रामेछपको उमाकुण्ड गाउँपालिकामा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। उमाकुण्ड गाउँपालिका–४ का पदमबहादुर खत्री र उनका छोरा जितबहादुर खत्रीले स्थानीय महिला संगीता सार्कीमाथि निर्घात कुटपिट गरेका हुन्।
कुटाइबाट उनको घाँटी, ढाड र आँखामा गम्भीर चोट पुगेको छ। हाल उनलाई रामेछापको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गराईको छ। गत साउन ८ गते अपराह्न ४ बजे सामान्य विवाद भएपछि पसलमा मदिरा सेवन खत्रीका बाबु/छोराले अपशब्द बोल्दै आफूमाथि कुटपिट गरेको पीडित संगीताले बताइन्।
‘मेरो भाईले त्यही नजिकै पसलमा रहेकी अर्की महिलालाई हातपात गर्याे भन्ने बाहना बनाएर पदमबहादुर खत्री र जितबहादुर खत्रीले भाईलाई कुटेपछि छुट्याउन जाँदा मलाई नै मुक्का हाने’, संगीताले टेलिफोन सम्पर्कमा नागरिकसँग भनिन्।
‘मेरो भाइ यहाँ बसेको ४ वर्ष भइसक्यो त्यस्तो झगडा गर्दैन मात्रै भनेकी थिएँ। बाबु छोराले बढी बोल्छेस् भन्दै एक्कासी मुक्का प्रहार गरे। मेरो आँखामा गम्भीर चोट लागेको छ’, उनले भनिन्। सँगै पसलमा रहेकी युवतीले आपूmलाई हात हालेको छैन भन्दाभन्दै उनीहरुले अपशब्द बोल्दै आफूहरुमाथि कुटपिट गरेको पीडित संगीताको भनाई छ।
‘मुक्का हानेपछि मेरो निधारबाट रंगत फुट्यो। त्यहीं ढलेछु’, संगीताले रुदै भनिन्, ‘उपचार गर्दिन बरु जेल जान्छु भनेर पदमबहादुरले उल्टै धम्क्याए। मलाई उठाउन आउँदा पनि उठाउन समेत दिनुभएन। हामी दलितले कहिले सम्म कुटाई खानु पर्ने हो ?’
जितबहादुरले आफू लडेकै ठाउँमा घाँटी न्याक्न आएपछि छुटाउन आएका भाईलाई समेत हातपात गरेको पीडित संगीताको भनाई छ।
इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी सहायक निरीक्षक नेत्रबहादु काफ्लेले घटना छानविन गरि दोषी कारबाही गर्न जानकारी दिए। ‘पीडित संगीताको श्रीमान चेतबहादुर मगरातीले आफ्नी श्रीमतिमाथि हातपात भएको भनि दिएको मौखिक उजुरीको आधारमा घटना स्थलमा पुग्दा उनीमाथि कुटपिट भएको पाइएको उनले बताए।
‘हाल कुटपीटबाट घाईते भएकी संगीताको उपचार भैइरहेको छ। पहिले त विरामी उपचार पाउँनु पर्छ। हामीले घाइतेलाई उपचारको लागि सदरमुकाम पठाएको छ। घटनाको यथाशिघ्र छानविन गरि कारबाही गरिने छ’, उनले भने।
पीडित पक्ष विरामीको उपचारमा संलग्न भएको र प्रहरीमा जाहेर नआएको कारण कुटिपिट गर्नेलाई पक्राउ नगरिएको प्रहरी सहायक निरीक्षक काफ्लेले बताए। पीडित पक्षले दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको समेत उनले बताए।
प्रकाशित: १३ श्रावण २०७७ ०६:३३ मंगलबार





