१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डुबान र बाढीको पिडामा छट्पटाउदै सुस्ता

सुस्ताबासी भन्छन् : 'विपतका बेला अभिभावकविहीन भयौं'

नारायणीको बाढी र डुबानमा परेको सुस्ताका स्थानीय ट्रयाक्टरको टालीमा छाता ओडेर खाना बनाउदै । तस्बिर : नागरिक

नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा बाढीमै बगे । ६ जनाको परिवार बिचल्लीमा पर्यो । ओत लाग्ने बुकुरो भत्कीए पछि ५ देखि १४ बर्षका ५ जना छोराछोरीसहित अहिले उनी छिमेकीको आँगनमा आश्रय लिइरहेकी छन । गाँउलेको सहयोगमा बालबालिकालाइ आधा पेट खुवाएर राखेकी छन ।  

थारुटोलाकै अम्मर चमारको परिवार पनि एक सातादेखि उखुँबारीमा अस्थाइ टहरो बनाएर बसेको छ । बाढीले घर भत्कियो । अन्तपात लत्ताकपडा बगायो । ८ कठ्ठामा रोपेको धानको एउटै गाँज बाँकी राखेन । ‘न बस्ने बास रहयो न अन्न हामी त बर्बाद भयौं लुटियौं’ चमारले स्थानीय लवजमै नागरिकसंग दुखेसो पोखे । सोमबार देखि फेरी लगातार वर्षा सुरु भएपछि अहिले त्यही बुकुरो पनि डुबानमा परेको छ ।

थारु टोलाकै  मोतीला कोइरीको अवस्था पनि उस्तै छ । बाढीले घरको भित्ता चर्केको छ । बस्तुभाउ बाँध्ने गोठ र कुखुराको खोर भत्किएको छ । अन्न भण्डारण गरीएको भकारी भत्किदा अब बालबच्चालाई के खुवाएर पाल्ने चिन्ता थपिएको छ । गत साता नारायणीको भङ्गालो पसेको सुस्तामा अहिले पनि घर घरमा हिले पानी सुकेको छैन । धानचामल लत्ताकपडा हिलोमा मिसिएर कामै नलाग्ने भएको छ । ‘न घर भकारी बाँकी रह्यो न खेतमा रोपेको धान । अन्नै नभएपछि अबको गुजारा कसरी गर्ने । केटाकेटीलाइ के खुवाएर पाल्ने दिमागले केही सोच्नै सकेको छैन’ कोइरीले भने ।

लगातारको वर्षाले डुबानमा परेको सुस्तामा साउन ६ गते स्पर नं. १ को उत्तरपूर्वबाट नारायणीको बाढी पसेको थियो । बाढीले थारु टोलका झण्डै ४५ घर दुई दिनसम्म पूर्ण रुपमा डुबे । आधा दर्जन कच्ची घर भत्कीए । पहाडी टोल र ठूलाटोलाका अधिकांश घरमा पनि भेलबाढी पस्यो । अधिकांश घर डुबानमा परेपछि आश्रयका लागि ठाउँ खोज्दै केही त भारतको भेडीहारीसम्म पुग्नु परेको स्थानीय रबिन्द्र जैसवालले बताए ।

सोमबारदेखि फेरी लगातार वर्षा भइरहेको छ । घरहरु फेरी डुबानमा परेका छन् । सुस्ताबासीको दैनिकी अस्तव्यस्त भएको छ । घरभित्रै कम्मरसम्म पानी भरीएपछि हुनेले खाट तथा ट्रयाक्टरको टालीमाथि चुलो बालेर केटाकेटीलाई दुई छाक खुवाएका छन् । यसअघि नै घर भत्केकाहरुको त झन बिजोग छ । बालबालिका र बृद्धबृद्धाको बिचल्ली भएको छ । नारायणीमा पानीको सतह बढन थालेपछि त्रास झन बढेको सुस्ता बचाउ अभियानका सदस्य जैसवालले बताए । उनका अनुसार अहिलेपनि सुस्ताको उत्तर पूर्व धनैयारेतामा नारायणीले कटान गरीरहेको छ । यसअघिकै बाढीले कच्ची घरहरुलाई कमजोर बनाएकाले फेरी बाढी पसे त्यसबाट ठूलो क्षति व्यहोर्नु पर्ने उनले बताए ।

