२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना परीक्षणमा भूगोल बाधक

जुम्ला- कर्णालीमा कोरोना परीक्षणका लागि भूगोल बाधक बनेको छ । यहाँका गाउँबस्तीसम्म पुग्न हरेक जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्रसम्म पुग्न एकदेखि तीन दिनसम्म लाग्ने गर्छ । भौगोलिक रुपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भएपनि स्वाब संकलन र र्‍यापिड परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साता अघि कर्णालीको मुगु जिल्ला खत्याड गाउँपालिकामा र्‍यापिड परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

जुम्लादेखि खत्याडसम्म गाडीमा पुग्न एक दिन लाग्यो । त्यो टोली एक हप्ता खत्याडमै बस्यो । खत्याडबाट सदरमुकाम गमगडी आउन सकिने अवस्था पनि भएन् । नत कर्णाली प्रतिष्ठान जुम्लामा । भौगोलिक रुपमा निकै विकट भएकोले टोली गाउँमै बस्यो । कर्णालीका हुम्ला र डोल्पा सडकले जोडिएको छैन । जहाँ हेलिकप्टर प्रयोगको विकल्प छैन् । मुगु, जुम्ला,कालिकोटमा सडक जोडिएको छ तर ग्रामिण क्षेत्रमा सहजै रुपमा जान सकिने अवस्था छैन । पैदल हिडर गाउँमा जानुको विकल्प छैन ।

अहिले पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली सडक मार्ग हुदै सबै जिल्लामा पुग्न सकिने अवस्था छैन । मुगु र हुम्ला जिल्लामा हेलिकप्टरबाट चिकित्सक ओसारिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावल बताउँछन् । उनका अनुसार ती जिल्लामा हेलिकप्टर यात्राको बिकल्प पनि थिएन । निर्देशक डा. मंगल रावल भन्छन्,‘भुगोल त विकट छ नै । त्यो भन्दा बढि इच्छाशक्तिको आवश्यकता छ । ’

प्रतिष्ठानका अनुसार हुम्लाको पाँच ठाउँको लागि १० जनाको स्वास्थ्यकर्मीको टोली खटाइएको छ । मुगुको दुइ ठाउँका लागि ४ जना र कालिकोटका ३ ठाउँका लागि ५ जनाको टोली खटाइएको छ । त्यो टोली प्रतिष्ठान सम्म पुग्नको लागि हेलिकप्टरको सहयोग लिनुको विकल्प छैन । संकलित स्वाब तीन दिन भित्र पुर्‍याइसक्नु पर्दछ । कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडल भौगोलिक विकट्ताका कारण कोराेना परीक्षणको काम गर्न समस्या भइरहेको बताउँछन् । उनले भने,‘ यहाँको भुगोलले गर्दा अपेक्षा अनुसार कोराना परिक्षण हुन सकेको छैन । ’कालिकोटका नजिक स्थानमा सहजै भएपछि टाढा पुग्न निकै समस्य छ ।  

प्रत्येक क्षेत्रमा सडक जोडिएको छैन । अहिले पनि हिडेर जानु पर्ने बाध्यता छ । सात आठ घण्टा हिडेर जानु पर्दा समस्या छ । प्रमुख जिल्ला अधिकारी पौडेल प्रत्येक वडामा १० जनाको स्वाब संकलन कार्य शुरु भइरहेको बताउँछन् । विभिन्न समूह छुट्याएर पिसिआरका लागि स्वाब संकन भइरहेको छ । हालसम्म र्‍यापिड परीक्षण ४ सय ८८ जनाको भएको छ । सबैको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।  

पिसिआर १९ जनाको परीक्षण भइसकेकोमा १० जनाको परिक्षण गर्नको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाइएको छ । मुगुमा ३ सय ३५ जनाको र्‍यापिड परीक्षण भएको छ । ११ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार स्वाब संकलन र र्‍यापिड परीक्षणका लागि निकै कठिन छ । भारतदेखि मुगुमा ३ सय ६२ जना भित्रिएकोमा ३ सय ३५ जनाको र्‍यापिड परीक्षण भइसकेको छ । पछिल्लो समयमा दार्चुला, सुर्खेत, नेपालगंज हुदै भारतबाट आएकाहरुको खोजी भइरहेको छ ।  

हुम्लामा दुई, तीन दिन लगाएर गाउँमा जानुपर्छ । डोल्पामा पनि भौगोलिक विकट्ताका कारण कोरोना परीक्षण कार्य निकै प्रभावित भइरहेकोछ  । एक जिल्लाबाट एक हजार जनाको स्वाब संकलन गर्ने गरि कर्णाली प्रतिष्ठानको टोली खटिएको छ । सबै ठाउँको स्वाब संकलन गरेर परीक्षण भइसकेपछि पैदल हिडर स्वाब संकलन गर्न डोल्पा जाने भएको छ । जुम्ला साविकको अन्य जिल्ला भन्दा सुगम भएकोले पिसिआर परीक्षण १ हजार ३ सय बढी भइसकेको छ । र्‍यापिड परीक्षण २ सय ६१ जनाको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लामा कोरोना परीक्षण कार्य तीब्र गतिमा भइरहेको बताउँछिन् । तर कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउँदै लकडाउनको पुर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुरोध गरेको छ । कर्णालीमा पुर्वतयारी छ । अस्पतालमा दक्ष चिकित्सक छन् । औजार उपकरण पनि गुणस्तरीय नै छन् । तर ग्रामिण क्षेत्रमा परिक्षण गरिएको स्वाब पुर्‍याउन निकै सकस भइरहेको छ । कर्णाली प्रतिष्ठानले साविकको कर्णालीको पाँच जिल्लाका पाँच हजार जनाको स्वाब संकलन गरिरहेको छ । कर्णाली प्रदेश सरकारले हुम्ला र मुगु जाने स्वास्थ्यकर्मीलाई हेलिकप्टरबाट पठाएको थियो ।

 

 

 

 

प्रकाशित: १ जेष्ठ २०७७ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App