२८ पुस २०८१ आइतबार
image/svg+xml
खेल

अविस्मरणीय बिदाइ कुरिरहेकी पूजा

पूजा महतो।

नेपाली उमेरसमूहको महिला क्रिकेटको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी पूजा महतोले अब बिदा लिनुपर्नेछ। १८ वर्ष पूरा भइसकेकी उनले अब यो उमेरसमूहको प्रतियोगितामा पुनः खेल्न पाउने छैनन्। तर, आफ्नो अन्तिम आइसिसी यु–१९ विश्वकपलाई भने उनले अविस्मरणीय बनाउने र बिदाइ लिने लक्ष्य राखेकी छन्।

‘मेरा लागि यो विश्वकप पहिलो र अन्तिम हो। त्यसैले यसलाई यादगार बनाउन सकारात्मक सोचका साथ मैदानमा उत्रिनेछु,’ मलेसिया प्रस्थान गर्नुअघि पूजाले भनिन्। सन् २००७ मा मलेसियामा भएको एसिसी महिला प्रतियोगिताबाट नेपाली महिला क्रिकेटले आफ्नो यात्रा सुरु गरेको थियो। सुरुआती समयमा लोभलाग्दो प्रदर्शन गरेको महिला टोलीले छिट्टै विश्वकप खेल्ने आशा जगायो। तर, नेपाल क्रिकेट संघ (क्यान) निलम्बन र पुरुष क्रिकेटप्रतिको चासोले महिला टोलीले डेढ दशकभन्दा लामो समय ख र्चिए पनि ठूलो सफलता चुम्न सकेन।

यो उमेरसमूहको महिला क्रिकेटमा पनि लागू भयो। दुई वर्षअघिसम्मको प्रदर्शन पल्टाएर हेर्ने हो भने पनि यो समूहको प्रदर्शन सम्झनयोग्य थिएन। तर, त्यही वर्ष सीधै सिनियर टोलीमा खुट्टा हालेकी पूजाको नेतृत्वमा भने टोलीले ऐतिहासिक फड्को मार्न सफल भयो। उनको कप्तानीमा नेपालले गत कात्तिकमा युएईको अजमानमा भएको एसिया छनोटको निर्णायक खेलमा घरेलु टोलीलाई आठ विकेटले हरायो। यससँगै नेपालले एसिसी यु–१९ एसिया कपमा मात्र होइन, विश्वकपमा समेत स्थान सुरक्षित गर्‍यो।

यो यात्रामा उनी निर्णायक थिइन्। ब्याटिङमार्फत उनले एक शतकसहित सर्वाधिक २७२ रन बनाइन्। बलिङमा पनि उनी पाँच मेडनसहित १०४ रन खर्चंदै १० विकेट लिन सफल भइन्। यही जितको आधारमा नेपालले एसिया कपमा पनि भारत, पाकिस्तान र बाङ्लादेश र श्रीलंकाजस्ता टेस्ट राष्ट्रसँग स्तर जाँच्ने अवसर पाएको हो। उक्त अवसरमा भारतसँग चुके पनि नेपालले पाकिस्तानविरुद्ध भने ६ विकेटको ऐतिहासिक जित हात पार्न सफल भयो। जसमा पूजा नै फेरि एकपल्ट नायकको भूमिकामा देखिइन्।

विश्वकप खेल्न जान लागेको महिला यु–१९ क्रिकेट टोली र कप्तान पूजा महतो। तस्बिर: क्यान।

