१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा सुरु भयो गौरा, थारू समुदायमा ‘अट्वारी'काे राैनक

आइतबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतिक पाँच प्रकारका अन्नहरू गुराउस, चना, कलउँ, केराउ र गहत) भिजाएर सुदूरपश्चिममा गौरा पर्वको सुरुवात भएको छ। गौरामा ब्रत बस्ने ब्रतालुहरूले आइतबार बिहानै गौराघरबाट तामाको भाँडोमा बिरुडा लिएर नजिकैको धारा तथा तलाउमा गएर भिजाएका छन्। बिरुडा भिजाएर आइतबारदेखि विधिवतरूपमा गौरा पर्वको सुरुवाती भएको हो।

भाद्र शुक्ल सप्तमीका दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याउने गरिन्छ। सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रूपमा गौराको मूर्ति बनाउने प्रचलन रहेको छ। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भिœयाउने गर्छन्। गौरामा मंगल गानका रूपमा ‘मांगल’ (फाग) गीत गाउने प्रचलन छ। अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ।  

त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न आठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन रहेको छ। ‘सप्तमीमा भित्र्याएकाे गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने गरिन्छ,’ गौरामा विद्यावारिधि गरेका डा. टिएन जोशी भने, ‘पाँच रातसम्म गौरा घरमा डेउडा, फागु, चैत, धमारी खेल्ने गरिन्छ।’ सुदूरपश्चिमका हिन्दू धर्मावलम्बी महिलाले अनुष्ठान पर्वको रूपमा मनाइने गौरा पर्वमा यतिबेला सुदूरका गाउँबस्तीमा खुसी छाएपनि कोरोना भाइरसका कारण खुलेर गौरा पर्व मनाउन नपाउने निरासा छाएको छ। ‘कोरोनाका कारण यसपालि गौरामा डेउडा खेल्न नपाइने भन्ने छ,’ स्थानीय भोजबहादुर मन्नीले भने, ‘यसपालि गौरामा डेउडा खेल्न नपाए पनि अर्को वर्ष खेल्नेगरी पूजाआज गरेरै भए पनि संस्कृति धान्नुपर्ला।’  

सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रूपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यताअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रूप बनाई पूजा गर्ने परम्परा छ। यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतीको दिर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। ब्राह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तथा संस्कृतिविद् डा. बद्री शर्मा बिनाडीले बताए।

गौराको बर्त बस्दा मनमा शान्ति हुनुका साथै पतीको आयु लामो हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्व उत्तिकै छ।’ डा. आर.डि. प्रभात चटौतको डोट्याली बृहत शब्दकोषमा पनि हिमालय राजाले छोरी पार्वतीको विवाहका लागि अमुक्ताभरण सप्तमीका दिन महत्वपूर्ण तिथि भएकाले त्यसैको सम्झना स्वरूप गौरा पर्व मनाइने गरेको उल्लेख छ। गौरापर्व डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन्।  

दसैं तिहारभन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिवद्धता जनाएपछि मात्र ल्याउन पाउने प्रचलन रहेको पण्डित लक्ष्मीराज ओझाले बताए। गौरा अष्टमीका दिन पूजाआजा गरिसकेपछि महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्। महिलाले घर परिवारमा सुख, शान्ति र परिवारका सदस्यहरूको दीर्घायूका लागि बर्त बसी पूजाआजा गर्ने मान्यता छ।

गौरालाई यस क्षेत्रमा ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ। यी सबैको अर्थ पार्वती नै रहेको जानकारहरू बताउँछन्। गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा पूरानो मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकार तर्क गर्छन्। प्राध्यापक विनाडीका अनुसार पनि गौराले गौरा यस क्षेत्रको लोकसंस्कृति, लोक साहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र भेषभूषाको प्रस्तुति गर्ने थलो हो। ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनी भन्छन्, ‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सु–प्रसिद्ध डेउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन्।’  

