१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

दाङमा २२ जनाले पाए आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो।

कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ। घोराहीबाट पाँच हजार १७९, तुलसीपुरबाट सात हजार २६७ र लमहीबाट दुई हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताए।

त्यसैगरी, ४१९ नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। राहदानीमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट सात हजार ५७९, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पाँच हजार ६२७ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार १६ वटा वितरण गरिएको छ।

गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ भने पाँच हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र दर्तामध्ये जिल्ला प्रशासन कार्यालयबाट ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीबाट ११ हजार ९०८ जनाको विवरण दर्ता गरिएको छ।

कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ। 

प्रकाशित: १३ श्रावण २०८३ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App