरीर दाउमा राखेर राष्ट्र सेवामा जुटेका महिलाहरूलाई मनोवैज्ञानिक एवं सामाजिक तनाब बढेको छ।’
यस महामारीले गर्दा हरेक आर्थिक कारोबार न्यून बनेको र साना तथा घरेलु उद्योग सञ्चालन गरेका महिलाहरूको आयस्रोत बन्द भएको बताउँदै थपलियाले भनिन्– ‘रचनात्मक कलाजस्तै कपडा सिलाउने, चित्र कोर्ने, खेलौना बनाउने लगायतको माध्यमबाट जीविकोपार्जन गरेका महिलाहरूको पनि व्यवसाय ठप्प भएको छ। चिया पसल, रेष्टुरेन्ट, क्यान्टिन, होटल लगायत ठूला उद्योगमा काम गर्ने महिलाहरूको पनि आर्थिक अवस्था नाजुक छ। शिक्षण संस्थाहरूमा, कृषिमा आवद्ध महिलाहरूको महामारीले आयस्रोत बन्द गरेको छ। घरदेखि खेतसम्म जान अत्यन्तै कठिन हुने, कतिपय कृषि उत्पादनहरू बजारसम्म पुग्न नपाउँदा बोटमै बिग्रने अवस्थादेखि कृषकहरू निराश छन्। त्यसैले समग्र रूपमा हेर्ने हो भने यस महामारीले असर नपुर्याएको कुनै क्षेत्र छैन।’
‘आधाभन्दा बढी महिला जनसंख्या भएको हाम्रो देशमा महिला सशक्तीकरण अत्यन्तै आवश्यक छ। राज्यले महिलाहरूलाई जनसंख्याको प्रतिशतअनुसार आरक्षणको व्यवस्था गर्नुपर्दछ। शिक्षा र रोजगारीबाट वञ्चित महिलाहरूले शिक्षा, सीप र रोजगारी पाए भने सामाजिक भेदभाव, सामाजिक कुरीति एवं सामाजिक हिंसा पनि अत्यन्तै कम हुन्छ। महिलाहरू आत्मनिर्भर भएमा हरेक परिवारको आर्थिक उन्नति हुन्छ। भूगोल र सम्भावनालाई मध्यनजर गर्दै राज्यले शिक्षा नीति बनाउनु पर्दछ र महिलाहरूलाई सोहीअनुसारको शिक्षा, सीप एवं तालिमहरू दिनु पर्दछ। हरेक व्यक्तिलाई आधुनिक कृषिको आधारभूत विषयहरूको ज्ञान र सीप प्रदान गर्ने किसिमले राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्दछ। नेपालको अधिकांश जमिन कृषियोग्य जमिन भएको हुँदा महिलाहरूको कृषिमा व्यापक सहभागिता गराएर कृषिमा आमूल परिवर्तन गर्नु पर्दछ। यसो गरेमा राज्य आर्थिक समृद्धिको बाटोमा तीव्र गतिमा अगाडि बढ्छ। महिलाहरूलाई राज्यले स्वास्थ्य, विकास निर्माण लगायतका सम्पूर्ण क्षेत्रमा अवसर प्रदान गर्ने नीति तथा कार्यक्रम लिएर उनीहरूको नेतृत्व विकास गर्नु पर्दछ। यस महामारीको बेलामा आवश्यक सुरक्षा सामाग्रीको अभावमा अग्रभागमा खटिएका महिला सुरक्षाकर्मी, स्वास्थ्य संयमसेविकाले देश र जनताको लागि जीवन र मरणको संघर्ष गर्दै सेवा दिँदै छन्। सुरक्षा सामाग्रीको अभावमा पनि सेवा गर्ने ती महान् महिलाहरूलाई सहयोग गरेर हौसला, साथ र सहयोग प्रदान गर्दै यस महामारीसँग लड्नु पर्दछ।’–थपलियाले भनिन्।
नेपालमा कोभिडले निम्ताएको पछिल्लो अवस्था र समस्या पहिचानको बिषयमा धेरै छलफल भए पनि वृद्ववृद्वा, बालबालिका, नवजात शिशु र गर्भवती महिलाको स्वास्थ र उनीहरूको पौष्टिक आहारको विषयमाथि चर्चा–परिचर्चा खासै नभएको बताउँदै कवि विमला तुम्खेवाले भनिन्– ‘विश्व अहिले कोभिड महामारीसँग जुझिरहेको छ। यस किसिमको आपत आउँछ भन्ने हिजोको दिनमा कसैले पनि सोचेकै थिएन। यसै पनि गरीब राष्ट्र नेपाल त्यसैमा पनि आर्थिक, सामाजिक, धार्मिक, सास्कृतिक र राजनैतिक सबै हिसाबले महिलाहरू दोस्रो दर्जाको नागरिकको हिसाबले बाँच्न बाध्य छन्। यो महामारीको कारण नेपालभरका बालबालिका, नवजात शिशु र गर्भवती महिलाहरू अनेकन् समस्याबाट पीडित छन्।’
अहिलेको विषम परिस्थितिमा निम्न आर्थिक आय भएको परिवारमा पौष्टिक आहार र खानेकुराकै समस्या भएको बताउँदै तुम्खेवाले भनिन्– ‘देख्दा र सुन्दा सानो समस्याझँै लाग्ने यो समस्या हरेक नेपालीको घरघरको समस्या हो। कृषिप्रधान देश भने पनि वैदेशिक रोजगारीले धानिएको हाम्रो परिवार र समाज कोभिड महामारीले ल्याएको आर्थिक समस्याबाट गुज्रिएको छ। यस्तो समयमा सरकार सचेत र जिम्मेवार हुन जरुरी छ। यो लकडाउनमा धेरै मान्छेले आत्महत्या गर्नुमा पछि देशको विद्यमान बेरोजगारी समस्या जिम्मेवार छ।’
