बाँके निर्वाचन क्षेत्र नं १ मा चुनाव जितेपछि ढुक्क हुने छुट कसैलाई छैन। यहाँ जित भनेको पाँच वर्षका लागि जनताको निगरानीमा बस्ने लाइसेन्स मात्र हो। काम गरे त ठिकै, नगरे मतपेटिकाले नै हिसाबकिताब मिलाइदिन्छ। यहीकारण बाँके–१ मा सत्ता टिक्दैन, असन्तोष टिकिरहन्छ।
२०६४ सालदेखि २०७९ सालसम्मको निर्वाचन इतिहास हेर्दा बाँके– १ लाई ‘नेता दोहोरिन नपाउने क्षेत्र’ भनेर चिनाए अतिशयोक्ति हुँदैन। यहाँ कुनै पनि दल वा नेताले लगातार जनविश्वास कायम राख्न सकेको उदाहरण छैन। २०६४ मा माओवादीबाट तिलक परियार, २०७० मा एमालेका देवराज भाट, २०७४ मा माओवादी केन्द्रका महेश्वरजंग गहतराज र २०७९ मा एमालेका सूर्य ढकाल निर्वाचित भए।
२०७४ सालमा निर्वाचित महेश्वरजंग गहतराजको पराजय यस क्षेत्रको इतिहासमै सबैभन्दा चर्चित घटनामध्ये एक हो। उनी त्यसबेला सांसद मात्र होइन, बहालवाला मन्त्रीसमेत थिए। कांग्रेससँगको गठबन्धनको समर्थनसमेत उनको पक्षमा थियो। यति बलियो राजनीतिक पृष्ठभूमि हुँदाहुँदै पनि उनी २०७९ सालको निर्वाचनमा पराजित भए।
२०७४ मा गहतराजले आफ्ना प्रतिद्वन्द्वीलाई दुई हजार नौ सय ५६ मतले पराजित गरेका थिए तर पाँच वर्षपछि भएको निर्वाचनमा उनी त्यसको दोब्बरभन्दा बढी पाँच हजार तीन सय ९४ मतको फराकिलो अन्तरले पराजित भए। यो मतान्तर मात्र होइन, मतदाताको धारणा र अपेक्षामा आएको गहिरो परिवर्तनको संकेत पनि हो। अहिलेको निर्वाचनमा उनको नाम उम्मेदवारका रूपमा सिफारिस भए पनि अन्ततः उनी मैदानमा उत्रिएनन्।
बाँके -१ लाई अहिले ‘नेता बदलिरहने निर्वाचन क्षेत्र’ का रूपमा चिनिन थालेको छ। यहाँ मतदाताले कुनै पनि प्रतिनिधिलाई दीर्घकालीन रूपमा स्वीकार गरेका छैनन्। हरेक निर्वाचनमा नयाँ विकल्प खोज्ने प्रवृत्ति यहाँ बलियो देखिन्छ। यसको पछाडि मतदातामा बारम्बार दोहोरिने निराशा प्रमुख कारण बनेको छ।
चुनावका बेला गरिएका विकास, रोजगारी, सेवासुविधा, सडक, शिक्षा र स्वास्थ्यसम्बन्धी वाचा कार्यकालभरि पूरा नहुँदा मतदातामा अविश्वास बढ्दै गएको छ। प्रतिनिधिहरूले भाषणमा देखाएको उत्साह व्यवहारमा नदेखिँदा मतदाता फेरि परिवर्तनतर्फ उन्मुख हुन्छन्। बाँके– १ का मतदाताले बारम्बार ‘वाचा होइन, परिणाम चाहियो’ भन्ने सन्देश दिँदै आएका छन्।
त्यसैगरी जितेपछि जनतासँगको सम्पर्क कमजोर हुनु पनि यहाँ प्रतिनिधि परिवर्तनको अर्को कारण बनेको छ। निर्वाचन जितेपछि नेता काठमाडौंकेन्द्रित हुने, क्षेत्रमै कम आउने, समस्या नसुन्ने वा पहुँचविहीन व्यवहार देखाउने गरेको गुनासो यहाँका मतदाताले गर्दै आएका छन्। जनतासँग प्रत्यक्ष संवाद नहुने नेताप्रति मतदाताको भरोसा टिक्न सक्दैन।
विकास र सेवा प्रवाहमा देखिने कमजोरीले पनि असन्तोष बढाएको छ। सडक, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार नदेखिँदा मतदाता पुरानै प्रतिनिधिलाई दोहोर्याउन इच्छुक देखिँदैनन्।
योजनाहरू कागजमै सीमित हुँदा वा प्रभावकारी कार्यान्वयन नहुँदा परिवर्तनको चाहना अझ बलियो हुन्छ। पद पाएपछि व्यवहार बदलिनु, आफ्ना कार्यकर्ता मात्र प्राथमिकतामा राख्नु, आलोचना नसहने प्रवृत्ति देखिनु वा भ्रष्टाचार र सत्ता दुरुपयोगका आरोप लाग्नुले पनि प्रतिनिधिको राजनीतिक भविष्य कमजोर बनाउने गरेको छ। बाँके– १ मा ‘सत्तामा पुगेपछि बदलियो’ भन्ने धारणा धेरै नेताका लागि घाटाको कारण बनेको छ।
