६ वैशाख २०८१ बिहीबार
समाज

आरडिटी पोजेटिभ देखिएपछि गाउँपालिका सिल

दुई कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई सिल गरिएको छ । शुक्रबार जनप्रतिनिधि र कर्मचारी गरी ४८ जनाको आरडिटी गर्दा दुई जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकालाई अनिश्चितकालका लागि सिल गरिएको हो । अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत–जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविधिमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

यस्तै, गाउँपालिकाबाट प्रवाह हुँदै आएको सबै प्रकारका सेवा समेत बन्द गरिएको छ । आरडिटी पोजेटिभ देखिएका दुई जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाउने तयारी गरिएको छ । गाउँपालिकामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएम नभएकाले कर्मचारीलाई भिटिएम लिन दिक्तेल पठाएको अध्यक्ष निरौलाले बताए ।

स्वास्थ्य कार्यालयमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएम आएको भए पनि स्थानीय तहमा अझै पुग्न नसकेको गुनासो छ । ‘अस्पतालले बेलामा भिटएम पठाइदिएनन् । भिटिएम लिन कर्मचारी पठाएका छौँ, आइपुगेपछि पिसिआर परीक्षणका लागि पठाउने छौँ,’ निरौलाले भने, ‘गाउँपालिकामा त्रास फैलिएको छ । भीडभाड नहोस् भनेर गाउँपालिकालाई सिल गरेका छौँ ।’  

शुक्रबार गरिएको परीक्षणमा जन्तेढुंगा गाउँपालिकामा तीन जना र हलेसी तुवाचुङ नगरपालिकामा पनि दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको थियो । 

प्रकाशित: १७ जेष्ठ २०७७ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App