२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थ ढुवानी भाडा बढाउन माग

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी गरे बापतको भाडा रकम बढाउन माग गरेका छन्।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गरेका छन्।

महासंघले मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ढुवानी भाडा बापतको शुल्क समय सापेक्ष समायोजन गर्नुपर्ने माग राखे। महासंघका अध्यक्ष मनोज दास नेतृत्वको टोलीले मन्त्रीलाई बुझाएको सात बुँदे माग पत्रमा भाडा समायोजन नगरिए आगामी फागुन ७ गतेदेखि मुलुकभर ढुवानी ठप्प पारेर आन्दोलनमा जाने चेतावनी दिइएको छ।

महासंघका अनुसार नेपाल आयल निगमबाट करारमा सञ्चालित ट्याङ्करको ढुवानी भाडामा वास्तविक ट्रिप संख्या यकिन गरी यर्थाथ सञ्चालन खर्च, मर्मत सम्भार, खुराकी, तलब खर्चहरू समय सापेक्ष रुपामा समायोजन गर्नुपर्ने माग राखिएको छ।

महासंघका अनुसार बरौनी–अमलेखगन्जमा पाइपलाइनका कारणले ढुवानी कार्य बन्द हुने हुँदा हाल उक्त रुटमा सञ्चालित ट्याङ्करको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्।

त्यसैगरी, पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन मोतिहारी डिपोबाट अमलेखगन्ज डिपोसम्म दैनिक २ सय किलोमिटर पेट्रोल आयात गरिने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट अहिलेसम्म डिजेल आयात हुँदै आएको थियो।

अब पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी भए पछि सो रुटमा पेट्रोल ढुवानी गर्दै आएका ट्याङ्कर विस्थापित हुने भए पनि पाइपबाट मात्र नभई ट्याङ्करबाट पनि ढुवानी गर्नुपर्ने व्यवसायीको माग छ।

पाइपलाइन विस्तारका कारण ट्याङ्करको कामको चाप घट्ने भएकाले ती ट्याङ्करलाई इन्धन ढुवानी कार्यका लागि बिक्रेताको नाममा एक थान ट्याङ्कर सम्झौता नामसारी हुनुपर्ने, पाइपलाइन आएका वा आउने सम्भावित क्षेत्रमा निगमले दिने प्रतिस्थापन स्वीकृतिमा ३ः२ अनुपातमा विस्थापन स्वीकृति दिनुपर्ने, ढुवानी भाडालाई ईआरपी प्रणालीमार्फत भुक्तानी दिनुपर्ने लगायतका माग अघि सारेका छन्।

प्रकाशित: २४ पुस २०८१ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App