११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

बस्ती नसारिदिँदा सधैं पहिरोको जोखिम

२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ। भूकम्पले चिराचिरा परेको जमिन र पहिरोको डर थेग्दै आइरहेका स्थानीय ज्यानको बाजी लगाएर बसिरहेका छन्। भूगर्भविद्ले बस्ती सानुपर्ने बताए पनि सम्बन्धित निकायको बेवास्ताका कारण स्थानान्तरण गर्नुपर्ने बस्तीमा जोखिम मोलेर मानिसहरू बस्न बाध्य भएका हुन्।  

‘बस्तीमाथिबाट पहिरो खस्छ, तलबाट भाँसिदै जान्छ। बस्तीमाथिको पहिरोले कतिबेला पुरिने हो हेर्दैमा दिनरात बित्ने गरेको छ,’ रुविभ्याली गाउँपालिका वडा नं ४ हिन्दुङका टीमाया तामाङले बताइन्। ‘भूकम्पले चिराचिरा बनाएको छ। त्यहीमाथि पहिरोले बस्ती नै जोखिममा पारेको छ,’ उनले भनिन्, ‘घर बनाएर बस्न जग्गाजमिन छैन, गाउँमा बस्न नसक्ने अवस्था छ, सरकारले जोखिममा रहेका बस्ती नसारिदिँदा हरेक वर्ष पहिरोको पीडा भोग्नु परेको छ।’ भूकम्पपछि कतिपय बस्ती बस्नकै लागि अयोग्य भए पनि उपयुक्त विकल्प नपाउँदा उनीहरू त्यहीँ बस्न बाध्य छन्।  

भूकम्पपछि उत्तरी भेगका बस्ती र जमिन बस्न नहुनेगरी चिराचिरा परेको छ। भूगर्भविद्हरूले बस्न अयोग्य ठहर गर्दै स्थानान्तरणको विकल्प दिएका थिए। तर सम्बन्धित निकायको ध्यान नपुग्दा हरेक वर्ष पहिरोको पीडा खेप्नु परेको छ। ‘जोखिम छ भनेर भूगर्वविदको अध्ययनले थाहा पाए पनि सुरक्षित ठाउँमा भने जान पाएका छैनौ,’ उनले भनिन्, ‘न बस्ने घर छ, न सर्ने भर छ।’ वर्षायाम सुरु भएपछि ज्यान कसरी जोगाउने भन्ने चिन्ता मात्रै हुने गरेको उनले बताइन्।

भूकम्पपछि थिलोथिलो भएको उत्तरी भेगका जमिन र बस्तीहरू हरेक वर्ष पहिरोको जोखिममा पर्ने गर्दछ। यसवर्षको वर्षायाम सुरु भएदेखि नै सानासाना पहिरो खसिरहेका छन्। एकहप्ता अघिदेखि ठूलाठूला पहिरो जान थालेपछि उत्तरी धादिङको रुविभ्यालीको हिन्दुङ, सिम्पले, दक्दुरङ, नेबेर, चालिस, कपुरगाउँ, तीर गाउँलगायतका बस्ती जोखिममा छन्। पहिरोले बाटो अवरुद्ध हुदाँ पैदल आवातजावतमा पनि कठिनाइ भएको छ। खेतबारी, गोठ, मेलापात जानसमेत कठिनाइ भएको स्थानीयको भनाइ छ।  

भूकम्पपछि उत्तरी भेगका बस्ती र जमिन बस्न नहुनेगरी चिराचिरा परेको छ। चिराचिरा परेकै जमिनमा सुरक्षित बासको खोजी गरिरहेको कपुरगाउँका धनबहादुर तामाङले बताए। ‘पानी पर्नेबित्तिकै पहिरो जान थाल्छ, पहिरो कतिबेला बस्तीमा आइपुग्ने हो टुंगो छैन,’ उनले भने, ‘भौगोलिक विकटता, आर्थिक समस्याका कारण आफैं बस्ती सर्नसक्ने अवस्था छैन, गाउँमा प्राविधिक पनि आउँदैन, हामी कता सर्नु ?’

जमिन चिराचिरा भएपछि भूर्गभविद्ले उत्तरी भेगका बस्ती अन्यत्रै सार्नुपर्ने बताएका थिए। केही बस्तीहरू सदरमुकाम आसपासका खाली ठाउँमा आएर बसेका छन् भने केही त्यही नै जोखिम मोलेरै बस्दै आइरहेका छन्। कतिपय बस्ती बस्न योग्य नभएको बताउँदै आए पनि त्यही बस्तीमा घर बनाउँदै बस्दै आइरहेका छन्। यता स्थानीय सरकारले गाउँपालिकाका अधिकांश बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि आर्थिक व्यवस्थापन गर्न नसक्ने बताउँदै आइरहेको छ। प्रदेश र संघले आश्वासन मात्रै देखाउने गरेको स्थानीयले बताए।  

तीनदिन अघि आएको पहिरोले रुविभ्यालीस्थित लब्दुङका तीन घर उच्च जोखिममा परेको छ। पुरुका स्थानीयलाई उपचारका लागि स्वास्थ्य चौकीसम्म आवतजावत, खाद्यन्न दुवानीमा समस्या परेको छ। पहिरोका कारण रुविभ्याली गाउँपालिका वडा नम्बर १ लिङ्जोका १ सय ५० घरधुरी जोखिममा परेका छन्। रुविभ्यालीका विभिन्न क्षेत्रमा गएको पहिरोले दुई सय भन्दा बढी घरधुरी जोखिममा छन्। पहिरोले १४ घर धुरधुरीमा बस्नै नहुनेगरी क्षति पुगेको छ। खनियाबास गाउँपालिका वडा नम्बर २ झार्लाङको लापोगङमा पहिरोले घर र गोठमा क्षति पु-याएको छ।

प्रकाशित: ६ भाद्र २०७७ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App