१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

जघन्य अपराधका घटना बढेपछि रौतहटबासी त्रसित

रौतहटमा जघन्य अपराधिक घटनामा वृद्धि भएपछि जिल्लाबासी त्रसित देखिएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रासको वातावरण देखिएको हो।

जिल्लामा निषेधाज्ञा घोषणा गरिएको र प्रहरीको सक्रियता बढेको भए पनि गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि भएको देखिएको छ। मन्दिरमा पूजा गर्ने पुजारी र श्रम गर्ने मजदुरको गरी एक हप्ताभित्रै हत्या भएपछि जिल्लामा गम्भीर प्रकृतिको जघन्य आपराधिक घटनामा वृद्धि भएको भनी सर्वसाधारणमा त्रास बढेको हो।

बुधबार राति खाना खाँदै गरेको अवस्थामा रौतहटमा एकजना साधुको हत्या भएको छ। बुधबार अबेर साँझ मन्दिरको पूजा सकेर खाना खाइरहेका हनुमान मन्दिरका पुजारीको हत्या भएको हो। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा अवस्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको प्रहरीले जनाएको छ।  

खाना खाइरहेको अवस्थामा अज्ञात समूहले साधु साहको कन्चटमा गोली हानेको थियो। गोली लागेर ढलेका साधुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। साधुजस्तो व्यक्तिलाई कसले कुन उद्देश्यले गोली हानेको हो भन्ने विषयमा गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्।

मन्दिरका पुजारीको कोहीसित कुनै दुस्मनी नरहेको स्थानीयको भनाइ छ। साधुजस्तो मानिस पनि सुरक्षित नभएपछि को सुरक्षित हुने होला? स्थानीयले प्रश्न गर्न थालेका छन्। प्रहरीले गस्ती नगरेकोले अपराधीहरुको मनोबल बढेको नाम नखुलाउने शर्तमा स्थानीय समाजसेवीको भनाइ रहेको छ। रातमा प्रहरीको गस्ती नहुनाले जताततै अपराध बढेको स्थानीयको बुझाइ रहेको र बढ्दो अपराधले जिल्लामा डर र त्रासको वातावरण रहेको स्थानीयहरु बताउँछन्।  

गत शनिबार राति गरुडा नपा ८ जिंगडियामा एक युवकको घाँटी रेटेर हत्या भएको थियो। २२ वर्षका दलित युवक निरन्जन रामको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। स्थानीय बोटबिरुवाको सच नर्सरीमा मजदुरको काम गर्ने रामलाई गाउँका साथीहरुले रक्सी ख्वाएर मात चढेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा जिंगडियाका शेख गुलाबीका २२ वर्षका छोरा शेख अजाद, मनोहर महराका २० वर्षका छोरा अजयकुमार रन्जन, शशीभूषण यादवका १९ वर्षका छोरा विवेक राय यादव, मंगल रामका १९ वर्षका छोरा अर्जुन राम, हितलाल पासवानका १९ वर्षका छोरा सिकिन्द्र पासवान, पनिलाल महराका १९ वर्षका छोरा विजय महरा रहेका छन्। अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

जिल्लामा कोरोनाको महामारीले त्रास फैलाइरहेको अवस्थामा हत्याहिंसाको घटनाले थप त्रासको वातावरण सिर्जना गरेको छ।

प्रकाशित: ४ भाद्र २०७७ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App