१५ चैत्र २०८० बिहीबार
समाज

बाढीको हल्लाले सीमावर्ती क्षेत्रका साथै सदरमुकाममा त्रास

लगातार बर्षा हुने र बाढीले डुबानमा पर्ने हल्ला फैलिएसँगै जिल्ला सदरमुकाम गौरसँगै सीमावर्ती क्षेत्रका गाउँहरुमा त्रासको वातावरण देखिएको छ । नेपाल भारत सीमाको दशगजा क्षेत्रसँगै भारत सरकारले एकतर्फी रुपमा बनाएको तटबन्धले गर्दा डुबानमा पर्ने त्रासले स्थानीय त्रसित देखिएका हुन् । मौसम विज्ञान विभागले पनि विभिन्न प्रदेशका साथै प्रदेश नम्बर दुईमा पनि भारी बर्षा हुने बताउँदै सतर्क रहने सल्लाह दिइरहेको छ ।

जिल्ला विपद व्यवस्थापन समिति रौतहटले पनि सूचना जारी गर्दै सतर्क रहन सुझाव दिइसकेको छ । चार दिन बर्षा हुने र बाढी आएर डुबान पनि हुन सक्ने सम्भावना रहेकोले सदरमुकाम गौरका साथै करिब एक दर्जन गाउँका स्थानीयबासी त्रासमा रहेका छन् । बाढीको हल्ला र त्राससँगै स्थानीयबासीले विभिन्न सामान जोरजाम गर्न थालेका छन् । डुबानमा पर्ने डरले कतिपय स्थानीयबासीहरु आफ्नो घरमा केही दिनको लागि आवश्यक सामग्री किनेर राख्न थालेका छन् ।  

बाढीले डुबानमा पर्दै आएका केही गाउँका मानिसले मुख्य गरी भान्छाका अतिआवश्यक सामानहरु जोरजाम गर्न थालेका हुन् । जिल्लाका बाढीको क्षेत्रमा उद्धार तथा राहतको लागि हरेक वर्ष काम गर्दै आएको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बाढी र डुबानको खतरा रहेको भए समयमै सतर्क रहन आग्रह गरेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा बाढीको खतरा रहेको विभिन्न माध्यमबाट जानकारी आइरहेकोले बाढी पूर्वको सावधानी जिल्ला विपद व्यवस्थापन समितिले अपनाउनुका साथै सूचना निकालेर सबैलाई सावधान रहन जानकारी गराइसकेको बताएका छन् ।

प्रकाशित: २५ असार २०७७ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App