coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मृतक महिलाको माइती र घरगाउँमा लगाइएको सिल हटाइयो

कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक सुत्केरीको मृत्यु भएपछि उनको माइती र घरगाउँ तथा स्थानीय स्वास्थ्य संस्थामा लगाइएको सिल शुक्रबार हटाइएको छ।  

मृतक महिलाको सम्पर्कमा रहेका परिवारजन, आफन्त, छिमेकी, स्थानीयदेखि एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसम्ममा कोरोना नपाइएपछि स्थानीय प्रशासनले आठ दिनपछि सिल हटाएको हो।  गएको शुक्रबार कोरोना भाइरसको कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको घर रहेको बाह्रविसे नगरपालिका–९, माइती रहेको बलेफी गाउँपालिका–७, र ८ तथा प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको थियो।  

‘कसैमा पनि संक्रमण नदेखिएपछि सिल हटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने, ‘तर बन्दाबन्दी (लकडाउन) भने सबै ठाउँमा झैँ जारी नै रहन्छ। ’ सिल हटेसँगै स्थानीय लकडाउनको पालना गर्दै आत्यावश्यक काममा गाउँबाट निस्कन पाउने उनले जानकारी दिए।  

प्रजिअ ढकालका अनुसार मृतक महिलाको सम्पर्कमा रहेका एक सय ९७ को थ्रोट स्वाब पिसिआर विधिमार्फत परीक्षण गरिएकोमा एक सय ८७ को रिपोट नेगेटिभ आएको छ।  रिपोर्ट आएका सबै मृतकका गाउँले, उनीसँग सम्पर्कमा रहेकाहरु र सुरुवाती उपचार गर्ने स्वास्थ्यकर्मी हुन्।  मृतकसँग सम्पर्कमा रहेका तर सुनकोसी गाउँपालिका लगायत छिमेकी स्थानीय तहका १० जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको ढकालले जानकारी दिए।  

सिल हटाइएसँगै बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र पनि खुल्ने भएको छ।  शनिबारदेखि केन्द्रका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राख्दै त्यहाँबाट प्रवाह हुने सेवा ठप्प पारिएको थियो।  धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला त्यहाँ पुग्नुअघि उपचारका लागि केन्द्रमा गएकी थिइन्।  

स्वास्थ्य मन्त्रालयले महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेपछि उनको माइती, घरगाउँ र स्वास्थ्य केन्द्रमा सिल गर्दै कन्ट्राक्ट ट्रेसिङका साथ आइतबार र सोमबार थ्रोट स्वाब संकलन गरिएको थियो।  पहिलो खेपमा मंगलबार ५६ जना र एक सय ३१ को रिपोर्ट शुक्रबार आएको थियो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा संकलित स्वाबको पिसिआर परीक्षण गरिएको थियो।  सबैको नेगेटिभ रिपोर्टसँगै सिल गरिएका क्षेत्र खुलाइएपछि जिल्लामा व्याप्त त्रास घट्न थालेको छ।  महिलाको कोरोनाले मृत्यु भएपछि परालको आगो सल्के झैँ जिल्लाभर सन्त्रास फैलिएको थियो।  

शिशु र आफन्त डिस्चार्ज  

धुलिखेल अस्पतालले मृतकका नवजात शिशुसहित पाँच आफन्तलाई शुक्रबार डिस्चार्ज गरेको छ।  मृतकका १८ दिनका छोरा, उनका श्रीमान्, आमा, भाइ र बहिनीलाई अस्पतालले घर फर्काएको हो।  अस्पतालले यसअघि नै उनीहरुमा कोरोना नरहेको पुष्टि गरिसकेको थियो।  तर शिशुमा सामान्य जण्डिस र शरीरमा बिमिराको समस्या रहेपछि सबैलाई आइसोलेसनमा राखेर अस्पतालले शिशुको उपचार गरेको थियो।  

बालरोग बिशेषज्ञले शिशु पूर्णरुपमा निको भएको रिपोर्ट दिएपछि उनीसहितका आफन्तलाई डिस्जार्च गरिएको अस्पतालले प्रेश विज्ञप्ति जारी गरी जनाएको छ।  अस्पतालले उनीहरुलाई एक साता क्वारेन्टाइनमा राख्नुपर्ने समेत जनाएको छ।  ‘एक साताको क्वरेन्टाइन बसाईँपछि डिस्चार्ज हुनुपूर्व आरडिटी टेस्ट गराउनु पर्ने छ,’ अस्पतालका प्रशासकीय िनर्देशक डा. रमेश मकाजूद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखा परे मात्र पिसिआर टेष्ट दोहो¥याउँनु पर्ने जानकारी गराउँछु। ’

प्रजिअ ढकालले अस्पतालको सिफारिस बमोजिम शिशुसहितलाई एक साता क्वारेन्टाइनमा राखिने जानकारी दिए।  

 

प्रकाशित: ९ जेष्ठ २०७७ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App