coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमित गाउँ पुगेपछि त्रास

‘महिना बित्नै लाग्यो, पिसिआर रिपोर्ट आएन’

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ६ जना संक्रमितलाई निको नहुँदै यही जेठ २३ गते डिस्र्चाज गरियो । घर पठाउने कुनै व्यवस्था र समन्वय नगरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएपछि झरी परिरहेको धनगढीको सडकमा बैतडी र अछाम घर भएका उनीहरु अलपत्र परे ।  

गुन्टागुन्टीसमेत बोकेका उनीहरुसडकमा अलपत्र परेर यताउता हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । संक्रमितलाई निको नहुँदै डिस्चार्ज गरी संक्रमण फैलाउने कार्य गरेको भन्दै अस्पताल प्रशासन र प्रदेश सरकारको चर्को आलोचना भयो । अस्पतालले डिस्चार्ज दिएका उनीहरु घर जान बस पाइन्छ कि भनेर बसपार्क पुगे । पानी परिरहेकाले छाता किन्न पसल पनि पुगे । चर्को आलोचना भएपछि उनीहरूलाई सोही दिन (शुक्रबार) साँझ पुनः सेती प्रादेशिक अस्पतालमा लगेर राखियो । दोस्रो दिन उनीहरुलाई अस्पतालले अछाम र डोटी पठायो ।  

संक्रमित निको नहुँदै घर आएपछि संक्रमण फैलिने खतरासँगै गाउँमा त्रास बढेको छ । आरडिटी जाँचका भरमा घर पठाउँदा जोखिम बढेको स्थानीय बताउँछन् । ग्रामीण क्षेत्रका अधिकांश गाउँमा खानपानीको धारा, नुहाउने ठाउँ सामूहिक हुन्छ । ‘सहरमा जस्तो प्रत्येक घरमा खानेपानी धारा, शौचालय, नुहाउने स्थान र आइसोलेसन बस्ने कोठा ग्रामीण क्षेत्रका अधिकांश घरमा छैन’, स्थानीय दलबहादुर बोहरा भन्छन्, ‘२०/३० घरपरिवारलेसम्म खानेपानीको एउटै धारा प्रयोग गर्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा संक्रमितलाई घर पठाउँदा संक्रमण फैलिने जोखिम छ ।’ स्वास्थ्यचौकी, विद्यालय वा कुनै ठाउँमा आइसोलेसन बनाएर संक्रमितलाई राखिनुपर्ने स्थानीय बताउँछन् ।  

स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरी संक्रमितलाई पनि निको नहुँदै घर पठाउने भनेपछि समस्या भएको हो । संक्रमितलाई घर पठाएपछि गाउँभरि नै त्रास फैलिएको छ ।

१४ दिनसम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितलाई घर पठाउन सकिने मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ । निर्देशिकाका आधारमा सेती प्रादेशिक अस्पतालले निको नहुँदै पठाएका बैतडीका चार  र अछामका दुई संक्रमित घर पुगेपछि गाउँभरि संक्रमण फैलिने त्रास बढेको छ ।

अस्पतालले बैतडीको शिवनाथ गाउँपालिका–१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको थियो । यसैगरी अछामको मल्लेख गाउँपालिकाका ३२ वर्र्षीय पुरुष र उनकी ११ वर्षीया छोरीलाई निको नहुँदै घर पठाइएको थियो ।

अस्पतालले निको नहुँदै घर पठाएका बैतडीका चारैजना २५ गते घर पुगेका थिए । गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीरुमा जेठ १० गते कोरोना पुष्टि भएको थियो । त्यसपछि अस्पतालमा राखिएका उनीहरूलाई निको नहुँदै डिस्चार्ज गरिएको थियो । अहिले उनीहरु सबैलाई घरमै आइसोलेसनमा राखिएको शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए । ‘निको नहुँदै घर आएका संक्रमितका कारण परिवारका अन्य सदस्य र गाउँका सबै त्रसित भएका छन्’, उनले भने, ‘भारतबाट फर्किएका तर संक्रमण पुष्टि नभएका व्यक्तिलाई नजाँची सीधै घर पठाउँदा त त्रास थियो, अहिले संक्रमितलाई नै निको नहुँदै घर पठाइएपछि सबै त्रसित छन् ।’  

यस अघिसम्म दुईपटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालले डिस्चार्ज गथ्र्यो । नयाँ निर्देशिकाले संक्रमणकै अवस्थामा पनि घर पठाउन भनेको छ । ‘संक्रमित देखिएपछि अल्ग्याएर अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमितलाई नै घर पठाउन थालेपछि गाउँघरमा त्रास छाएको छ’, शिवनाथ गाउँपालिका–२ का प्रेम चाडले भने ।

उनीहरूलाई सुरक्षित रुपमा बस्ने र कसैको पनि सम्पर्कमा नआउने गरी होम क्वारेन्टिनमा राखिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।  

अस्पतालले भर्ना भएको १७ औं दिनमा कोरोना निको नभए पनि डिस्चार्ज गरेपछि उनीहरूलाई गाउँपालिकाले गाडीमा घरसम्म पु¥याएको थियो ।  

