२४ श्रावण २०७७ शनिबार
समाज

अन्न पिस्न मिल छाडेर पानीघट्ट

पानीघट्ट

अन्न कुटानी/पिसानीका आधुनिक यन्त्र/उपकरण बढेसँगै सहर–बजारमा परम्परागत पानीघट्ट लोप भए पनि गाउँघरमा भने यो अझै लोकप्रिय छ । ग्रामीण क्षेत्रका प्रायः ठाउँमा अहिले पनि अन्न पिस्न पानीघट्ट नै प्रयोग भइरहेका छन् । खोला तथा नदीआसपास सञ्चालन हुने पानीघट्टमा जाने ग्राहकको जमात् अहिले पनि देख्न सकिन्छ ।  

काभ्रेका पनि विभिन्न स्थानमा पानीघट्ट यथावत् सञ्चालनमा छन् । परापूर्वकालदेखिका पानीघट्ट अहिले पनि कतिपय स्थानीयको आम्दानीको स्रोत बनिरहेका छन् । पूर्वाधारका दृष्टिले विकसित ठाउँमा पनि यसको प्रयोग उस्तै देखिन्छ ।  

बेथानचोक गाउँपालिका वडा नम्बर ४, चलाल गणेशस्थानका ७० वर्षीय चेतमान तामाङ ५० वर्षदेखि पानीघट्ट सञ्चालन गरिरहेका छन्  । गाउँमा मिल पुगेको १० वर्ष भइसकेको छ, तर पनि उनको पानीघट्टमा खाद्यान्न पिस्न आउनेको संख्या अहिले पनि लगभग उत्तिकै छ ।  

स्थानीय सानुकान्छी तामाङ पानीघट्टमै पिसेको खाद्यन्नको भोजन स्वादिलो लाग्ने बताउँछिन् । मिलमा त गाईवस्तुलाई कुँडो खुवाउने अन्न मात्र पिस्न जाने गरेको उनी सुनाउँछिन् । ‘पहिलेदेखि घट्टमा पिसेको पिठो खाएर होला, मेलमा पिसेको त मीठै लाग्दैन,’ उनी भन्छिन्, ‘घट्टमा ज्याला पनि सस्तो छ । १० पाथी मकै पिस्दा मात्र २५ रुपैयाँ पर्छ भने मेलमा ५० रुपैयाँ तिर्नुपर्छ ।’ घट्टमा पिसिएको खाद्यान्न तागतिलो र पोषिलो पनि हुने उनको दाबी छ । त्यसैले नजिकै पर्ने मिल छाडेर घण्टौं हिँडेर घट्टमै जाने गरेको उनी बताउँछिन् ।

स्थानीय सानुकान्छी तामाङ पानीघट्टमै पिसेको खाद्यन्नको भोजन स्वादिलो लाग्ने बताउँछिन् । मिलमा त गाईवस्तुलाई कुँडो खुवाउने अन्न मात्र पिस्न जाने गरेको उनी सुनाउँछिन् ।

स्थानीयले पानीघट्टको पिसानी रुचाएकै कारण चेतमान तामाङको जीविका चलिरहेको छ । उनको आम्दानीको मुख्य स्रोत नै घट्ट बनेको छ । उनी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घट्टमै व्यस्त हुन्छन् । गाउँमा मिल नभएको होइन, तर घट्टमा धाउने ग्राहक खासै घटेका छैनन् । पहिलेको तुलनामा भने अहिले आफू केही फुर्सदिलो हुन पाएको उनको अनुभव छ । ‘पहिला गाउँमा मेल नहुँदा त एकछिन फुर्सद पाइन्थेन, चौबीसै घण्टा घट्टमा काम गर्नुपर्थ्याे,’ उनले सुनाए, ‘तर गाउँमा मेल आएपछि काम अलि कम भएको छ ।’ तर अहिले पनि आम्दानी राम्रै भइरहेको उनी सुनाउँछन् ।  

