७ वैशाख २०८१ शुक्रबार
समाज

आइसोलेसन अभावमा क्वारेन्टिनमै संक्रमित

४ दिनदेखि संक्रमितलाई राखिएको कविलासी नगरपालिकाको क्वारेन्टिन। (तस्बिर:टंक/नागरिक)

आइसोलेसन अभाव भएपछि सर्लाहीमा कोरोना भाइरस पोजेटिभ देखिएका संक्रमितलाई समेत क्वारेन्टिनमै राखिएको छ। आइसोलेसनमा शड्ढया अभाव भएपछि गत आइतबारदेखि जिल्लामा थपिएका ८३ जना संक्रमितलाई सम्बन्धित पालिकाका क्वारेन्टिन स्थलमै राखिएको हो।  

कविलासी नगरपालिकाका पिसिआर पोजेटिभ ३६, हरिपुर नगरपालिकाका ९, ब्रम्हपुरी गाउँपालिकाका १३, बलरा नगरपालिकाका ९ र धनकौल गाउँपालिकाका १६ जना संक्रमितलाई सम्बन्धित पालिकाहरूकै क्वारेन्टिन स्थलमा राखिएको छ। त्यस्तै, कविलासी नगरपालिकामा स्वाब परीक्षणको रिपोर्ट आउन ९ दिन लागेकाले रिपोर्ट नेगेटिभ आएकालाई छाड्ने बेलामा पुनः आरडिटी गर्दा १ प्रहरीसहित ५ जनालाई पोजेटिभ देखिएपछि उनीहरूलाई समेत नगरपालिकाकै क्वारेन्टिनमा राखिएको मेयर कौशल किशोर यादवले जानकारी दिए।

प्रदेश सरकारले गत जेठ १० गते सदरमुकाम मलंगवास्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा ५० शड्ढयाको आइसोलेसन तयार पारेको थियो। त्यसअघि सर्लाहीका संक्रमितलाई जनकपुर र वीरगंज पठाइँदै आएकामा त्यहाँसमेत ठाउँ अभाव भएपछि सर्लाहीमै आइसोलेसन शड्ढया तयार पारिएको हो।  

कविलासी नगरपालिकाका मेयर यादव संक्रमितलाई समेत क्वारेन्टिन स्थलमै राख्दा संक्रमणको जोखिम बढेको बताउँछन्। ‘संक्रमित भइसकेपछि पनि क्वारेन्टिनमै बस्नुपर्दा बिरामीको आत्मविश्वास घट्न सक्छ भने क्वारेन्टिन स्थलमा त न अक्सिजनको व्यवस्था छ न त विशेषज्ञ चिकित्सक सहित भरपर्दो सुरक्षा व्यवस्था,’ मेयर यादवले गुनासो गरे, ‘भरे कोही संक्रमितलाई केही भइहाल्यो भने त साह्रै गाह्रो हुने देखिन्छ, संक्रमित भइसकेकालाई पनि क्वारेन्टिन स्थलमै राखेको भनेर गाउँले सबै भयभीत छन्।’  

पिसिआर र आरडिटी पोजेटिभ देखिएका ४१ जनालाई जनता मावि अगर्वामै राखिएको मेयर यादवले बताए। ‘विद्यालय भवनको क्वारेन्टिन भएकाले एउटै शौचालय छ, अन्य सेवा सुविधा पनि छैन, स्वास्थ्यकर्मीका नाममा नगरपालिकाकै एचए र अहेब मात्र छन्,’ मेयर यादवले भने, ‘अनि कसरी सुरक्षित महसुस गर्छन् संक्रमित तथा स्थानीयले।’ मेयर यादवका अनुसार बुधबार राति संक्रमितहरूले आइसोलेसनमा राख्नुपर्ने माग राख्दै विद्यालय परिसरमा केहीबेर नाराबाजीसमेत गरेका थिए। ‘भारतबाट आएर दुःखकष्टका साथ झन्डै २५ दिनसम्म क्वारेन्टिनमा बस्यौं, अनि जाँच गराउँदा संक्रमित भएपछि पनि यसैमा राखेर हामीलाई मार्न खोजिएको हो भन्दै प्रश्न गरिरहेका छन्,’ मेयरले भने, ‘केही दिनभित्रै व्यवस्था हुन्छ भनेर सम्झाइरहेको छु, तर केही तलमाथि भयो भने स्थितिले अर्कै रूप लिन सक्छ।’