यस क्षेत्रको कला, संस्कृति, भेषभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महŒवपूर्ण रहने उनी बताउँछन्। गौरामा महिला नै व्रत बस्छन्, तर पुरुष तथा बालबालिकाले पनि गौरालाई उत्तिकै महŒव दिन्छन्। गौराका समयमा बर्तालुका घरमा माछा, मासुलगायत परिकार ब्रजित गरिन्छन्। गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पु¥याउने पर्व रहेको जानकारहरू बताउँछन्। गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो। डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङय गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।

थारू समुदायमा ‘अटारी

थारू समुदायको प्रमुख पर्वमध्यको ‘अट्वारी’ पर्वको पश्चिम नेपालका थारू समुदायमा रौनक छ। तर कोरोना कहरका कारण विगतका वर्षहरूमा जस्तो यसवर्ष चहलपहल केही कम छ। यो पर्व थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीपछि दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्येका भीमको पूजाआजा गर्दै थारू समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आइतबारका दिन मनाइने भएकाले यसलाई थारू समुदायले ‘अट्वारी’ भन्ने गर्दछन्।  

थारू समुदायका जानकारकाअनुसार यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा मनाउने गरिन्छ। ‘यो पर्व मुलतः असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइन्छ,’ थारू प्रजातान्त्रिक संघ दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले भने ‘मुलतः पाँच पाण्डव मध्येका भीमले लडाई जितेको इतिहासका आधारमा त्यो उत्सवको खुसीमा अट्वारी पर्व मनाउने गरिएको हो।’ थारू जानकारका अनुसार द्धापर युगमा पाँच पाण्डव मध्येका भीमले रोटी पकाइरहेका थिए। त्यतिबेला पाँच पाण्डवको दानवहरूसंग युद्व चल्यो। भीम तावामा पाक्दै गरेको रोटी छाडेर युद्धमा होमिए। भीमको बाहुबलकै कारण पाँच पाण्डले युद्व जितेको मान्यता रहेको।  

लडाइँ जितेपछि थाकेर फर्केका भीमले आँफूले तावामै छाडेको (एकोहोरो मात्रै पाकेको) रोटी खाएको थारू किंवदन्तिमा उल्लेख छ। भोकाएका भीमले एकोहोरो मात्रै पोकेका रोटी खाएको त्यो किंवदन्तीलाई थारू समुदायले अहिले पनि मान्दै आएका छन्। उनीहरूले यो पर्वमा एकोहोरो मात्रै पाकेको रोटी प्रसादका रूपमा चढाउने गर्दछन्। ‘युद्व जितेपछि भोकाएका भीमले एकोहोरो मात्रै पाकेको रोटी खाएको मान्यतालाई अंगिकार गरिँदै आएको छ,’ शिक्षक समेत रहेको लक्ष्मीमान थारूले भने।

रोटी खाइसकेपछि भीम खोलामा माछा मार्न गएको थारू किंवदन्तिमा उल्लेख छ। फलतः अहिले पनि थारू समुदायले ‘अट्वारी’ पर्वमा खोलामा माछा मार्न जाने प्रचलन रहेको छ। अट्वारीको अघिल्लो दिन वर्त बस्ने थारू समुदायका पुरुषहरूले अट्वारी पर्वमा चाहिने सब सामग्रीको व्यवस्था गर्छन्। खोलामा गएर माछा मार्ने, घोंगी (थारू समुदायमा प्रचलित मासुजन्य जीव) को खोजी अघिल्लो दिन हुने गर्दछ। खानपान सहित पूजा सामग्री अघिल्लो दिन व्यवस्था भइसकेपछि आइतबार बिहान भाले बास्नुअघि उनीहरूले दर खाने प्रचलन रहेको छ।  

आइतबार निराहार र्वत बस्नुपर्ने भएकाले थारू समुदायका नागरिकहरूले भाले बास्नुअघि दर खाने प्रचलन रहेको हो। ‘आइतबार दिनभर वर्त बस्नुपर्ने भएकाले भाले बास्नुअघि दर खाने प्रचलन रहेको छ,’ लक्ष्मीमानले भने। आइतबार वर्त बस्ने थारू समुदायका पुरुषहरूले बेलुका खोलामा गएर नुहाउने गर्दछन्।

प्रकाशित: ८ भाद्र २०७७ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App