२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र २ मा उपनिर्वाचन आज, प्रतिस्पर्धामा १९ उम्मेदवार

बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान, सबै तयारी पूरा

इलाम नगरपालिका ८ को तयारी मतदान केन्द्र। तस्बिर : नागरिक

आज इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनको सबै तयारी पूरा भई ७ बजे मतदान सुरु हुने छ।

यो क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्र मतदानका लागि तयार रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। ‘बिहीबार र शुक्रबार सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्,’ उनले भने, ‘मतदानका लागि सबै केन्द्र तयार भएका छन्।’

मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र सहयोगी गरी पाँच कर्मचारी खटाइएका छन्। उनीहरूले स्थानीय सर्वदलीय बैठक गरी मतदानको तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान केन्द्रमा घेराबारा, मतदातालाई लाइन राख्ने ठाउँ लगायत सबै तयार भइसकेको छ। मतदातालाई पुरुष र महिलाले अलगअलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

हरेक मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा पुगिसकेका छन्। सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’ मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि ‘विशेष व्यवस्था’ अपनाइएको सिडिओ इन्द्रदेव यादवले बताए।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन जनाइएको छ। ६ पालिकाका ४२ वडामा मतदान हुन लागेको हो।

यसपटकको उपनिर्वाचनमा इलाम २ मा  ५६ हजार  आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार  आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। यो उपनिर्वाचनमा सबै पुरुष उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन्।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलनकुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १५ वैशाख २०८१ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App