तिहार बिदाको अन्तिम दिन शुक्रबार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ झारमारे नजिकै बुराउसेनीमा रा.१.ज. ४२२ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भयो । लिस्नेको उकालो चढ्दै गरेको जिपको मुख्य पट्टा भाँचिएपछि ब्याक भएर सडकबाट सात सय मिटर तल खस्यो ।
पाँच जनाको सिट क्षमता भएको जिपमा २० जना भन्दाबढी सवार थिए । जिपको छतमा भएकाहरु हामफालेर बचे । पछाडि बसेका र भित्र रहेका मध्ये आठ जनाको मृत्यु भयो भने बाँकी घाइते भए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिहारको सात दिनको अवधिमा कर्णालीमा २९ वटा सवारी दुर्घटना भए । ती मध्ये सबैभन्दा ठूलो क्षति रुकुम पश्चिममले व्यहोर्यो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार बाँफीकोट गाउँपालिका–१ की २८ वर्षीया सबिता विक, आठबिसकोट नगरपालिका–३ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट–१ का १६ वर्षीय टेकजंग बुढा, सोही वडाकी १५ वर्षीया दिलमाया बुढा, आठबिसकोट–२ की १७ वर्षीया मनिका वली, सोही वडाकी १८ वर्षीया शर्मिला विक, सोही वडाका २२ वर्षीय गोपाल वली र आठबिसकोट–१ की १५ वर्षीया कल्पना नेपालको मृत्यु भएको भएको छ ।
दुर्घटनाका घाइते भएका १० जना मध्ये गम्भीर घाइते आठबिसकोट–१ की १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा तिहारको सात दिनको अवधिमा १२ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर घाइते भएका छन् ।
रुकुम पश्चिम र सुर्खेतबाहेक कर्णालीका अन्य आठ जिल्लामा सवारी दुर्घटनामा परेर कसैको मृत्यु भएको छैन। यो अवधिमा सल्यानमा चार सवारी दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भए भने जाजरकोटमा चार सवारी दुर्घटना हुँदा छ जना र दैलेखमा चार वटा सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भए ।
कर्णालीका जुम्ला, मुगु, डोल्पा र हुम्लामा तिहारमा सवारी दुर्घटना नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै यो अवधिमा तीन सय ७५ सवारी साधन कारवाहीमा परेका छन् । सुर्खेतमा १२१, सल्यानमा ६२, रुकुम पश्चिममा ६६, कालिकोटमा सात, जाजरकोटमा २४, दैलेखमा ६०, जुम्लामा ११, मुगुमा चार, डोल्पामा १८ र हुम्लामा दुई वटा सवारी साधन कारवाहीमा परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी सवारी साधन कारवाहीबाट तीन लाख ३२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै यो अवधिमा लागूऔषध (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर २५ जनालाई कारवाही गरिएको, जुवातास खेल्ने नौ जनालाई पक्राउ गरिएको, घारिलो हतियार प्रहारबाट सुर्खेतमा तीन र जाजरकोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ८ कार्तिक २०८२ १७:४९ शनिबार





-600x400.jpg)