यस क्षेत्रका मतदाता नयाँ अनुहार, युवा र फरक सोच बोकेका उम्मेदवारप्रति चाँडै आकर्षित हुने गरेका छन्। पुराना नेताबाट निराश भएपछि ‘यसपालि नयाँलाई मौका दिऔं’ भन्ने मनोवृत्ति बलियो देखिन्छ। यही कारण बाँके– १ मा हरेक निर्वाचन रोचक र अनिश्चित बन्दै गएको छ।
राष्ट्रिय राजनीतिमा दलको नीति, आचरण र नेतृत्वप्रति देखिने असन्तोषको असर पनि यहाँको मतदान व्यवहारमा देखिन्छ। प्रतिनिधि व्यक्तिगतरूपमा ठीक देखिए पनि दलप्रतिको असन्तुष्टिले मतदाताले सजायस्वरूप परिवर्तनको बाटो रोज्ने गरेका छन्। साथै शिक्षा, सञ्चार र सामाजिक सञ्जालको पहुँच बढेसँगै मतदाताको चेतना र अपेक्षा पनि बढेको छ। अहिलेका मतदाता भाषणभन्दा कामको मूल्यांकन गर्न थालेका छन्।
अहिले एमालेबाट उम्मेदवार सूर्य ढकाल विघटित प्रतिनिधिसभा सदस्य हुन्। २०७९ मा निर्वाचित भए पनि यसपटक उनको चुनौती झनै कठिन देखिन्छ। उनी पुनः विजयी भए भने बाँके– १ को इतिहासमै एउटै प्रतिनिधि दोहोरिएर निर्वाचित हुने दुर्लभ उदाहरण बन्ने छ तर यही इतिहास नै उनको सबैभन्दा ठुलो परीक्षा पनि हो। यहाँको मतदाता परम्परागत रूपमा परिवर्तन चाहन्छन्। त्यसलाई तोड्न उनले अघिल्लो कार्यकालमा गरेका काम, जनतासँगको सम्बन्ध र आगामी योजनाबारे मतदातालाई विश्वस्त पार्नैपर्छ। राजनीति विश्लेषकहरूका अनुसार, सूर्य ढकालको हार वा जित अहिल्यै निश्चितरूपमा विश्लेषण गर्न सकिने अवस्था छैन। प्रतिस्पर्धा कडा छ र अन्तिम समयमा मतदाताको निर्णय बदलिन सक्ने सम्भावना उत्तिकै छ।
बाँके निर्वाचन क्षेत्र नं १ ले नेपाली लोकतन्त्रलाई एउटा कडा सन्देश दिन्छ, ‘सत्ता जनताको हो, नेताको होइन।’
यहाँ पद, शक्ति र गठबन्धनभन्दा पनि काम, व्यवहार र जवाफदेहिता निर्णायक बन्छ। जितेपछि जनताबाट टाढिने, वाचा भुल्ने र सत्ताको अहंकार देखाउनेलाई बाँके– १ का मतदाताले दोहोर्याउँदैनन्।
मतदाताले किन नेता परिवर्तन गर्छन्?
१. वाचा पूरा नहुनु: चुनावअघि गरिएका विकास, रोजगारी, सेवा–सुविधासम्बन्धी प्रतिबद्धता पूरा नभए मतदातामा निराशा बढ्छ र नयाँ अनुहार खोज्ने सोच बनाउँछन्।
२. प्रतिनिधिको पहुँच र व्यवहार चुनेपछि जनतासँग भेटघाट नगर्ने, समस्या नसुन्ने वा अहंकारी व्यवहार देखाए प्रतिनिधि फेरिन सक्छन्। मतदाताले ‘हाम्रो मान्छे’ चाहन्छन्।
३. स्थानीय मुद्दा र आवश्यकता बदलिनु: समयसँगै क्षेत्रका प्राथमिकता बदलिन्छन्, कहिले सडक, कहिले रोजगारी, कहिले शिक्षा वा स्वास्थ्य। पुरानो प्रतिनिधि नयाँ आवश्यकतासँग मेल नखाए परिवर्तन हुन्छ।
४. वैकल्पिक उम्मेदवारको उदय: नयाँ, युवा वा सक्रिय उम्मेदवार देखिँदा मतदाताले आशा राख्छन्। ‘यसपालि यसलाई मौका दिऔं’ भन्ने सोचले परिवर्तन सम्भव हुन्छ।
५. दलप्रतिको असन्तोष: राष्ट्रिय राजनीतिमा दलको नीति, आचरण वा नेतृत्वप्रति असन्तोष भए त्यसको असर स्थानीय चुनावमा पनि पर्छ। प्रतिनिधि राम्रो भए पनि दलप्रति रिसले हार्न सक्छ।
६. भ्रष्टाचार वा अनियमितताको आरोप: भ्रष्टाचार, शक्ति दुरुपयोग वा अनैतिक कामको चर्चा फैलिँदा मतदाताले सजायस्वरूप प्रतिनिधि परिवर्तन गर्छन्।
७. मतदाताको चेतना र अपेक्षा बढ्नु: शिक्षा, सञ्चार र सामाजिक सञ्जालका कारण मतदाता पहिलेभन्दा सचेत छन्। परिणाम देख्न चाहन्छन्, भाषण मात्र सुन्न चाहँदैनन्।
प्रकाशित: ११ माघ २०८२ १०:४९ आइतबार



