हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने जनाएको छ।
हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ।
सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको कार्यालयले मृतक तथा घाइतेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै केन्स्कोफलाई सरकारले त्याग्न नदिने जनाएको छ।
सरकारी अधिकार पुनःस्थापित गर्न सुरक्षा निकायले बिना ढिलाइ काम गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को सुरुआतमा दुई महिनाको अवधिमै केन्स्कोफमा भएका गिरोहका आक्रमणमा २६० भन्दा बढी मानिस मारिएका थिए।
ती आक्रमणमा करिब २०० घर ध्वस्त वा जलेका थिए भने करिब तीन हजार मानिस विस्थापित भएका थिए।
त्यसयता पनि अपहरण, आगजनी र गाईवस्तु चोरीलगायतका १० भन्दा बढी आक्रमण भएका छन्।
हाइटीको राजधानीमा शक्तिशाली गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन्।
हतियार तथा स्रोतसाधनको अभावमा रहेको प्रहरीलाई विदेशी मुलुकले सहयोग गरिरहेका भए पनि गिरोहले राजधानी आसपासका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेका छन्।
राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसा तीव्र बनेको छ।
हत्या, अपहरण, बलात्कार तथा बालबालिकाको जबर्जस्ती भर्तीका घटनाले नागरिक सुरक्षामा गम्भीर चुनौती थपिएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जुनमा सार्वजनिक गरेको अनुमानअनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण झन्डै १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।
गिरोह नियन्त्रण तथा स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालनको तयारी भइरहेका बेला केन्स्कोफमा भएको पछिल्लो आक्रमणले हाइटीको बिग्रँदो सुरक्षा अवस्थाप्रति थप चिन्ता बढाएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १७:०४ मंगलबार



-600x400.jpg)

-600x400.jpg)