२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना असर : लकडाउनमा आत्महत्या बढी (अपडेट)

वीरेन्द्रनगर- कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन)को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।  

गत वर्ष दुई सय ५० वटा आत्महत्याका घटना भएका थिए । जसमा यही समयमा ४४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चैत ११ गतेदेखि ३० गतेसम्म १५ जना र वैशाखमा २५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चैतभन्दा अघि फागुनमा सातजना विष र १५ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १७, जुम्लामा एक, डोल्पामा एक, दैलेखमा सात, रुकुम पश्चिममा चार र सल्यानमा १० जनाले आत्महत्या गरेका छन् । यीमध्ये आठजनाले विष सेवन गरेका थिए भने ३२ जनाले झुन्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  

कर्णालीमा अरु घटनाका उजुरीमा भने कमी आएको छ । हाल कर्णालीका १० जिल्लामा ७७ आत्महत्याबाहेक ७७ वटा घटना दर्ताका छन् । सबैभन्दा बढी सार्वजनिक हितसम्बन्धी कसुरमा १४ वटा घटना दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घरेलु हिंसा १३, भवितव्य, १२, कर्तव्य ज्यान तीन, ज्यानमार्ने उद्योग पाँच र फुटकरका ६ वटा घटना दर्ता भएका छन् । 

त्यस्तै आत्महत्या प्रोत्साहन दुई, चोरी दुई, जुवा एक, लागू औषध चार, हातहतियार तथा खरखजना एक, सार्वजनिक शान्तिविरुद्धको कसुर एक, सरुवा रोगसम्बन्धी कानुन उल्लंघन एक, धर्मसम्बन्धी कसुरमा एक, बहुविवाहका तीनवटा उजुरी प्रहरीमा दर्ता भएका छन् । साथै बालविवाह एक, जबरजस्ती करणी उद्योग दुई, बाल दुराचार एक, सवारी ज्यान तीन र ठगीमा एक जनाको उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

यतिबेला सामान्य अवस्थाभन्दा बढी तनाव हुने र व्यापार, व्यवसाय र रोजगारी बन्द भएकाले तनाव उत्पन्न भइ मान्छेले आत्महत्या गर्ने गरेको मनोविद् राजेशकुमार झाले बताए । ‘लकडाउन अनिश्चित भएपछि मान्छेमा निराशावादी साेंच पलायो,’ उनले भने, ‘त्यसपश्चात् मान्छे सकारात्मक सोंच हराएसँगै मानसिक स्वास्थ्य समस्याबाट पीडित हुने र उसले ज्यानसमेत लिन वा दिन सक्छ ।’ 

तनाव मान्छेले धेरै दिन सहन नसक्ने हुँदा यस्ता आत्महत्या धेरै हुने गरेको उनी बताउँछन् । मान्छे अवसर, काम, लक्ष्य र जीवन जिउने बाटोको खोजीमा हुन्छन् भन्दै उनले भने, ‘ती सबै बाटाहरू बन्द भएपछि विचलित भइ छटपटाह धेरै हुने र आबेगमा आएर सोंच परिवर्तन गर्न सक्छन् ।’ यस्तोबेला अभिभावक सँगै हुनुपर्ने उनको सुझाव छ ।  

दैनिक घरायसी काममा लगाउने र सानासाना सफलता हासिल गर्ने अवसर दिँदा मानसिक रोग रोकथाम गर्न सकिने मनोविद्हरू बताउँछन् । अवस्था र परिस्थितिको सामना गर्न नसक्नु र आफ्ना समस्या व्यक्त गर्न नसक्नुले पनि मानसिक समस्या पैदा हुने बताइएको छ । यस्तो अवस्थामा मानसिक समस्या भएका व्यक्तिहरूको समस्या बुझन् जरुरी देखिन्छ ।

 ‘मानसिक समस्या भएका व्यक्तिले समस्या व्यक्त गर्न सक्दैनन्,’ सिएमसी नेपालका कार्यक्रम अधिकृत तथा मनोसामाजिक परामर्शकर्ता हिमाल गैरले बताए । ‘मानसिक समस्यामा भएका व्यक्तिले दैनिक व्यवहारबाट फरक क्रियाकलाप देखाउँछन्,’ उनले भने, ‘चित्रका माध्यम, गीत गुन्गुनाएर वा कुरामा प्रतिक्रिया दिएर त्यस्तो संकेत गर्छन् ।’ त्यस्तो अवस्थामा उनीहरूसँग अन्तक्र्रिया र मनोपरामर्शकर्तासँग समन्वय गर्नपर्ने उनको भनाइ छ ।

पहिला आत्महत्या गरिबीका कारण हुने भए पनि अहिले अन्य कारण पनि थपिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बताए । ‘पहिलाभन्दा अहिले आत्महत्याका कारणमा केही फरक भएको छ,’ उनले भने, ‘अहिले आर्थिक हैसियत पुरानै र इच्छा तथा आकांक्षा बढी हुँदा आत्महत्यासम्मको घटना हुन्छ ।’ उनका अनुसार पहिलेभन्दा लकडाउनको समयमा अन्य घटनामा कमी आएको बताए । 

कार्यालयमा उजुरी दिन नसक्नेहरू तथा टाढाका व्यक्तिले फोनबाटै घटनाको जानकारी दिने गरेका थिए भन्दै उनले भने, ‘अहिले फोनबाट पनि घटनाको जानकारी त्यति आउँदैन ।’ लकडाउन पछि पुनः एक्कासी अपराधिक क्रियाकलाप बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित: ३० वैशाख २०७७ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App