१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

अलमलमै आइजिपी

गत माघको अन्तिमदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीको असार २४ गतेदेखि पदावधि सकिँदै छ। छोटो अवधिको लागि झन्डै ७० हजार सदस्यीय प्रहरी संगठनको नेतृत्व सम्हालेका ज्ञवालीले दरिलो उपस्थिति देखाउन सकेनन्। प्रहरी सेवामा ३० वर्षे कार्यकाल बिताउँदा खासै चर्चा र विवादमा नआएका ज्ञवालीले आइजिपी बनेपछि पनि विवाद र चर्चामा आउने काम भने गरेनन्। उनको कार्यकाल जम्मा एक सय ४३ दिन मात्रै थियो। यस कारण पनि काम गर्ने दिन थोरै त थिए नै त्यसमा पनि कोरोना भाइरसका कारण देशमा लकडाउन भइदियो।

लकडाउनको बेलामा अत्यावश्यक बाहेकका अन्य सबै काम रोकिए। आइजिपी ज्ञवालीको कार्यकालको झन्डै ३/४ महिना त लकडाउनमै बित्यो। यो अवधिमा प्रहरी संगठनमा उनले सरुवा र बढुवाको टुंगो लगाए। यस बाहेक संगठनलाई बलियो पार्ने योजनामा उनले काम गर्न सकेनन्। उनको कार्यकालमै सांसद अपहरणको मुद्दा काठमाडौं परिसर प्रहरीले दर्ता गर्न मानेन। जसका कारण उनीमाथि प्रश्न उठेको छ। त्यस्तै, उनीभन्दा अघिल्ला आइजिपी सर्वेन्द्र खनालको पालामा इकाउन्टरको नाममा गैर न्यायिक हत्या भएको रिर्पोट मानव अधिकार आयोगले सार्वजनिक गर्दापनि उनले त्यसबारेमा कुनै प्रतिक्रिया जनाएनै।  

ज्ञवालीले माघ २८ गते पद सम्हालेका थिए। त्यसको भोलीपल्ट उनले भनेका थिए, ‘मेरो कार्यकाल थोरै छ, गर्नुपर्ने काम धेरै छन्।’ तर, उनको कार्यकालमा प्रक्रियागत र नियमित कार्यबाहेक अरु कार्य भएनन्। संगठनभित्रकै तल्ला तहका कर्मचारीमा छाएको निराशा चिर्दै ठूला घटनालाई टुंगो लगाउने जिम्मेवारी उनको काधमा रहेपनि कर्मचारीको मनोबल उच्चो राख्न उनले त्यति प्रयास गरेनन्। केही दिन सामुहिक मेस कार्यक्रम गरेपनि त्यसले निरन्तरता पाएन। निर्मला पन्त घटना र ३३ किलो सुन प्रकरणको अनुसन्धानबारे आइजिपी ज्ञवालीले सोच्नै भ्याएनन्।  

प्रहरी समायोजन, सरुवा र बढुवामा भने उनले निरन्तरता दिए। आइजिपी पद सम्हालेको केही दिनपछि फागुन पहिलो साता उनले नागरिक दैनिकसँग अन्र्तवार्ता दिँदै प्रहरी संगठनलाई सुधार्ने र वक्यौता काम अघि बढाउने दाबी गरेका थिए। तर, उनको कार्यकालमा नियमित काम बाहेक अन्य वक्यौंता र नयाँ काम भएनन्। पुरानै सुरक्षा ढाँचालाई केही परिवर्तन गर्ने आँट उनले राखेनन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको कार्यकालमा लकडाउन भएका कारण प्रहरी जनशक्ति पनि त्यसमै केन्द्रित भएको थियो। दुई हजार ७० जना फरार अभियुक्त पक्राउ परेका थिए। त्यस्तै, प्रहरी संगठनमै गलत गर्ने ६ सय ४३ जनामाथि कारबाही भयो। विप्लव समूहका एक हजार ६ सय ३३ जना पक्राउ, एक हजार पाँच सय ५७ जनाविरुद्ध मुद्दा दर्ता भएका छन्। उक्त समूहबाट ३६ थान पेस्तोल, दुई थान रिभल्भर, दुई नाल थ्रीनट थ्री राइफल, ६ नाल भरुवा बन्दुक, आठ सय ७० राउण्ड गोली, चार सय २८ थान छर्रा, एक थान सुतली बम, १३ थान सकेट बम, ३ थान ह्याण्ड ग्रेनेड, २८ थान डेटोनेटर बरामद गरेको छ। प्रहरीले कोराना रोकथामका लागि ८ सय ३३ हेल्थ डेस्क स्थापना गरेको छ।  

लकडाउन कार्यान्वयनका लागि नेपाल प्रहरीले तीन हजार तीन सय ५५ वटा सवारी साधनहरू परिचालन गरेको थियो। लकडाउनमै आठ सय ९४ वटा घरेलु हिंसा र पाँच सय ३९ वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए। यसबाहेक पछिल्लो समय अपराध गर्ने शैली र तरीका बदलिएको छ। प्रविधिको प्रयोग गरी अपराधिक क्रियाकलाप गर्नेको संख्या बढ्दो छ। हिजोका दिनमा आफैँ उपस्थित भएर अपराध गर्ने गिरोह अहिले प्रविधिलाई हतियार बनाएको अनुसन्धानले देखाएको छ। त्यसकारण प्रहरी पनि त्यसतर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता हो। ज्ञवालीले त्यसतर्फ पनि त्यति चासो दिएनन्। 

प्रकाशित: १७ असार २०७७ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App