सेतो सर्ट/टिसर्ट लगाएका र हातमा राष्ट्रिय झन्डा बोकेका हजारौं पेसाकर्मीलाई दरबारमार्गको महेन्द्र सालिक अगाडि बनाइएको मञ्चबाट उद्योगी, व्यवसायी र कलाकारले 'बन्दलाई बन्द गरौं', 'समयमा संविधान देऊ', 'राष्ट्रिय एकता र सद्भाव कायम गरौं' जस्ता नारा लगाएपछि सबैले झन्डा फहराउँदै नारा दोहोर्याए।
करिब आधा किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको दरबारमार्ग सडकमा खचाखच भरिएका पेसाकर्मीका हातहातमा 'शान्ति सद्भाव कायम गरौं', 'गरी खान देऊ', 'नेपालीको चाहना शान्तिको कामना', 'विधिको शासन हुनुपर्यो', 'जिउको सुरक्षा हुनुपर्यो' लगायत नारा लेखिएका प्लेकार्ड थिए। सडकका दुवै छेउ घरका छतछतमा बसेकाहरु पनि 'नेपाली-नेपाली एक हौं' भन्दै सहभागीलाई हौस्याइरहेका देखिन्थे।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा पेसाकर्मीका १ सय २४ संघसंस्था 'राष्ट्रिय सद्भाव सभा' मा सहभागी थिए। सभामा करिब १० हजार पेसाकर्मी सहभागी भएको महासंघले जनाएको छ।
सुरुमा कार्यक्रम तय गर्दा वसन्तपुर डबली भनिए पनि त्यहाँ नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समिति र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वानमा आमसभा पूर्वनिर्धारित भएकाले अन्तिम समयमा सद्भाव सभा स्थल परिवर्तन गरिएको थियो।
दरबारमार्ग मञ्चमा महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार, निवर्तमान अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्षहरू पशुपति मुरारका र प्रदीपजंग पाण्डेसहित कलाकारहरू रामकृष्ण ढकाल, कोमल ओली, योगेश्वर अमात्य, सत्य र स्वरुपराज आचार्य, जेम्स प्रधानलगायत थिए।
महासंघका अध्यक्ष राजकर्णिकारले 'बन्दबाट आजित भयौं, यसले जनजीवन अस्तव्यस्त र दुःखी बनाएको छ, त्यसैले बन्दलाई सदाका लागि बन्द गरौं,' भन्नासाथ हजारौंका हातका झन्डा एकैचोटि फहरिएका थिए। 'कुनै राजनीतिक दल वा संगठनलाई समर्थन वा विरोध गर्न यो सभा आयोजना गरिएको होइन, राष्ट्रिय एकता र सद्भाव कायम गर्नमात्र हो,' उनले भने, 'निडर भएर बाँच्न र गरी खान पाउनुपर्ने सर्वसाधारणको नैसर्गिक अधिकारलाई यो सभाले थप बल दिनेछ।'
विभिन्न जातजाति र भाषाभाषी एक भएर बस्नुपर्छ भन्ने सन्देश भेलाले दिने उनले बताए। नेपालीको एकल पहिचान नै राष्ट्रिय पहिचान भएको उनको भनाइ थियो। 'हामी पहिला नेपाली हौं, त्यसपछि मात्र विभिन्न जातजाति र भाषाभाषी हौं,' उनले भने, 'त्यही भएर, नेपाली भएर बाँचौं।'
विभिन्न वर्ग वा सम्प्रदायले आफ्नो पहिचान खोज्नु स्वाभाविक भए पनि त्यसो गर्दा अरूको दैनिक जीवनयापनमा असर पार्न नहुने उनको धारणा थियो। लगातारको बन्द रोक्न सरकारको उपस्थिति नभएको आरोप लगाउँदै उनले पूरै निजी क्षेत्र राष्ट्रियताको पक्षमा रहेको बताए।
'देश संघीयतातिर गइरहेको छ, निजी क्षेत्र आर्थिक समृद्धिसहितको संघीयता चाहन्छ,' कर्णिकारले भने, 'जेठ १४ भित्र नयाँ संविधान जारी हुनुपर्छ। नेपाल र नेपालीको जय होस्, जय संयुक्त नेपाल।'
कर्णिकारले बोलेपछि साहित्यकार धीरेन्द्र प्रेमर्षिले 'देश जलिरहँदा पनि मस्त घुर्नेलाई खबरदारी गर्न कमिलाले चिल्नुपर्छ...' भन्दै व्यंग्य कविता वाचन गर्दा तालीको गडगडाहट आएको थियो।
गायक रामकृष्ण ढकालले 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैं-सधैं नेपाल लेख्न पाइयोस्...' भन्ने गीत गाउँदा उपस्थित सबैले उनीसँगै गाएका थिए। त्यसैगरी गायक अमात्य, प्रधान, आचार्यद्वयले पनि गीत गाएर उपस्थितलाई मनोरञ्जन दिएका थिए। साथमा रुद्र ब्यान्डले सांगीतिक धुनबाट सबैलाई मोहित पारेको थियो।
करिब साढे दुई घन्टा चलेको सभाको अन्तिम आकर्षण स्वरूप उपस्थित सबैले मैनबत्ती बालेर 'जातीय सद्भाव कायम गर्दै आर्थिक रूपमा समृद्ध नेपाल' बनाउन कामना गरेका थिए।
प्रकाशित: १० जेष्ठ २०६९ २०:४९ बुधबार





-600x400.jpg)