१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेना परिचालन गर्न स्वीकृति माग

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ । कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापन लगायतका कामका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग अनुमति माग गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।  

‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको छ,’ सरकारका प्रवक्ता केसीले भनिन्, ‘यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा सम्बन्धी अन्य कार्यहरुमा समेत खटिनुपर्ने हुँदा नेपाली सेना परिचालन गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेका छौं ।’

भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि गएका कर्णालीका नागरिकहरु फर्कनेक्रम जारी छ । कर्णालीमा भारतमा रहेका एक लाख नागरिक भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ । दैनिकजसो कर्णालीमा कोरोना संक्रमित भेटिनुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्रै गाउँगाउँमा रहेका क्वारेन्टिनको सुरक्षा गर्न संभव नभएपछि सेना परिचालन गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।  

तीन दिनअघि बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले दिएको सुझाव अनुसार प्रदेश मन्त्रिपरिषद् बैठकले सेना परिचालन गर्नका लागि नेपाल सरकारसँग स्वीकृति माग्ने निर्णय गरेको हो ।

प्रकाशित: १४ जेष्ठ २०७७ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App