पाँचौ पटक नागरिकताको प्रतिलिपि बनाउन आएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय रसुवाले प्रतिलिपि वितरण गर्नुका साथै कार्यालय बाहिर केहीबेर राखेर सचेत गराएको छ।
प्रतिलिपि बनाउनका लागि कार्यालय आएका गोसाइँकुण्ड गाउँपालिका–६ का वीरेन्द्र सिंह तामाङलाई प्रतिलिपि वितरण पश्चात नागरिकता प्रमाणपत्र तथा सरकारी कागजातको संरक्षण तथा महत्वको बारेमा जानकारी गराइएको हो। अन्य समयमा नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि निस्कन पाउँथे।
कार्यालयले सेवाग्राहीलाई प्रमाणपत्र तथा सरकारी कागजातको संरक्षण तथा महत्वको बारेमा जानकारी गराइएको यो पहिलो पटक हो। प्रतिलिपि नागरिकता प्रदान गरेपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र नायव सुब्बा पूर्ण भण्डारीले नागरिकता संरक्षण गर्ने विषयमा नागरिकको कर्तव्य बारे जानकारी गराएका हुन्।
नागरिकताको संवेदनशीलता प्रति नागरिकलाई जानकारी गराउने र प्रतिलिपि नागरिकता वितरणमा निरुत्साहित गर्ने उद्देश्यले ब्रिफिङ गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। नागरिकता बनाउन आएकालाई यस बारे जानकारी दिने गरिएको भएपनि नागरिकताको बारेमा जनचेतना नभएको देखिएको प्रजिअ पन्तको भनाइ छ।
सरकारी कागजातको महत्व, नागरिकता सुरक्षित राख्नका लागि अपनाउन पर्ने तरिका, पटकपटक प्रतिलिपि नागरिकता बनाउँदा हुने बेफाइदा बारे प्रतिलिपि नागरिकता बनाउन आएका तामाङलाई जानकारी गराइएको हो।
तामाङले कामको सिलसिलामा नागरिकता बोकेर हिँडीरहन पर्ने भएकाले नागरिकता हराएको र आगामी दिनमा नागरिकतालाई सुरक्षित साथ राख्ने प्रतिवद्धता जनाएका छन्। जिल्लामा प्रतिलिपि नागरिकता बनाएको संख्या धेरै छ।
कार्यालयले २०७५/७६ मा ३ हजार ३ सय ७ वटा नागरिकता वितरण गरेकोमा १ हजार ८ सय ८५ वटा प्रतिलिपि वितरण गरेको थियो। गत आर्थिक वर्ष २०७५/७६ मा १ हजार ८ सय ८८ वटा नागरिता वितरण हुँदा १ हजार १ सय ६४ वटा प्रतिलिपि वितरण भएको कार्यालयको तथ्यांक छ।
प्रकाशित: ५ भाद्र २०७७ ११:३६ शुक्रबार





