coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट नेपाली भित्रिए संगै जुम्लामा उच्च सतर्कता

पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थापन समिति जुम्लाको आईतबार बसेको बैठकले भारत देखि भित्रिने नागरिकको उचित व्यवस्थापन र रेखदेखका लागि क्वारेन्टिनको प्राथमिकिकरण गरेको हो । 

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार जुम्लाका पाँच वटा स्थानमा जिल्ला स्तरीय क्वारेन्टिन निर्माण शुरु गरिएको छ । कर्णाली प्राविधिक शिक्षालयमा अहिले जिल्ला स्तरीय क्वारेन्टिन निर्माण गरेर भारत देखि आउने नागरिकलाइ राखिएको छ । यसैगरी निर्माण व्यवसायी संघ जुम्लाको भवन, जुम्ला बहुमुखि क्याम्पस,दुर्गा माबि लाम्रा र सरस्वती उच्च माबि कुडारीमा जिल्ला स्तरीय क्वारेन्टिन निर्माण गर्ने भएको छ । 

यहाँ भारतबाट दैनिक रुपमा मानिसहरु भित्रिन थालेपछि व्यवस्थापनमा चुनौति थपिएको छ । प्रमुख जिल्ला अधिकारी बञ्जाडे भन्छिन्,‘यहाँका स्थानीय सरकार, उद्योगी, व्यवसायी, नागरिक समाज र स्थानीय संगको समन्वयमा प्रभावकारी व्यवस्थापन भइरहेको छ । ’

कामका शिलशिलामा कालापहाड भएका मानिसहरु भित्रिदा क्वारेन्टिन नपुग्ने भयो, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘क्वारेन्टिनको पनि प्राथमिकीकरण गर्यौ,। पाँच ठाउँमा क्वारेन्टिन व्यवस्थापन गर्ने गरि तयारी भइरहेको छ । ’आइतबार मात्र ६५ जना भित्रिने भएकोले उनीहरुलाई निर्माण व्यवसायीसंघको हलमा राखिने भएको हो । 

क्वारेन्टिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइने भएको छ । एउटा क्वारेन्टिनमा तीन घेरामा सुरक्षाकर्मी राखिने छ । एक ठाउँमा निर्माण गरिएको क्वारेन्टिन न्युनतम एक सय बेडको हुनेछ । अहिले सम्म जुम्लालाई जोगाइ राखेका छौँ,सबै स्थानीय सरकार जिम्मेवार रुपमा प्रस्तुत भइरहेका छन् । प्रजिअ बण्जाडेले भनिन्,‘आगामी दिनमा पनि जुम्लालाई सुरक्षित राख्ने रणनिती बनिरहेको छ । यसमा समग्र जुम्लाबासीले साथ दिन जरुरी छ । ’

यसअघि यहाँका स्थानीय तहले बनाएका क्वारेन्टिन मापदण्ड अनुसार नबनेको र क्वारेन्टिन व्यवस्थापनमा लापरबाही देखिएकोले जिल्ला स्तरीय क्वारेन्टिनको अवधारणा बनेको हो । क्वारेन्टिन व्यवस्थापनको लागि खाना व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति लगायतका विभिन्न समिति गठन भएका छन् । कोभिड १९ मैत्री एम्बुलेन्सको व्यवस्थापन भएको छ । 

कर्णाली प्राविधिक शिक्षालयमा बसालेका २९ जनाको पिसिआर परिक्षण गरेर घर फर्काउने तयारी भइरहेको छ । 

जुम्लामा कोराना भित्रिन नदिनको लागि हदै सम्मको पहल भइरहेको छ । यहाँका पाँच वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ ज्वरो जाँच गर्ने देखि आवश्यक स्वास्थ्य परामर्श दिने काम भइरहेको छ । जिल्ला स्तरीय क्वारेन्टिनमा बसेकालाई यहाँका स्थानीय तहले सबै व्यवस्थापन गरिरहेका छन् ।

प्रकाशित: १२ जेष्ठ २०७७ ००:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App