वृद्धवृद्वा नवजात शिशु गर्भवती महिला र बच्चाहरूको मानसिक शारीरिक अवस्था सिधै परिवारको आयस्रोतसँग गाँसिने भएकाले यसको प्रत्यक्ष असर कलिला नानीहरूको स्वास्थ्यमा परेको बताउँदै तुम्खेवाले भनिन्– ‘यसको अनुगमन र समस्याको विषयमा सरकारी र यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले सम्वोधन गरेको पाइँदैन । यस्ता गम्भीर समस्या समाधान गर्न तुरुन्त पहल गर्नुपर्छ। सरकारले दिदै आएको राहात र अनुदानहरूमा कहीँ कतै यी विषय समावेश गरिएकै पाइँदैन्। यसै पनि बालमृत्यु दर उच्च रहेको हाम्रो जस्तो मुलुकमा अबको दिनमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तहसम्मै बालबालिका नवजात शिशु र गर्भवती महिलाको मानसिक र शारीरिक अवस्थालाई कसरी सन्तुलित राख्न सकिन्छ भन्ने उद्देश्यका साथ तत्काल नयाँ योजना ल्याउन हुन जरुरी छ।’
कोरोना महामारीका कारण महिलाहरूले रोजगारी, व्यवसाय र अन्य आर्थिक क्रियाकलापहरूमा समस्या बेहोर्नुपरेको बताउँदै बेल्कोटगढी नगरपालिकाकी उपमेयर तथा नगरपालिका महासंघका उपाध्यक्ष कविता ढुंगानाले भनिन्– ‘महामारीले गर्दा महिलाहरूको जीवनस्तरमा ह्रास आउने, सामाजिक हैसियतमा समस्या आउने, स्वास्थ तथा पोषणस्तरमा कमी आउने र आत्मसम्मान, पूर्ण जीवन तथा मनोवैज्ञानिक स्वास्थमा असर पर्ने देखिन्छ। कोरोना महामारीले विश्वकै अर्थतन्त्र संकटमा परेको छ। यस्तो संकटले नेपाली समाजलाई पनि असर गरेको छ। यसबाट नेपाली महिलाहरू पनि अछूतो रहने कुरा भएन। बदलिँदो परिस्थितिसँग महिलालाई तयार बनाई उनीहरूको आर्थिक र सामाजिक स्तरको वृद्धिलाई कायम राखिरहन राज्यले उनीहरुको नेतृत्व विकासमा ध्यान दिन आवश्यक छ।’
महिलाहरूका लागि रोजगारीका नयाँ क्षेत्रहरू पहिचान गरी उत्प्रेरणा प्रदान गर्न आवश्यक रहेको बताउँदै ढुंगानाले भनिन्– ‘शिक्षा लगायतका नवीन आयामहरूमा जोड दिनुपर्दछ। संकटले सिर्जना गरेका अवसरका क्षेत्रहरूजस्तै मास्क, स्यानिटाइजर उद्योग आदि जस्ता क्षेत्रमा महिला सहभागितालाई प्रोत्साहित गर्नुपर्दछ। यसका निम्ति महिलाहरूद्वारा संचालित उद्योगहरूलाई राज्यले अनुदानका साथै प्राविधिक सहयोग गर्नु पर्दछ। तत्कालका निम्ति महिला तथा बालबालिकालाई केन्द्रित गरेर राहत तथा उद्धार प्याकेज ल्याउनु उचित हुन्छ। महिला तथा बालबालिकाको सुरक्षा तथा उनीहरूको समस्याबारे स्थानीय तहले विशेष कार्यक्रम ल्याउनु पर्दछ।
पूरै देश महामारीको चपेटामा छ, त्यसमा पनि महिलाहरू महामारीको चपेचामा परेको बताउँदै दुई नम्बर प्रदेश संसद तथा नेकपा युवा नेता मञ्जु यादवले भनिन्– ‘देशको आधा जनशक्ति महिलाहरूको छ। उनीहरू कोरोना महामारीका जोखिमसँग सर्घष गरिरहेको छन्। अझैे कोरोनाले भन्दा पनि गरीबीको कारण बढी महिलाहरू प्रभावित छन्। पाँच महिना हुन लाग्यो बन्दाबन्दीले महिलाहरूद्वारा संचालित सबै साना, घरेलु व्यवसाय बन्द भएका छन्। आयआर्जन नहुँदा महिलाहरू दिनचर्या झन्झन् कठिन कष्टकर हुँदै गएको छ। चिया बेचेर, मकै पोलेर, तरकारी बेचेर, कपडा सिलाउने, दूध बेच्ने आदि क्षेत्रमा कार्यरत महिलाहरूको रोजगारी गुमेको छ। त्यसैले तीनैै तहको सरकारले अविलम्ब आर्थिक प्याकेज ल्याएर विपन्न, एकल, रोजगार गुमेको महिलाहरू केन्द्रित राहतको प्याकेज ल्याउन जरुरी छ।’
‘धनी र गरीब बीचको खाडल कम गर्न पनि निम्न र मध्यमवर्गलाई लक्षित गरेर तीनै तहको सरकारले योजना बनाउन पर्छ।’ –यादवले भनिन्।
प्रकाशित: ९ भाद्र २०७७ ०६:१४ मंगलबार