८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाबाट पहिलो मृत्यु हुने महिलाका आफन्त शिशुसहित घर फर्किए

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन्।  उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो।  

अस्पतालमा उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अस्पतालको डिस्चार्जपछि फर्किएका मृतक सुत्केरीका १३ दिने शिशु, उनका श्रीमान्, आमा, भाइ र बहिनीलाई सुरक्षित क्वारेन्टाइनमा राखिने बताए। ‘उनीहरुलाई दुई साता क्वारेन्टाइनमा राख्छौँ,’ उनले भने। १४ दिन क्वारेन्टाइनमा राख्ने शर्तमा अस्पतालले मृतकका आफन्तलाई डिस्जार्च गरेको थियो।

धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको थियो। शिशुसहित मृतकका पाँच आफन्त उनीसँगै धुलिखेल अस्पताल पुगेका थिए। सुत्केरीको मृत्युको कारण कोरोना भएको पुष्टि भएपछि अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा आफन्तको स्वाब परीक्षण गरिएको थियो।

कोरोनाकै कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका चालकदेखि, छिमेकी, स्थानीय र स्वास्थ्यकर्मीसहित एक सय ८८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। संक्रमण फैलन नदिन उनको घर गाउँमा कन्ट्राक्ट ट्रेसिङ गर्दै स्वाब नमूना संकलन गरिएको हो। महिलाको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ शुक्रबारदेखि सिल गरिएको छ।  

आइतबारदेखिदेखि त्यहाँ स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल, विश्व स्वास्थ्य संगठनको समूह र बागमती प्रदेश सरकारको बिज्ञ चिकित्सकसहितको संयूक्त टोलीले काम गरिरहेको छ। मृतकको घर रहेको राम्चे गाउँका मात्र एक सय दुई जनाको स्वाब संकलन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। आइतबार ५६ र सोमबार ४६ स्थानीयको स्वाब संकलन गरिएको थियो।  

आइतबार संकलित स्वाब परीक्षणका लागि राष्ट्रिय जनप्रयोगशाला पठाइएको छ। रिपोर्ट भने आइसकेको छैन। सोमबार संकलित स्वाब पनि साँझ नै परीक्षणका लागि पठाइएको छ। मंगलबारदेखि संकलित स्वाबको रिपोर्ट आउन थाल्ने प्रजिअ ढकालले बताए। उनका अनुसार मृतकको माइती गाउँ बलेफी–७ र ८ मा भने स्वाब संकलन गरिएको छैन। ओहोरदोहोर नपाइएकाले स्वाब संकलन नगरिएको हो। ‘संकलित स्वाबको रिपोर्टका आधारमा मृतकको माइती गाउँमा स्वाब संकलन गर्ने/नगर्नेबारे निर्णय हुन्छ,’ प्रजिअ ढकालले भने। मृतकको सम्पर्कमा रहेका  सुनकोसी गाउँपालिकाकासहित ६ जनाको मात्र स्वाब संकलन गर्न बाँकी छ।

त्यस्तै सोमबारै बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र मृतकको सम्पर्कमा रहेका अन्यसहित थप ८६ जनाको थ्रोट स्वाब संकलन गरिएको चापागाईँले बताए। प्रारम्भिक उपचार गरेर केन्द्रले नै ती महिलालाई धुलिखेल रेफर गरेको थियो। सिल गरिएको केन्द्रमा स्वास्थ्य सेवा रोकिएको छ। केन्द्रका सबै स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

 

प्रकाशित: ५ जेष्ठ २०७७ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App