coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनको मारमा विपन्न परिवार

बाटो छेउँमा गिट्टी कुट्दै सन्धिखर्क–९ पाथ्राबांगका महिला।

सन्धिखर्क नगरपालिका–९ पाथ्राबांग निवासी ५३ बर्षिया एकल महिला झुम्की बिक लकडाउनका बेला पनी टन्टलापुर घाममा सडकमै दिन बिताउँछिन्। अन्य समयमा अरुको घरमा गएर दैनिक मजदुरी गरेर छाक जुटाउने बिकले लकडाउन भएसंगै काम नपाएपछि सन्धिखर्क, अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गरेकी हुन्।  

उनीहरुलाई बाहिर जानु हँुदैन रोग सर्छ भन्ने थाहा भए पनि बाहिर नगए भोकभोकै मर्नु पर्ने अवस्था छ। ‘दिनभरी गिटी कुट्दा हात दुखेर खस्ला झैं गराउँछ, रातभरी निन्द्रा लाग्दैन, नमिठो मुख गराउँदै उनले भनिन्,‘चिल्लो घस्दिने पनी कोही छैन।’ सरकारले कोरोनाबाट बच्न लकडाउन गरेसंगै गरिब तथा अति विपन्न परिवारमा रोग भन्दा भोकको चिन्ताले सताएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–२, कुरकी ७० बर्षिय पुतला नेपालीले पनी दिनभर गिट्टी कुटेर जिवीकोपार्जन गर्दै आएकी छिन्। हातभरी ठेला देखाउँदै उनले रोग लागेर मर्नु फरक कुरा हो तर, बिहान बेलुका भोकले टट्टाउनुको पिडा छुट्टै रहेको अनुभव सुनाईन्। छोरा बुहारीको परिवार भारत तिर रहेको बताउँदै घरमा ८० बर्षका श्रीमान र आफु रहेकाले बाध्यताले गिट्टी फुटाउनु परेको बताइन्।

पुतला र झुम्की मात्र नभई यहाँका दर्जनौं परिवारको ब्यथा उस्तै छ।  सन्धिखर्क–९, पाथ्राबांगकी कमला विकले रोजगारीका लागि भारतमा गएका श्रीमान तीन महिना देखि भारतमै बेकामे भएर बसेको बताइन्।

कोरोना महामारीका कारण गरिरहेको काम छुटेपछि परिवार पाल्न समस्या भएको उनको भनाई छ। ‘श्रीमानले पैसो पठाउँथे र घरपरिवार चलेको थियो, बुढाको रोजगारी गुम्यो, उनले भनिन्,‘ बुढा उतै फसेका छन्, केही सिप नचलेपछि बाटोमै बसेर गिट्टी कुट्ने गरेकी छु।’

स्थानीय सरकारले राहात वितरण गरेपनी उनीहरुको समस्या समाधान हुन सकेको छैन्। सन्धिखर्क नगरपालिकाले अतिविपन्न १४ सय ५६ घरपरिवार लाई राहत वितरण गरेको छ। राहतले ५ दिन पनी टार्न नसकिएको उनीहरुको भनाई छ। अब राहतको आश नगरेर परिश्रमनै गर्ने भन्दै बरु सहज काम गर्न पाउनु पर्ने उनीहरुको माग छ।

ढुङ्गा जम्मा गरेर फोडेपछि एक ट्याक्टरको ३५ सय रुपैयामा बेच्ने गरेका छन्। एक ट्याक्टर गिट्टी फोर्न एक साता लाग्ने उनीहरुको भनाई छ। गिट्टी कुटेर बेचेपछि रासन लगेर उनीहरुले छाक टार्ने गरेका छन्। स्थानीय सरकारसंगै विभिन्न संघसंस्थाहरुले बेलाबखत राहत वितरण गरेपनी गरिब बस्तीका विपन्न घरपरिवारको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन। 

प्रकाशित: १७ जेष्ठ २०७७ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App