सिङ्गो बस्ती विपतसंग जुझीरहदा सुस्तामा सरकारको उपस्थिति भने सुन्य छ । अहिले सम्म न प्रदेश सरकारले चासो दिएको छ न स्थानीय सरकार पुगेको छ । सुस्ताका वडा सदस्य समेत रहेका स्थानीय आदम खानले बाढी र डुबानको पीडामा सुस्ता छटपटाइरहदा गाउँपालिकाले कुनै चासो नदिएको गुनासो गरे । गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, प्रदेश र केन्द्र सरकारका मन्त्री तथा सांसदहरुलाई सुस्ताको वस्तु स्थितिबारे पटक पटक जानकारी गराउदा पनि राहत उद्यारका लागि कुनै तयारी नगरीएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष समेत रहेका खानले बताए ।

सुस्ता बचाउ अभियानकी नेतृ नुरजहाँ (लैला) बेगमले पनि सुस्ताको बारेमा पत्रकारले बाहेक अरुले चासो नलिएको बताइन् । ‘बरु पत्रकारहरुले बाढी पसेको छ छैन, समस्या के छन् भनेर सोधीरहनु हुन्छ’ । तर हाम्रै जिल्लाका मन्त्री, साँसद नेता कसैलाइ सुस्ताबारे सोच्ने फुर्सदै छैन’। ‘सुस्ताबासीलाई नारायणीले सोहोरेर लगेपनि सरकार, नेता, मन्त्री कसैलाई केही फरक नपर्ने रहेछ’ लैलाले आक्रोश पोखीन् । अन्य स्थानमा बाढी पहिरो र डुबान हुँदा राहत र उद्यारका लागि मन्त्री आफै पुगेका समाचारहरु सुनेपनि सुस्ताको पिडामा तीनवटै सरकारले बेवास्ता गरेको देख्दा आफूहरु बिछिप्त बनेको लैलाले गुनासो गरीन ।  

विपत व्यवस्थापनको तयारी शुन्य
२ सय ६५ घरधुरी रहेको सुस्तामा विपत व्यवस्थापनका लागि यसअघि कुनै खालको पूर्व तयारी गरेको देखिदैन । वर्षेनी बाढी र डुबानको चपेटामा परेपनि यहाँ एउटा सामुदायिक भवन समेत छैन । जसका कारण बाढी र डुबानमा परेकालाई उद्यार गरेर राख्ने सुरक्षित स्थान नै छैन । सुस्ताको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्रकै विओपी वर्षामा पूर्ण रुपमा डुबानमा परेपछि हतियार जोगाउन गाउँलेकै शरण पर्नु पर्छ । विपतका बेला कोही बिरामी परे सामान्य सीटामोल किन्न पनि भारत पुग्नु पर्छ ।

यहाँका अधिकांश घरहरु कच्ची छन् । जुन सामान्य बाढी वर्षाले भत्काइदिन्छ । तर फुसका घर बिस्थापित गर्ने योजनासहित प्रदेशले ल्याएको सुरक्षित आवास कार्यक्रमबाटै अधिकांश सुस्ताबासीलाई बञ्चित गराइएको छ । यसअघि गर्न लागिएको तटबन्दको काम भारतीय सुरक्षा बल एसएसविको अवरोधले रोकिएको छ । तटबन्द नहुँदा वर्षेनी नदी कटान बढीरहेको छ । एसएसविकै अवरोधले तटबन्द रोकिएको स्पर नं. १ को उत्तरपूर्वबाटै एक सता अघि बाढी बस्तीमा पसेको हो । 

दुई वर्षदेखि भारतीय पक्षले तटबन्दमा रोक लगाउदा सरकार मुकदर्शक बनेको सुस्ताबासीको आरोप छ । नारायणीको ठूलै बाढी बस्ती पस्यो भने उद्यारका लागि न सुस्तामै कुनै सुरक्षित संरचना छ न उद्यार गरेर वारी ल्याउन सम्भव छ । किनकी नारायणीमा चल्ने पुराना काठका ढुङ्गाले वर्षाको बाढी तार्दैनन् ।

नारायणीमा बनाउने भनिएको झोलुङ्गे पुलका लागि वर्षेनी करोडौंको बजेट पर्छ । वर्षा लाग्ने बेला ठेक्केदारले छिटपुट काम गर्छ र बजेट लैजान्छ । तीनै संरचना वर्षाको बाढीले बगाइदिन्छ अनी काम जहाँको तही रहन्छ । न ठेक्केदारलाई कारवाही हुन्छ न काम अगाडी बढ्छ । जसको मार केवल सुस्ताबासीहरुले खेपीरहेका छन् ।

प्रकाशित: १३ श्रावण २०७७ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App