संक्रमितलाई खुवाउने खाना र खाजा पकाउने भान्सेको समेत अभाव देखिएको मेयर यादवले गुनासो गरे। मेयर यादवका अनुसार क्वारेन्टिनकै रुपमा सञ्चालन भएको अवस्थामा भान्से काम गरिरहेका एकजनालाई समेत पिसिआर पोजेटिभ देखिएर संक्रमित भएका छन्। ‘भारतबाट आएकालाई राखिएको क्वारेन्टिनमा खाना र खाजा पकाएर खुवाउने एकजना भान्से नै संक्रमित भएका छन्, अब त संक्रमित नै राखिएको आइसोलेसन भनेपछि खाना, खाजा पकाएर खुवाउन हत्तपत्त कोही पनि मान्दैनन्,’ मेयर यादवले बिहीबार दिउँसो नागरिकसँग गुनासो गरे, ‘तीन दिनअघि बल्लतल्ल भान्से काम गर्न एकजनालाई खोजेर ल्याएँ, तर आइसोलेसन हो रे भन्ने थाहा पाएपछि सम्झाउन खोज्दा खोज्दै भाग्यो, हिजो अर्को एकजनालाई ल्याउँदा ऊ पनि आज बिहान भागेको थियो, फेरि अहिले खोजेर ल्याएको छु।’

प्रदेश सरकारले राहतमा भन्दा पनि आइसोलेसन निर्माणमा जोड दिनुपर्ने मेयर यादवको तर्क छ। ‘तराई मधेसमा खानै नपाएर भोकभोकै मर्नुपर्ने अवस्था छैन, त्यसैले प्रदेश सरकारले राहत भन्दा पनि हरेक जिल्लामा कम्तीमा दुई हजार शड्ढयाको आइसोलेसन निर्माणमा जोड दिनुपर्छ,’ मेयर यादवले माग गरे, ‘तत्काल हरेक जिल्लामा आइसोलेसन शड्ढयाको क्षमता नबढाए स्थिति भयावह हुने निश्चित छ।’

त्यस्तै १३ जना संक्रमितलाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए।  

मलंगवास्थित नर्सिङ कलेजमा तयार पारिएको ५० शड्ढया भरिएकाले सम्बन्धित पालिकाकै क्वारेन्टिन स्थलमा संक्रमितलाई होल्ड गर्नुपर्ने अवस्था आइपरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। ‘संक्रमितलाई ठिक नहुन्जेलसम्म सम्बन्धित पालिकाको क्वारेन्टिन स्थलमै राख्ने भनेको होइन,’ प्रजिअ जिसीले बिहीबार नागरिकसँग भने, ‘नर्सिङ कलेजका तीनवटै भवन खाली गरेर थप शड्ढया निर्माणको काम भइरहेकाले त्यतिन्जेल संक्रमितलाई जहाँको त्यहीँ होल्ड मात्र गरिएको हो, शुक्रबारसम्म कम्तीमा २ सय शड्ढया तयार हुन्छ होला अनि सबैलाई मलंगवा ल्याउनेछौं।’

सर्लाहीमा बिहीबारसम्मको तथ्यांकअनुसार संक्रमित १ सय ४८ जना पुगेका छन्। जसमध्ये जनकपुरमा १५, काठमाडौंमा २ र ललितपुरमा १ जना आइसोलेटेड छन् भने दुईजना निको भएर घर फर्किसकेका छन्। हाल सर्लाहीका २० वटै स्थानीय तहमा भारतबाट आएका ३ हजारभन्दा बढीलाई सम्बन्धित पालिकाकै क्वारेन्टिनमा राखिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App