जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा बढेकोले दुई वटा शव वहान र १५ वटा भेन्टिलेटर व्यवस्थाका लागि आर्थिक स्रोत जुटाइदिन कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनी र प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र कर्णाली प्रदेशलाई आग्रह गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक सिँजा क्षेत्र र एक वटा सदरमुकाम क्षेत्रका लागि शव वहान उपलब्ध हुने गरि सहयोग गर्न आग्रह गरेको हो।
कोभिड १९ महामारी फैलदै गइरहेको छ। भाइरसका कारण कुनै पनि ब्यक्तिको मृत्यु हुनसक्छ। जिल्ला भरी शव वहान छैन्, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ त्यसको आवश्यकता तत्काल पर्न सक्ने र जिल्लास्तरमा शव व्यवस्थापन गर्न कठिनाइ हुने भएकोले कम्तीमा दुई वटा शववहान व्यवस्थाका लागि आग्रह गरिएको हो। आशा छ यो समस्याको सम्वोधन हुनेछ। ’
जुम्लामा आइसियु र भेन्टिलेटरको संख्या पाँच वटा मात्र छ। संक्रमितको संख्या बढ्दा यो उपकरणले धान्ने अवस्था छैन्। जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्दै गइरहेको हालको परीक्षणबाट देखिएकोले थप १५ थान भेन्टिलेटर व्यवस्थाका लागि आवश्यक स्रोत जुटाइदिन केन्द्र र प्रदेश संकट व्यवस्थापन केन्द्र समक्ष माग गरिएको हो।
व्यवस्थापन समितिका संयोजक थापाका अनुसार स्थानीयतहमा निर्माण हुने आइसोलेसन कक्षहरु कोभिड १९ संक्रमितहरुको आइसोलेसन सम्बन्धि स्वास्थ्य मापदण्ड २०७७ बमोजिम रहे नरहेको बारेमा अनुगमन तथा सहजीरकण गर्ने र मापदण्ड पुर्याउन आवश्यक सामाग्री लगायतका उपकरणको आपुर्ति तथा ढुवानीमा सहजीकरण गर्ने समेत निर्णय भएको छ।
बैठकले मुटु रोग, उच्च रक्तचाप,क्यान्सर,मधुमेह,श्वास प्रश्वास सम्बन्धि समस्या भएका ५५ बर्ष माथिका तथा दिर्घ रोगीहरु भएमा कर्णाली प्रतिष्ठानको आइसोलेसनमा राखि विशेष क्लिनिकल निगरानीमा राख्ने निर्णय गरेको हो।
संक्रमितहरुको स्वास्थ्यमा मध्यम तथा कडा जटिलता आइपरेमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा स्थानीय आइसोलेसन केन्द्र्ले कर्णाली प्रतिष्ठानमा पुर्याउने व्यवस्था मिलाउनेछ। निर्णयमा भनिएको छ,‘ कोभिड १९ को परीक्षण गर्ने क्रममा संक्रमितहरुको संख्या बढ्दै गइरहेको बेला आइसोलेसनको विस्तार स्थानीय तहसम्म गर्नुपर्ने,स्थानीयतहसँग आवश्यक आर्थिक स्रोत नभएको जानकारी आएकोले प्रत्येक स्थानीयतहमा स्थापना भएका आइसोलेसन सेन्टरका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोधन गर्ने निर्णय समेत भएको छ।
प्रकाशित: ८ भाद्र २०७७ ०९:४७ सोमबार





