माथि उल्लेखित तस्बिरमा वीरेन्द्रनगर–१० पीपीराका ३४ वर्षीय बलबहादुर खत्री वीरेन्द्रनगरको सडक सफाइ गर्दै छन्। उनको मुखमा पुरानो मास्क छ। हातमा पन्जा छैन। अगाडि गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र मास्क छन्। उनले उक्त फोहोर उठाउनै पर्छ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिले मास्क वा अन्य फोहोर त्यहाँ फालेको भए उनलाई कोरोना भाइरस सर्ने निश्चित जस्तै छ। किनकी उनले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने कुनै पनि स्वास्थ्य सुरक्षा नपनाएर काम गरिरहेका छैनन्।
उनी मात्र होइन वीरेन्द्रनगरका सडक सफाइ कर्मचारी (लेन्थ म्यान) हरू कोरोना भाइरसको उच्च जोखिममा छन्। सडक डिभिजन कार्यालयले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध नगराउँदा उनीहरू कोरोनाको उच्च जोखिम छन्। ‘सडकमा को कति बेला कसरी हिँड्ने थाहा हुँदैन,’सडक सफाइ कर्मचारी बलबहादुरले भने, ‘काम गर्दै गर्दा कतिपय नजिकै भएर जान्छन्।’ सडकमा फालिएका फोहोर घाँसपात सफा गर्दा कोरोना संक्रमणको जोखिम बढेको उनले बताए। उनका अनुसार सडक डिभिजन कार्यालयले हालसम्म दुईवटा मात्र सर्जिकल मास्क मात्र उपलब्ध गराएको छ। आवश्यक अन्य स्वास्थ्य सुरक्षाका सामग्री दिएको छैन।
वीरमले नेपाली पनि बिहान ८ देखि साँझ ५ बजेसम्म सडक सफाइको काम गर्छन्। उनलाई कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने, कुनै वस्तु वा सामान छुँदा साबुन पानीले हात धुनु पर्ने वा त्यो सम्भव नभए सेनिटाइजर लगाउनु पर्ने, बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुनु पर्ने, खाना वा खाजा खाँदा अनिवार्य साबुन पानीले हात धुनु पर्ने कुरा जानकारी छ।
तर विडम्बना दिउँसो खाजा खाँदा पानी र साबुनले मिचिमिची हात धुन पाउँदैनन्। ‘दिनमा खाजा खाँदा राम्रोसँग हात धुन पाइँदैन,’ उनले भने, ‘बाटोमा पानी हुँदैन। खाजासँग खान ल्याएको पानीले हात मात्र भिजाएर खान्छु।’ यसरी खाजा खाँदा जोखिम हुन्छ भन्ने थाहा पाए पनि बाध्यताले उनी असुरक्षित भएर खान बाध्य छन्। ‘साँझ घर जाँदा भने कपडा फेरेर नुहाउँछु,’ उनले भने, ‘तर डर भने लाग्छ।’
कार्यालयमा कर्मचारीहरूले पर्याप्त मास्क, सेनिटाइज पाउने र सफाइ कर्मचारीलाई केही वास्ता नभएको सडक सफाइ कर्मचारीहरूको भनाइ छ। सरकारले आफूहरूलाई उपेक्षा गरेको उनीहरूको भनाइ छ। यस्तो जोखिमको बेला पनि असुरक्षित काम गर्नुपर्दा जोखिम बढेको अर्का सडक सफाइ कर्मचारी दलबहादुर रुचालले बताए। उनीहरूले बन्दाबन्दी (लकडाउन) को समय चैत ११ गतेदेखि वैशाख २५ गतेसम्म बिदा पाएका थिए।
सडकमा सबैले जथाभावी फोहोर फाल्ने हुँदा सफाइ कर्मचारीहरू कोरोनाको उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘सरकारले स्वास्थ्य सुरक्षाका सामग्री दिनुपर्छ,’ वीरमले नेपालीले भने, ‘नत्र भने हामलाई बिदा दिनुपर्छ।’ सडक सफाइ कर्मचारी एउटाले करिब तीन किलोमिटर सडक सफाइ गर्छन्। वीरेन्द्रनगरमा निषेधाज्ञा भए पनि उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन्।
यहाँ समुदायस्तरमै कोरोना संक्रमण देखिएकाले सडक सफाइ कर्मचारीहरू त्रासमा छन्। लकडाउनका बेला केही मास्क दिएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले सुरक्षित भएर काम गर्नुहोला भनेका छौं,’ उनले भने,‘मास्क घरमा बस्दा पनि चाहिने भएकाले कर्मचारी आफैँले व्यवस्था गर्नुहोला भन्ने आशा राखेका छौं।’
सडक विभागले पन्जा, हेलमेट, पानीमा लगाउने बुट र जुत्ता अन्यबेला उपलब्ध गराइरहेको उनले बताए। काम गर्दा अस्वस्थ भएपछि कार्यालयमा जानकारी गराउन सडक विभागले सडक सफाइ कर्मचारीलाई भनेको छ।
प्रकाशित: ४ भाद्र २०७७ ११:०१ बिहीबार





