७ वैशाख २०८१ शुक्रबार
समाज

आफैं मोटरसाइकल चलाएर पुगेका थिए अस्पताल, भेन्टिलेटर खाेज्दा-खाेज्दै गयाे ज्यान

उदांगियो भद्रगोल

प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल कोभिड डेडिकेटेड लेभेल २ अस्पताल हो। यही अस्पतालमा भेन्टिलेर सेवा उपलब्ध नहुँदा आइतबार कोरोना संक्रमित एक युवकले ज्यान गुमाएका छन्। यस घटनाले प्रदेश सरकारको कोरोना संक्रमण नियन्त्रणको भद्रगोल तयारीलाई छताछुल्ल पारिदिएको छ।

धनुषाको सहिदनगर नगरपालिका–८ डुमरिया चोकमा हार्डवेयर पसलका संचालक ३८ वर्षीय युवक शनिबार आफैं मोटरसाईकल चलाएर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए। रुघाखोकी, ज्वरो र सास फेर्न गाह्रो भएपछि उपचार गराउन अस्पताल पुगेका उनी घर उपचार अभावमै ज्यान गुमाए। शनिबार साँझ स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आईसियूमा भर्ना भएका उनलाई भेन्टिलेटर आवश्यक पर्यो प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले भने,‘थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गर्यौ। एम्बुलेन्समा लैजादैं गर्दा बाटोमै मृत्यु भयो।’ ‘मृतकमा उच्च भाइरल लोड आएको पाइयो’ डा. सिंहले भने, ‘हालसम्म जनकपुरमा यतिधेरै मात्रामा ‘भाइरस लोड’ कुनै संक्रमितमा पाइएको थिएन।’

सास फेर्न अप्ठ्यारो भैरहेका उनलाई भेन्टिलेटरमा राख्नु पर्ने थियो तर प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध दुबै भेन्टिलेटर प्याक थियो। प्रदेश २ मा अर्को कोभिड अस्पतालमा भेन्टिलेटरसहितको सेवा उपलब्ध नहुँदा उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा सिरहाको मिर्चैया नजिक एम्बुलेन्समै मृत्यु भयो। आइतबार राति नै मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर राखियो।  

‘राति नै हामीले अस्पतालको आईसीयू सिल गर्यौै डा. सिंहले भने,‘आइसियूलाई डिसइन्फेक्ट गर्नेलगायतका प्रक्रिया सुरु भैसकेको छ।’  

सोमवार बिहान प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको संयोजकत्वमा बसेको सुरक्षा समितिको बैठकले अस्पतालको आइसियू सिल गर्ने निर्णय गरेको छ। जनकपुरकै सुरक्षित स्थानमा नेपाली सेनाले कोभिड प्रोटोकोल अनुसार व्यवस्थापन गर्दैछ, प्रजिअ कोइरालाले बताए। धनुषाबाट मोरङ जिल्ला सुरुवा भैसकेका प्रजिअ कोइरालाले भने,‘मैले रावाना लिएर आजै जाँदैछु। आवश्यक नियन्त्रणकारी कार्य अघि बढाउने निर्णय भएको छ।’ मृतकसँग एम्बुलेन्समा चालकसहित मृतकका ४ जना आफन्त थिए।

सहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाका अनुसार मृतकको साबिक घर मिथिला नगरपालिका –८ हो। व्यपारका लागि सहिदनगर ८ डुमरिया आएका उनी एक दशकदेखि यही घर बनाएर व्यपार गरिरहेका थिए। व्यपारको शिलशिलामा उनी सीमापारि गईआइरहन्थे। पारिबाट सामान ल्याउने काम पनि गर्थे। ‘लकडाउन खुलेपछि सीमामा आउजाउ खुकुलो भएको थियो’ वडाध्यक्ष तनुकलाल यादवले भने,‘पारिबाट समान लिएर भारतीय व्यपारि पनि आउँथ्यो, उनी आफैं पनि जान्थे। भारतीय बजार जयनगर आउनेजाने गरिरहन्थ्यो।’ पारिबाटै उनमा संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ। 

