५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अब ४ दिन ठूलो वर्षा र बाढीको सम्भावना, कहाँ–कहाँ ?

आज सोमबार अपराह्नदेखि साउन १६ गतेसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिकै रहने र प्रशस्त मात्रामा जलवाष्पयुक्त हावासमेत भित्रिने सम्भावना रहेकाले आगामी  तीन–चार दिन मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

जसका कारण देशका धेरैजसो स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले साउन १३ देखि १५ गतेसम्म बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्कता अपनाउन विभागले आम नागरिकलाई आग्रह गरेको  छ ।  

‘श्रावण १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश (सबै स्थान) र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ,’ विभागले आइतबार जारी गरेको ‘विशेष मौसम र बाढी बुलेटिन’मा भनिएको छ, ‘तराई र चुरे क्षेत्रका होचा डुबान भइरहने स्थानहरूमा सर्वसाधारण जनतालाई सावधान रहन तथा सरोकारवाला निकायहरूलाई आवश्यकता सतर्कता अपनाउन समेत अनुरोध गर्छाैं।’

गण्डकी प्रदेशका कालीगण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले जानकारी दिए।  

उनका अनुसार साउन १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना छ ।  

यस्तै प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनको सुझाव छ ।  

जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीहरूमा आकस्मिक बहाबको उच्च सम्भावना छ।  

यस्तै म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाव बढ्ने सम्भावना उच्च छ।  

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने विभागका प्रवक्ता श्रेष्ठले बताए । प्रदेश नम्बर १, २ र प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले जानकारी दिए।  

यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि जल तथा मौसम विज्ञान विभागले गरेको अनुमानअनुसार आज अपराह्नदेखि साउन १६ गतेसम्म देशभरजसो हल्कादेखि भारीसम्म वर्षा हुने भएकाले बाढी, पहिरो तथा डुबानबाट बच्न सबैलाई सचेत गराएको छ ।

वर्षातका बेला पहाडमा भूक्षय हुने तथा पहिरो जान सक्ने र तराईमा बाढी तथा डुबानको जोखिम हुने भएकाले सर्वसाधारणदेखि विपद् व्यवस्थापनमा संलग्न सबैलाई सतर्क रहन आह्वान गरेको छ ।  

आफू बसेको स्थानमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह एवं विपद् व्यवस्थापन समितिलाई तुरुन्त खबर गर्न प्राधिकरणले अनृुरोध गरेको छ ।  

यस्तै सम्भावित वर्षा वा बाढीबारे जानकारी लिन परे मौसम विज्ञान विभागको ११५५ नम्बरमा र खोज, उद्धार तथा राहतलगायत यससम्बन्धी अन्य जानकारी लिन ११५५ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको ११४९ नम्बरमा फोन गर्न सूचना गरिएको छ । यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

विस्तृत जानकारीका लागि प्राधिकरणको यो सूचना हेर्नुहोस् :    

यस्तो छ आजदेखि बुधबारसम्म वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिउँसो देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

सोमबार रातिदेखि वर्षाको मात्रा अझ बढ्ने महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र तीमध्ये प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।  

मंगलबार र बुधबार हुने सम्भावित वर्षाको विवरण तलको सूचनामा :

प्रकाशित: १२ श्रावण २०७७ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App