उनको अलराउन्ड प्रदर्शन (अविजित ४७ रन र दुई विकेट) ले नै यो जित सम्भव भएको हो। अब विश्वकपमा पनि बलिया टोलीलाई हराउँदै यसरी नै सिंगो राष्ट्रलाई गौरवान्वित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनी सुनाउँछिन्। ‘टिमको आत्मबल जित्ने नै छ। सुरुआतदेखि नै हामीले महिला टोलीका लागि इतिहास बनाउँदै आएका छौं। त्यसैले विश्वकपको सुरुआत पनि जितबाटै गर्नेछौं,’ पूजाले आत्मविश्वासपूर्वक भनिन्।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बाङ्लादेश र स्कटल्यान्ड छन्। माघ ५ गते नेपालले बाङ्लादेशसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। बाङ्लादेशबाहेक अन्य दुई विपक्षी टोली नेपालका लागि नौला हुन्। अझ अस्ट्रेलिया र स्कटल्यान्डले त पहिलो संस्करण पनि खेलिसकेका छन्। उक्त संस्करणमा अस्ट्रेलियाले ‘सुपर सिक्स’ मा भारत र युएईलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। जितविहीन स्कटल्यान्ड भने समूहचरणमै खुम्चियो। त्यसैले नेपालको लक्ष्य पुरानो प्रतिद्वन्द्वी बाङ्लादेश र स्कट्ल्यान्डलाई पराजित गरेर ‘सुपर सिक्स’ मा पुग्ने देखिन्छ।

२० वर्षपछि महेशको पुनरागमन

महेशप्रसाद रिजाल २० वर्षपछि यु–१९ विश्वकपमा प्रशिक्षकको भूमिकामा फर्किंदै छन्। हाल उनी ऐतिहासिक यात्रा गरिरहेको नेपाली यु–१९ महिला टोलीका प्रशिक्षक हुन्। यसअघि सन् २००४ मा नेपाली पुरुष टोलीले यु–१९ विश्वकप खेलिरहँदा महेशले मुख्य प्रशिक्षक रोय लुक डायसलाई सघाएका थिए। सोही विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई एक र युगान्डालाई पाँच विकेटले हराउँदै इतिहास रचेको थियो।

समूहचरणबाट अगाडि बढ्न नसके पनि उक्त विश्वकपले नेपाली सिनियर टोलीलाई डेढ दशकसम्म धान्दिने शक्ति गौचन, पारस खड्का, राजकुमार श्रेष्ठ, यशवन्त सुवेदी, मञ्जित श्रेष्ठ, लाक्पा लामा, शरद् भेषावकर, कनिष्क चौगाईं, मनोज कटुवाल, मोनिक श्रेष्ठ, शशि केशर र वसन्त रेग्मीलगायत खेलाडीलाई जन्म दियो। शरद्बाहेक अन्यले अहिलेको समयमा खेल्न छाडे। यी पूर्वखेलाडीमध्ये कतिपय क्यानको व्यवस्थापकको भूमिका छन् भने कतिले घरेलु टोली सम्हालेर क्रिकेटमा योगदान दिइरहेका छन्।

यु–१९ महिला विश्वकप पनि नेपाली महिला क्रिकेटको भविष्यको आधार बन्ने उनलाई विश्वास छ। ‘दुई दशकअघिको टोलीले नै क्रिकेटलाई यो अवस्थामा ल्याइपु¥याएको हो। त्यसैले यो उमेरसमूहको टोलीले पनि भोलिको दिनमा महिला क्रिकेटलाई हाँक्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।

एसिया कपबाट फर्किएर आएपछि तयारीका लागि नेपालले १८ दिनको छोटो समय मात्रै पाएको थियो। तर, टोलीले १० दिन चितवनमा प्रशिक्षण गरेको थियो। त्यसपछि काठमाडौंमा विभागीय टोलीसँग यु–१९ टोलीले दुई अभ्यास खेल खेल्यो।

त्यसले गर्दा पनि यसपल्ट तयारीमा कुनै चुक नरहेको उनी दाबी गर्छन्। त्यसैले स्थापित राष्ट्रविरुद्ध पनि बलियो चुनौती पेस गर्नेमा रिजाल ढुक्क देखिन्छन्। ‘छनोटदेखि नै यो टोलीले राम्रो प्रदर्शन गरेको छ। विश्वकपमा पनि यो टोलीले स्थापित राष्ट्रहरूलाई चुनौती दिँदै सुपर सिक्समा स्थान बनाउनेमा विश्वस्त छु,’ उनले थपे।

प्रकाशित: २७ पुस २०८१ २१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App