लकडाउन खुकुलो भएसँगै भित्रिएका तराईका जिल्लाका कामदारमार्फत कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो एक सातायता कामका लागि कर्णाली भित्रिएका पर्सा, धनुषा, रौतहट, बाँकेलगायतबाट कामका लागि कर्णालीमा आएका १३ जनामा कारोना संक्रमण देखिएको हो।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार बिहीबार एकै दिन महोत्तरी, पर्सा र बाराबाट कामका लागि सुर्खेत आएका सात जनामा कोरोना संक्रमण देखिएको छ। ‘लकडाउन खुकुलो भएसँगै श्रम गर्न आएका संक्रमित जिल्लाका नागरिकहरुमा लक्षणसहितको कोरोना देखिएको छ,’ जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले भने, ‘उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षण सुरु गरेका छौं।’
स्वास्थ्य कार्यालयका अनुसार कोरोना प्रभावित जिल्लाबाट सुर्खेतमा आएर सरकारी कार्यालयको भवन निर्माणमा संलग्नहरुमा कोरोना संक्रमण देखिएको हो। ‘सरकारी कार्यालयको भवन निर्माणमा संलग्न २८ जना मजदुरको परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण देखिएको छ,’ वाग्लेले भने, ‘उनीहरुसँगै रहेका अन्यको रिपोर्ट नेगेटिभ आएको छ।’
३३ जना संक्रमित थपिए
कर्णालीमा १० महिने बालिकासहित बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार एक सय ६३ पुगेको छ। सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सुर्खेतमा पुष्टि भएका २२ जना मध्ये सात जना सरकारी भवन निर्माण गरिरहेका कामदार हुन्। यस्तै तीन जना सुरक्षकर्मी, एक जना सरकारी संस्थानका सुरक्षागार्ड, एक जना वित्तिय संस्थामा कार्यरत कर्मचारी, एक जना निजी संस्थाका कम्प्युटर अपरेटर र अरु सरकारी कार्यालयका कर्मचारी छन्।
प्रकाशित: ४ भाद्र २०७७ ११:५४ बिहीबार





