८ वैशाख २०८१ शनिबार
समाज

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहीबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो । जसमध्ये भुमिकास्थान–९ का एक जनाको मृत्यु भईसकेको छ । भारतबाट आएका शितगंगा नगरपालिकाको वडा नम्बर–७ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । उनको क्वारेन्टिनमा बसेको २१ दिनपछि पिसीआर जाँच गरिएको थियो ।  

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शितगंगा–७ का ३६ वर्षिय युवामा कोरोना पोजेटिभ पुष्टी भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

संक्रमित युवालाई सन्धिखर्कस्थित हटारीनेटाको आइसोलेसनमा ल्याईएको छ । यसअघि अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नम्बर–८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित दुई जनालाई पनी सोही आईसोलेशनमै राखिएको छ ।  संक्रमित तिनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।  

अर्घाखाँची अस्पतालका अनुसार हालसम्म ४ सय ८९ जनाको स्वाब परीक्षणका लागि पठाईएकामा २ सय २५ जनाको रिपोर्ट आएको र त्यसमध्ये ४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लामा बिहीबारसम्म ६ सय ८१ जनाको र्‍यापिड टेस्ट (आरडिटी) गरिएकोमा ३१ जनामा पोजेटिभ देखिएको छ ।  

अर्घाखाँचीमा पछिल्लो दुई सातामा भारतबाट आउनेको संख्या ४५ सय २६ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसंगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् । जस अन्तर्गत सन्धिखर्क नगरपालिकाका ६ सय २० जना, भूमिकास्थान नगरपालिकाका ११ सय ८१  जना, शितगंगा नगरपालिकाका १ हजार  ९२ जना, पाणिनी गाउँपालिकाका ५ सय ७ जना, मालारानी गाउँपालिकाका ७ सय ४५ जना र छत्रदेव गाउँपालीकामा ३ सय ८१ जना गरी ४ हजार पाँच सय २६ जना जिल्ला भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जिल्लाका छ स्थानीय तहका १९४ स्थानमा ४ हजार ७ सय ४० बेड तयार गरिएको छ ।  

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App