१५ चैत्र २०८० बिहीबार
समाज

वडाध्यक्षद्वारा कुटपिट: मिलापत्र गर्न प्रहरीकै दबाब, मुद्दा दर्ता गर्न समेत आलटाल

जग्गा विवादमा

फाइल तस्बीरः जिल्ला प्रहरी कार्यालय धनुषा

महोतरीको गौशाला–१२ का दिपलाल महतो तीन सातादेखि इलाका प्रहरी कार्यालय ढल्केबार धाउँदै छन्। धनुषाधाम नगरपालिका–९ पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित घडेरी विवादमा वडा अध्यक्ष संजिव यादवले कुटपिट गरेको उजुरी लिएर इलाका प्रहरीमा आएका महतो निरास हुँदै भने, ‘फोन गर्दा प्रहरीले उजुरी लिएर आउन भन्छ। कार्यालयमा आउदा उजुरी दर्ता नगरी वडा अध्यक्षसँग मिल्न दबाब दिन्छ।’  

दुई जना भाइसहित आफूमाथि वडाध्यक्ष पक्षधरले कुटपिट गरी घाइते बनाएको घटनाको इलाका प्रहरी कार्यालय ढल्केबारले उजुरी नै दर्ता गर्न नमानेको उनले बताए।  

एक सातासम्म अस्पतालमा भाइको उपचारपछि दिनहुँ प्रहरी कार्यालय धाउदा प्रहरीको रबैया देखेर निराश भएका महतोले भने, ‘कुटपिट हुँदा घटना स्थल पुगेका प्रहरीले नै उपचारकालागि अस्पतालसम्म पु-याउन सहयोग ग-यो। तर, यति बेला उजुरी दर्ता गर्न मानेको छैन।’ इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले कुटपिट गर्ने वडाध्यक्षसंग मिल्न दबाब दिएको महतोले बताए।

वडाध्यक्ष यादवले आर्थिक प्रलोभन दिएपछि प्रहरी निरीक्षक कार्कीले मिल्न दवाव दिएको उनको आरोप छ। उजुरी दर्ता नगरी मिल्न दबाब दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतलाई महतोले जानकारी गराए। बस्नेतको निर्देशनपछि उजुरी लिए पनि इलाका प्रहरी कार्यालयले मुद्धा दर्ता नगरेको महतोले बताए। गत जेठ २८ गते भएको कुटपिट घटनाको इलाका प्रहरी कार्यालय ढल्केबारले मंगलबार घटना स्थल मुचुल्का उठाएको थियो।

‘मुद्दा दर्ता भयो आरोपितलाई पक्राउ गर्न नसक्दा अनुसन्धान हुन सकेको छैन’, कार्कीले भने।  वडाध्यक्ष संजिव यादवको जग्गा सडकमा पर्ने र केही फिटमात्र बाचेपछि महतोलाई जग्गा दिनुस् भनी पटक–पटक धम्की दिंदै आएका थिए। जानकारी बिना जग्गामा मन्दिर बनाउन जग खन्न लागेको जानकारी भएपछि रोक्न जादा तीनै दाजु भाइलाई वडाध्यक्ष लगायतका व्यक्तिले कुटपिट गरेको महतोले बताए। योजनाबद्द तरिकाले आफ्नो जग्गा कब्जा गरी मन्दिर बनाउने तर्खरमा नापजोख गरिरहँदा रोक्न खोज्दा वडा अध्यक्षले यादवले कुटपिट गर्न आफ्ना पक्षलाई निर्देशन दिएको पीडित महतोको आरोप छ।  

वडाअध्यक्षको आर्थिक प्रलोभनमा परी प्रहरीले उजुरी दर्ता नगरी मिल्न दवाव दिनुमा प्रहरीलाई आर्थिक लोभ र राजनीतिक संरक्षण मुख्य कारण रहेको अधिकारकर्मी विपी साहले बताए। यसअघि समेत धनुषाको इलाका प्रहरी कार्यालयमा सवारी दुर्घटना मुद्धामा प्रहरी हिरासतमा रहेका चालक आत्महत्या गरेका थिए। प्रहरीले माग गरेको अतिरिक्त रकम नबुझाउदा पाएको यातना सहन नसकेर चालकले प्रहरी हिरासतमै आत्महत्या गरेको आरोप छ।

प्रहरी कार्यालय र प्रहरीका नेतृत्वकर्ता पहुचवाला, तस्कर, राजनीति गर्ने व्यक्तिकै आसपासमा रहेर काम गरेको अधिकारकर्मीहरुको भनाइ छ। प्रहरी कार्यालमा उजुरी गर्न जाँदा पीडितले न्यायकालागि पहिला प्रहरीसंगै लडनु परेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख राजु पासवानले सुनाए।

‘प्रहरी कार्यालयमा मिलापत्रका लागि गरिने पञ्चायतमा पीडित थप पीडामा पर्छ, पासवानले भने,‘प्रहरी परिसरमा हुने पञ्चायतमा आर्थिक जरिवनाले कानुनी शासनको धजिया उडदै छ। आर्थिक जरिवनाले प्रहरी र राजनीतिक दलको नियतमाथि समेत प्रश्न उठेको छ।’  

प्रहरीले उजुरी दर्ता गर्नुको विकल्प नहुँदा पनि कतिपय अवस्थामा शक्तिको दुरुपयोग हुदा मानव अधिकार उलंघन हुने गरेको राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख बिरबहादुर बुढामगरले बताए।  

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंह प्रहरीको संस्थागत सुधार भए पनि आर्थिक चलेखेलको आरोप केहि हदसम्म सत्य रहेको बताउछन्। तर, प्रहरीमाथि लागेको सबै आरोप सत्य हुँदैन, उनले भने। आरोप अनुसारको प्रमाण फेला पर्दा प्रहरी कारवाहीमा परेको उनले दावी गरे। तीन महिना यता प्रहरीको मर्यादा विपरित आर्थिक लेनदेन गरी अपराध गर्ने प्रदेश २ का ७ जान प्रहरीलाई निलम्बन गरिएको उनले बताए। अपराधिमाथि निगरानी गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले समेत निगरानी बढाएको उनको भनाइ छ।

प्रकाशित: २९ असार २०७७ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App