९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरका ६४ ले कोरोना जिते, हालसम्म ७६ संक्रमितमध्ये १२ उपचाररत

उदयपुरका १४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नवस्थापित ‘उदयपुर कोभिड–१९ अस्पताल’को आईसोलेसनमा राखेर उपचाररात ३ वर्षीया बालिकासहित १४ जनाले कोरोना जितेर बुधबार डिस्चार्ज भएका हुन्।  

भारतका विभिन्न ठाउँमा काम गरि घर फर्काइएका स्थानीयतहका उनीहरु संक्रमित प्रमाणित भएपछि आईसोलेसन वार्डमा राखेर उपचारमा थिए। लगातार १४ दिनसम्म बसेपछि ३ पटकसम्म पिसिआर परीक्षण गर्दा भाईरस नदेखिएपछि उनीहरु डिस्चार्ज भएर घर पठाइएको अस्पताल रेखदेख गर्ने जिम्मा पाएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए।  

आईसोलेसनमा उपचाररत २४ जना विरामीमध्ये निको भएका १४ जनालाई चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले कोरोनामुक्त प्रमाणपत्र प्रदान गर्दै विदाई गरे। २ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् भने एक महिलासहित ८ जना आईसोलेसनमा उपचाररत रहेको उनले बताए। उपचाररत ८ जनामा पनि अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको पोखरेलले बताएका छन्।  

उदयपुरमा हालसम्म ७६ जनामा संक्रमण देखिएको छ। वैशाख ५ गते पहिलो पटक सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीयसहित १६ जमातिमध्ये ११ जनामा संक्रमण पुष्टि भएको थियो। वैशाख अन्तिमसम्ममा ३२ जना संक्रमित पुगेको उदयपुरमा पछिल्लो पटक भारतबाट फर्केकाहरुमा कोरोना देखिने गरेको छ।  

हालसम्म त्रियुगा नगरपालिकामा सबभन्दा बढी १३ महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको छ, भने बेलका नगरपालिकामा १ महिलासहित १४, कटारी नगरमा ३ महिलासहित ७ जनामा र चौदण्डीगढी नगरमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ। गाउँपालिकातर्फ ताप्लीमा १ महिलासहित ३ जना र उदयपुरगढीमा २ पुरुषमा संक्रमण देखिएको छ। रौतामाई र लिमचुङबुङ गाउँपालिकामा अहिलेसम्म संक्रमित देखिएका छैनन्।  

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म उदयपुरमा १ हजार १ सय ७५ महिला र ३ हजार १ सय २६ पुरुषको पिसिआर परीक्षण गराइएको छ। जसमध्ये १८ महिला र ५८ पुरुष संक्रमित देखिएका छन्। जसमध्ये अहिलेसम्म ६४ जना निको भएर घर फर्किसकेको र १२ जनाको उपचार भईरहेको जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले बताएका छन् । उनका अनुसार हाल १५ महिला र २ सय ३ पुरुष क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ३१ असार २०७७ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App