पानीघट्ट घर

बेथानचोक गाउँपालिका–४ का वडाअध्यक्ष लालबहादुर श्रेष्ठ पनि गाउँमा मिल भए पनि स्थानीय खाद्यान्न पिस्न पानीघट्टमै धाउने गरेको बताउँछन् । उनका अनुसार अहिले टोलैपिच्छे मिल छन् । तर पनि घट्टका ग्राहक घटेका छैनन् । अहिले आफ्नो वडामा मात्रै ३ वटा घट्ट रहेको वडाध्यक्ष श्रेष्ठले सुनाए । 

त्यसो त सिंगो गाउँपालिकामै पानीघट्टको लोकप्रियता अझै उस्तै रहेको बताउँछन्, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सना । उनका अनुसार स्थानीयले पानीघट्टमा पिसेकै अन्न स्वादिलो मान्ने गरेका छन् । मिलमा त गाईवस्तुका लागि मात्र स्थानीय खाद्यान्न पिस्न जाने गरेको उनको भनाइ छ । बेथानचोक गाउँपालिकामा मात्रै अहिले १२ वटा पानीघट्ट रहेको उनले जानकारी दिए । अझ जिल्लाका विकट दुई स्थानीय तह खानीखोला र महाभारत गाउँपालिकामा त खाद्यान्न पिस्न पानीघट्टको विकल्प नभएको नेपाल पानीघट्ट व्यवसायी संघ (काभ्रे) का अध्यक्ष शिवशरण श्रेष्ठको भनाइ छ ।  

स्थानीयले पानीघट्टको पिसानी रुचाएकै कारण चेतमान तामाङको जीविका चलिरहेको छ । उनको आम्दानीको मुख्य स्रोत नै घट्ट बनेको छ । उनी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घट्टमै व्यस्त हुन्छन् ।

ढिकी, जाँतो, पानीघट्टजस्ता परापूर्वकालदेखि प्रयोगमा रहेका कुरा साधन मात्र नभएर हाम्रो संस्कृति पनि भएको श्रेष्ठ बताउँछन् । यसैकारण यसलाई जोगाइराख्न संघले जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । संघको तथ्यांकअनुसार जिल्लामा अहिले १ हजार १ सय २० वटा पानीघट्ट सञ्चालनमा छन् ।  

कसरी चल्छ  पानीघट्ट ?

गाउँघरमा अन्न पिसानीका लागि लोकप्रिय बनेका पानीघट्ट सहरमा बस्ने कतिपयलाई नौलो कुरा लाग्न सक्छ । यो कसरी चल्छ होला भन्ने जिज्ञासा हुन सक्छ । यसबारे जीवनका ५०औं वसन्त पानीघट्ट चलाएरै बिताएका बेथानचोकका चेतमान तामाङले राम्रोसँग बताउन सक्छन् । उनका अनुसार खोलाको किनारै किनार सानो कुलो बनाएर पानी घट्ट भएको ठाउँसम्म ल्याइन्छ । र, घट्टभन्दा माथि अग्लो ठाउँमा राखिएको काठको डुँडबाट घट्ट भएको स्थल ओरालोमा खसालिन्छ ।  

घट्ट भाले र पोथी दुईथरीका हुन्छन् । अर्थात् कुँदेर जाँतो बनाइएका ढुंगाका दुई ठूला फक्ल्याटा तल र माथि राखिएका हुन्छन् । माथिको जाँतोलाई तल काठको फिर्केसँग जोडेर सँगै घुम्ने गरी राखिएको हुन्छ भने मुनिको जाँतोलाई नघुम्नेगरी माटोमा टाँसेर राखिएको हुन्छ । जाँतोमथि डोरीले चारैतिर बाँधेर सोली झुण्ड्याइएको हुन्छ र त्यसको तल्लो भाग मुनि जाँतोको मुखमा अन्न खस्ने गरी छुवाइएको हुन्छ । जब घट्ट घुम्न थाल्छ, तब त्यसैको कम्पनले सोली हल्लाउँछ र त्यसमा भएका अन्न थोरथोरै गरेर घट्टको मुखमा खस्न थाल्छ  र पिसिन थाल्छ ।  

प्रकाशित: २० जेष्ठ २०७७ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App