मृतक परिवारका केहि सदस्य मिथिला नगरपालिकास्थित साबिकको घरमा बस्दै आएकोले सो नगरपालिकाका मेयरसँगको समन्वयमा दुबैतिर कन्टयाक्ट टे«सिङ सुरु गरिएको मेयर बरबरियाले बताए। मिथिला नगरपालिकामा रहेका मृतकको घर सिल गरेर परिवारका सदस्यहरुलाई पाँच दिनसम्म निगरानीमा राखेर स्वाब परीक्षणको रिपोर्टको आधारमा थप निर्णय लिनेगरी समन्वय भएको उनले बताए। अहिले मृतक बस्दै आएको डुमरिया गाउँमा हटिया, भिडभाड हुनेगरी कुनै कार्य नगर्नेगरी कडाई अपनाउन प्रहरी परिचालन गरिएको उनले बताए।

उदांगियो भद्रगोल

पछिल्लो एक सातामा प्रदेश २ मा सात जना संक्रमितको मृत्युले प्रदेशको भद्रगोल तयारी उदांगिएको छ। यहाँका अस्पतालमा संक्रमितको उपचारका लागि उपकरण र तयारी अभाव देखिएको छ। प्रादेशिक अस्पताल जनकपुरको मतहतमा ४८ बेडको कोभिड डेडिकेटेड अस्पताल छ। तर एउटा पनि भेन्टिलेटर छैन। प्रादेशिक अस्पतालमा २ भएको वटा भेन्टिलेटर नियमित विरामीहरुले भरिएको हुन्छ।

यस प्रदेशमा संक्रमण फैलिन थालेपछि सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रणका लागि मातहतका पाँच मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गर्यो। सरकारले नियन्त्रणात्मक र उपचारात्मक कार्यका लागि खर्चिन उक्त रकम निकासा गरेको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार वैशाख १५ गत्ते सम्म २ अर्ब रुपैयाँ सम्बन्धित मन्त्रालयले लगिसकेका छन। स्वास्थ्यक्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले सबभन्दा बढी १ अर्ब १ करोड १२ लाख २७ हजार २ सय ५० रुपैयाँ निकासा पाएको छ। कोरोना महामारी नियन्त्रण र स्वास्थ्य उपकरण खरिद र सुरक्षाकर्मीको बन्दोबस्तीमा बढी रकम निकासा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। राहत वितरणका लागि स्थानीय तह र घरेलु कार्यालयलाई पनि रकम निकासा गरिएको छ। प्रदेशका ८ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिका लागि ७ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार भेन्टिलेटर खरिदका लागि सूचना आह्वान गर्दा पनि टेन्डर परेन। जसका कारण हामीले भेन्टिलेटर खरिद गर्न सकेनौ, उनले भने। दुई थान पीसीआर मेसिन खरिद गरेको उनले बताए। मन्त्रालयको आपूर्ति महाशाखाले ३० थान भेन्टिलेटर खरिदका लागि टेन्डर नपरेको जनाएको छ।

गत्त आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा खटिएका सुरक्षाकर्मीका लागि पीपीई खरिद गर्न ३ करोड रुपैयाँ निकासा लिएको छ। प्रदेश विपद् व्यवस्थापन कोषका लागि २ करोड र कारागार कैदी सुरक्षा शीर्षकमा १ करोड रुपैयाँ थप निकासा बुझेको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार कारागार–कैदी सुरक्षाका लागि प्रत्येक कारागारलाई २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। चैत २८ गते मन्त्रालयले कोरोना भाइरसले पत्रकारको मृत्यु भए परिवारलाई राहत बाँड्न ५० लाख रुपैयाँ सहमतिमा निकासा गरिएको छ।

प्रकाशित: १२ श्रावण २०७७ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App