२३ असार २०८३ मंगलबार
image/svg+xml
समाज

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।

लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी रु तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, 'हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। सदियौँदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। पालिकाका सातवटै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा–युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजेका हौँ।'

गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटालगायतले सम्मान गरेका थिए।

कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। रासस

प्रकाशित: २२ असार २०८३ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App