coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा फेरि भोलीदेखि ‘लकडाउन’

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले सर्लाही जिल्लाभरका लागि भोली (बुधबार) देखि ७ दिनका लागि अत्यावश्यक बाहेकका कामहरूमा रोक लगाउने आदेश जारी गरेको छ ।

‘कोरोना भाईरसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम’,जिल्ला प्रशासन कार्यालयले मंगलबार अपरान्ह जारी गरेको सूचनामा भनिएको छ, ‘२०७७ साउन २१ गते बिहान ६ बजेदेखि मिति २०७७ साउन २७ गते राती १२ बजेसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम सर्लाही जिल्लाभर देहाएका आदेशहरु जारी गरिएकोले सम्बन्धित सबैको जानकारी एवं कार्यान्वयनका लागि यो सूचना जारी गरिएको छ ।’  

खाद्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित पसल, पेट्रोल, ग्याँस डिपो बाहेक सम्पूर्ण पसलहरु बन्द गर्न आदेशमा भनिएको छ । त्यस्तै एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सेवा, खाद्य सामग्री, सुरक्षा निकायले प्रयोग गर्ने जस्ता अत्यावश्यक बाहेक मोटरसाईकल सहित सम्पूर्ण सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाउने आदेशमा उल्लेख छ । औषधी उपचार, खाद्य सामग्री खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कोही व्यक्ति घरबाट बाहिर निस्कन नपाउने र आदेशको बर्खिलाप भए गरिएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत आदेशमा चेतावनी समेत दिईएको छ ।  

‘छिमेकी जिल्लाहरुमा कोरोना भाईरसका संक्रमितहरु ह्वात्तै बढिरहेको र सर्लाहीमा भने १५ दिनदेखि परीक्षण नै हुन नसकेको रहेछ’, ४ दिनअघि सर्लाहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सुरेन्द्र पौडेलले भने, ‘यस्तो अवस्थामा समुदायमा भुसको आगो जस्तो भित्रभित्रै कोरोना भाईरस फैलिएको हुन सक्ने भएकाले तत्काललाई सात दिनका लागि अत्याबश्यक बाहेकका काम बन्द गर्ने आदेश जारी गरिएको हो ।’

यसबीचमा जिल्लाका हरेक पालिकाहरुबाट समुदायको बढी भिडभाड हुने स्थानमा खटिएका सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी लगायत कम्तिमा ३०० जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी समेत भईरहेको प्रजिअ पौडेलले जानकारी दिए ।  

सर्लाहीमा हालसम्म परीक्षण गरिएका मध्ये ७२१ जना कोरोना भाईरस देखिएको छ । जसमध्ये ६८८ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ३३ जनामध्ये ३० जना सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजको आईसोलेसन तथा ३ जना जिल्ला बाहिर उपचाररत रहेका छन् ।

प्रकाशित: २० श्रावण २०७७ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App