यसैगरी अछामको मल्लेख गाउँपालिकामा पनि संक्रमित निको नहुँदै घर पुगेपछि गाउँले त्रसित बनेका छन । ‘संक्रमितलाई नै अस्पतालले घर पठाइदिएपछि गाउँभरि त्रास छ’, स्थानप्य एक महिलाले भनिन् । संक्रमितलाई निको नहुँदै घर पठाउने नीतिको आलोचना भएको छ । ‘अस्पतालमा आइसोलेसन कक्ष खाली भएकै अवस्थामा संक्रमितलाई निको नहँुदै घर पठाउने कार्य सरासर गलत हो’, ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीका प्रमुख धर्मदेव भट्ट भन्छन्, ‘निर्देशिका बनाएर मनपरी गर्नु राम्रो होइन्, जनताप्रति जिम्मेवार बन्नुपर्छ, संक्रमितलाई घर पठाउँदा संक्रमण फैलिने जोखिम र सर्वसाधारणमा मनोवैज्ञानिक असरसमेत परेको छ ।’

संक्रमित वा रेडजोन क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका सबैलाई सामाजिक दूरी कायम गरेर सावधानीपूर्वक राख्नुपर्ने वरिष्ठ फिजिसियन शेरबहादुर कमर बताउँछन् । उनी भन्छन्, ‘अलग्गै बस्ने व्यवस्था छ भने मात्र घर पठाइनुपर्छ नत्र भने अस्पताल अथवा अन्य ठाउँमा नै आइसोलेसनमा राख्ने व्यवस्था गरिनुपर्छ ।’

भारतबाट आएकालाई स्थानीय तहले १४ दिन क्वारेन्टिनमा राखेपछि आरडिटी टेस्ट गरी नेगेटिभ रिपोर्ट आएमा घर ठाएको छ । आरडिटी जाँच भरपर्दो नभएकाले पिसिआर जाँच गरेर मात्र भारतबाट फर्केकालाई घर पठाउनुपर्ने माग भएको छ ।  

भारतबाट आएका मानिस गाउँघरमा निर्वाध घुम्न थालेपछि समस्या निम्तिएको नागार्जुन मावि, शर्मालीका प्रअ महामलसिंह साउदले बताए । ‘धेरैजसो सुरक्षित बसेका छैनन्,’ प्रअ साउदले भने, ‘केही व्यक्ति मात्र नियमको पालना गरेर बसेका छन् । अधिकांश खुलामखुला घुम्न थालेका छन् ।’

जिल्लामा समुदायसम्म कोरोना फैलिए नियन्त्रण गर्न समस्या हुने ढुंगाड स्वास्थ्यचौकी प्रमुख हेमन्तसिंह साउदले बताए । विदेशबाट फर्केकाले मात्र होइन, सबैले नियमको पालना गर्दै सुरक्षा अपनाउन आवश्यक देखिएको उनी बताउँछन् । सुदूरपश्चिममा जेठ महिनामा ८० हजारभन्दा बढी नेपाली भारतबाट फर्केका छन् ।

‘महिना बित्नै लाग्यो, पिसिआर रिपोर्ट आएन’

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ आएका बैतडीका स्थानीय लामो समयदेखि क्वारेन्टिनमा बस्दै आएका छन् । एक महिना पुग्न लाग्दा पनि उनीहरूको पिसिआर परीक्षण रिपोर्ट आएको छैन । लामो समयसम्म पिसिआर रिपोर्ट नआउँदा तनाव भएको उनीहरूले बताएका छन् ।

शिवनाथ गाउँपालिका–१ का तीनजना क्वारेन्टिनमा बसेको २७ दिन पूरा हुँदासम्म  पिसिआर परीक्षण रिपोर्ट आएको छैन । रिपोर्ट नआउँदा क्वारेन्टिनको बास लम्बिएको छ । सुरुमा दुई साता बस्नुपर्ने भनेकाले आफूहरू स्वदेश फर्केलगत्तै क्वारेन्टिनमा बसेको भए पनि महिना दिनसम्म पनि छुटकार पाउन नसकेको उनीहरुले बताए । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका उनीहरूको पिसिआर रिपोर्ट अझै नआएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । शारदा मावि, मटेला क्वारेन्टिनमा बसेका तीनजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको थियो ।  

यस्तै जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका मानिसको आरडिटी रिपोर्ट पोजेटिभ आए पनि पिसिआर परीक्षण गरिएको छैन । भारतबाट आएका करिब ६ हजारमध्ये आरडिटी परीक्षणमा ४ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । दुई साता क्वारेन्टिनमा बिताएकाको आरडिटी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

आरडिटी परीक्षण गरिए पनि पिसिआरका लागि स्वाब संकलन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको एक मात्र पिसिआर परीक्षण मेसिन छ । जाँच्नुपर्ने नमुनाको चाप बढी भएपछि पिसिआर परीक्षण शुक्रबारदेखि पाँच दिनसम्म रोकिएको थियो । आरडिटी पोजेटिभ देखिएकामध्ये बैतडीका ३ सयजनाको स्वाब संकलन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

स्वाब संकलन गरिएकाको पनि समयमै पिसिआर रिपोर्ट आउन सकेको छैन । स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाीइएका बैतडीका १ सय ५८ जनाको रिपोर्ट आउन बाँकी छ ।

लामो समयसम्म क्वारेन्टिनमा राख्नुपर्दा व्यवस्थापन गर्नसमेत समस्या आएको छ । स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित पनि  छैनन् । जिल्लामा बुधबारदेखि पुनः स्वाब संकलन गर्न थालिए पनि रिपोर्ट आउन भने समय लाग्ने जिल्ला स्वास्थ्य कार्यालका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App