कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । हुनेले दिने र नहुने पत्रकारले लाने गरि अभियान सञ्चालन गर्न लागिएको युनियन जिल्ला शाखाले जनाएको छ ।
युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
‘महामारीले गर्दा पत्रकारले सबैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भने, ‘पत्रकारकै मात्र कमाईंबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भएपनि राहत होस् भनेर हामीले फुड बैंक सुरु गरेका हौं ।’ उनका अनुसार सक्ने पत्रकार, ठूला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरु नहुनेलाई निःशुल्क प्रदान गरिनेछ ।
फुड बैंक अभियान सञ्चालन एवम् व्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । ‘पत्रकारको आयको बाटो अवरुद्ध भएको छ तर पनि समाचार प्राप्त गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर र अनिवार्य छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारको अवस्था अत्यन्तै जोखिमपूर्ण छ,’ अधिकारीले भने, ‘समस्यामा परेका पत्रकारलाई फुड बैंकमार्फत पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिनेछ ।’ पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवल अहमद र बिनय प्रधान सदस्य रहेको समितिले हाललाई सुनसरीका पत्रकारहरुलाई सहयोग पु–याउनेछ ।
अहिलेको संकटका बेला जिल्लाभरका समस्यामा परेका सबै पत्रकारलाई समेटने लक्ष्य राखिएको छ । यसका लागि आवश्यक मापदण्ड बनाएर समितिले काम थालिसकेको फुड बैंक सञ्चालन तथा व्यवस्थापन समिति संयोजक कृष्ण अधिकारीले बताए । ‘कुनै पत्रकारलाई कोरोना संक्रमण भएको खण्डमा निको नहुन्जेल सम्मका लागि उनीहरूको परिवारलाई आवश्यक पर्ने खाद्यान्न फुडबैंकले उपलब्ध गराउनेछ,’ उनले भने, ‘फुडबैंकबाट राहत ग्रहण गर्नेको परिचय गोप्य राखिनेछ ।’
प्रकाशित: ८ भाद्र २०७७ १६:४० सोमबार




