coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संशोधित नागरिकता विधेयक फिर्ता लेऊः कांग्रेस

नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्थाविपरीत राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधानविपरीत रहेको ठहर गरेको हो।  

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन हाल कायम संवैधानिक व्यवस्था, राजनीतिक, सामाजिक तथा सांस्कृतिक मान्यताविपरीत रहेको कांग्रेसले ठहर गरेको छ।

नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहेको औल्याउँदै कांग्रेसले भनेको छ, ‘यो बैठक सरकारले प्रस्तुत गरेको संविधानविपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ।’

राज्य व्यवस्था समितिमा आफ्नो पार्टीका सांसदले फरक मत राखिसकेको उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘यसैअनुसार संसद्मा प्रस्तुत हुन यो बैठक कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ।’  

सांसद छन्त्यालको निधन

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको छ। केही समयदेखि मुटु रोगबाट पीडित रहेकी छन्त्यालको बुधबार उपचारकै क्रममा निधन भएको हो। केही दिनअघि मुटुको सल्यक्रिया गरिएको उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। बाग्लुङ ढोरपाटनकी छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य थिइन्। २०७० सालको संविधान सभा सदस्य पनि रहेकी छन्त्यालको बुधबार नै अन्त्येष्टि गरिएको छ।  

त्यसअघि बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै बिहीबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै कुनै पनि औपचारिक कार्यक्रम नराख्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि छुट्टै शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन्।

पार्टीको जारी बैठक आइतबारसम्मका लागि स्थगित गरेको पनि कांग्रेसले जनाएको छ।  

यसैबीच, प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकले सांसद छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेका दुवै सदनका बैठकमा उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

प्रकाशित: १८ असार २०७७ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App