१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आप्पाले सके संसारकै लामो यात्रा


श्याम भट्ट, काठमाडौं, वैशाख ८- सत्र सय किलोमिटर लामो हिमाली पदयात्रामा रहेका आप्पा शेर्पाको टोलीले २३ दिनअघि नै यात्रा पूरा गरेको छ। उनीहरू तीन महिनाअघि ताप्लेजुङबाट संसारकै लामो मानिएको १ सय २० दिने 'द ग्रेट हिमालयन ट्रेल'को यात्रामा निस्केका थिए।

बाजुरा, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा भएको हिमपातले हिमाली बाटो हिँड्न कठिन भएर वैकल्पिक पहाडी बाटो अपनाएपछि उनीहरूको यात्रा छोट्टिएको हो। आयोजक हिमालयन क्लाइमेट इनिसियटिभका निर्देशक प्रशान्त सिंहले मध्य र सुदुरपश्चिमका हिमाली क्षेत्रमा भएको प्रिमनसुन हिमपातका कारण वैकल्पिक बाटो छानेको बताए।

योजनाअनुसार आप्पाको समूह वैशाख ३१ गते खलंगा पुग्नुपर्ने हो। पहाडी बाटो प्रयोग गर्दा २३ दिनअघि नेै यात्रा सकिँदैछ। उनीहरू शुक्रबार दिउँसो दार्चुलाको सदरमुकाम खलंगा आइपुग्दैछन्। मंगलबार बैतडीको सेराबाट खलंगा हिँडेको आप्पाका सहयात्री पत्रकार सौरभ ढकालले आफ्नो टि्वटरमा उल्लेख गरेका छन्।

'हामीले १ सय २० दिनको योजना बनाएका थियौं,' सिंहले भने, 'दैनिक २५ किलोमिटरभन्दा बढी हिँडेकाले पनि यात्रा छोंट्टिन पुग्यो।'

उनका अनुसार शुक्रबार दिउँसो खलंगामा आप्पाले पत्रकार भेटघाट गर्ने कार्यक्रम छ। शनिबार धनगढी आएर भोलिपल्ट काठमाडौं आउने छन्। सोमबार राष्ट्रपतिलाई भेटेपछि एक दिन स्वास्थ्य परीक्षण र आराम गरेर सञ्चारकर्मीलाई भेट्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए।

सर्वोच्च शिखर सगरमाथाको २१ पल्ट आरोहण गरेका आप्पा र दुईपटक चुचुरो टेकेका सहयोगी दावा स्टेभन शेर्पा, पत्रकार सौरभ ढकाल र फोटोग्राफर समिरजंग थापाले गएको माघ १ गते ताप्लेजुङबाट हिमाली पदयात्रा सुरू गरेका थिए।

द ग्रेट हिमालयन ट्रेलको १ हजार ७ सय किलोमिटर लामो पदयात्रालाई संसारकै रोमाञ्चक र लामो मानिएको छ। यसमा संसारका दसमध्ये आठ चुचुराको फेद हुँदै यात्रा गर्नुपर्छ। 'क्लाइमेट स्मार्ट सेलिब्रिटी ट्रेक' नाम दिइएको यात्राको उद्देश्य मन्त्रिपरिषदको कालापत्थर बैठकपछि विश्वको ध्यान फेरि जलवायु परिवर्तनले संकटमा परेका पर्वतीय क्षेत्रमा तान्नु हो।

प्रकाशित: ७ वैशाख २०६९ २१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App