१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानको प्रसुती वार्ड सिल

वीपी प्रतिष्ठानको ओपिडी भवन । तस्बिर : रोहित राई

धनकुटाकी कोरोना संक्रमित स्टाफ नर्सले रिफर गरेकी सुत्केरी महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक नर्सको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा एक सुत्केरी महिला प्रतिष्ठानको गाइनो वार्डमा रहेको खुलेपछि गाइनो वार्ड सिल गरिएको प्रसुती विभागका प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । ‘धनकुटामा संक्रमित स्वास्थ्यकर्मीले जाँच गरेर रिफर गरेको सुत्केरी गाइनो वार्डमा भर्ना भएको रहेछ, त्यो थाह पाएपछि सिल गरिएको छ,’डा.रेग्मीले भने,‘विरामीको स्वाब लिएर परीक्षणको रिपोर्ट नआएसम्म कोही विरामी भर्ना पनि गर्दैनौं, र डिस्चार्ज पनि दिदैनौं ।’

सुत्केरी महिलालाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ भने उनको स्वाब लिएर परीक्षण गरिने भएको छ । ती महिलाको जिल्ला अस्पताल धनकुटामा करिब ३ साताअघि शल्यक्रियामार्फत डेलिभरी भएको थियो । डिस्चार्ज भई घर गएकी उनको इन्फेक्सन भएपछि पुनः अस्पताल उपचार गराउन पुगेकी थिइन् । ज्वरोसमेत आएकी ती सुत्केरी महिलालाई संक्रमण पुष्टि भएकी नर्सले स्वास्थ्य जाँच गरेर वीपी प्रतिष्ठान रिफर गरेको खुलेको छ । उनी शुक्रबार प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भएको विभागीय प्रमुख प्रा.डा.रेग्मीले जानकारी दिए ।

मंगलबारदेखि ओपिडी सेवा सुरु हुने
वीपी प्रतिष्ठानले मंगलबारदेखि ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको छ । मुख्य गेटबाट नै सुरक्षा विधि अपनाएर ओपिडी सेवा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

कोरोनाबाहेकका विरामीहरुलाई पनि उपचार सेवा दिन ओपिडी सुचारु गरिन लागेको प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीका अनुसार संक्रमण नफैलियोस् भनेर सामाजिक दुरी कायम राखिनेछ भने मुख्य गेटमा इन्फ्रारेट थर्मोमिटर(थर्मल गन)बाट तापक्रम नापेर मात्र विरामीलाई प्रवेश दिइनेछ । साथै, विरामीहरुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ ।  

सबै विभागसँग समन्वय गरेर विरामी संख्या सिमित राखेर टोकन वितरण गरेर गरिने र सोही आधारमा विरामी दर्ता तथा ओपिडी कार्ड उपलब्ध गराइने डा.गिरीले बताए । ‘मेन गेटदेखि नै विरामीको स्क्रिनिङ हुन्छ । तापक्रम नाप्ने, हातधुन सेनिटाइजर राख्ने, विरामी र स्वास्थ्यकर्मीहरुमा दुरी कायम राख्ने काम हुन्छ,’उनले भने,‘विरामीको संख्या के कति हुन्छ, त्यो अनुसार थप व्यवस्थित गछौं ।’

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App