४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

परीक्षणको दायरा बढाएसँगै बढे संक्रमित

सिरहाको दरैहिया सीमा नाकाबाट दैनिक उपभोग्य सामान खरिद गर्न पारि जाँदै स्थानीय। तस्विरःनागरिक

लहान - प्रदेश २ मा बुधबार एकैदिन तीन जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा दुई जना र पर्साका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको हो।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई जितपुर सिमरा उपमहानगरपालिका–१९ स्थित मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र जितपुर सिमरा उपमहानगरपालिका– ७ का ४३ वर्षीय पुरुषमा कोराना संकमण पुष्टि भएको छ। अर्का संक्रमित विरगंज महानगरपालिका –२ का ४६ वर्षीय पुरुष छन्। 

मंगलबार संक्रमण पुष्टि भएका रौतहटको वृन्दावन नगरपालिका– ९ भुसहा का २४ वर्षीय युवक र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका सबै जनालाई नारायणी अस्पताल वीरगंजको आइसोलेसनमा भर्ना गरिएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए। प्रदेशमा कोरोना संक्रमितको उपचारकालागि एक्लो अस्पताल नारायणी अस्पताल छ। 

मंगलबार र बुधबार गरी यस प्रदेशमा कोरोना पुष्टि भएका पाँचै जनाको यात्रा विवरण भारत देखिएको छ। उनीहरु भारतको नयाँ दिल्ली र कलकताबाट चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गरेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

बाराका दुबैजना नयाँ दिल्लीको धार्मीक भेलामा सहभागी भई फर्केको खुलेको छ। पर्सा संक्रमित व्यतिm बैशाख १४ गत्ते संक्रम पुष्टि भएका विरगंजका दुई जना व्यतिmसँग सम्पर्कमा रहेका व्यतिm हुन। वाराका दुई जना र बैशाख १४ गत्ते संक्रमण पुष्टि भएका पर्साका दुई जना व्यतिm दिल्लीबाटसंगै नेपाल फर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको सचिव घिमिरेले बताए। प्रदेश र संघबाट प्राविधिकसहितको टोली कन्ट्याक्ट ट्रेसिङका लागि घटनास्थलमा परिचालन भैसकेको घिमिरेले बताए।

अहिले पनि चोरबाटोले चुनौती दिइरहेको छ उनले भने,‘सीमामा थप कडाई अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छौं। यस प्रदेशमा हालसम्म कोरोना पुष्टि भएका १२ जनैको यात्रा विवरण भारत देखिएको छ।’ परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि थपिँदै गएको छ उनले भने,‘छिट्टै यस प्रदेशमा रियल टाइम पिसिआर मेसिनबाट परीक्षणको दायरा बढाउँदै छौं।

अहिले पिसिआर परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइरहेका छौं।’ हालसम्म यस प्रदेशबाट २ हजार २ सय १८ वटा नमुना (स्वाब) संकलन गरिएको छ। जसमध्ये १३ सय ६२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ। ८ सय ५६ नमुनाको रिपोर्ट आउन बाँकी छ। १३ सय ५० नमुनाको टिपोर्ट आएकोमा  १२ जनाको टिपोर्ट पोजेटिभ आएको घिमिरेले बताए।

रोकिएन चोरबाटोबाट प्रवेश

सहरदेखि दूरदेहातसम्म लकडाउनका कारण आउजाउ नियन्त्रीत बनेको छ। लकडाउनका कारण गाउँसहरमा मानिस घरभित्र छन तर चोरबाटोबाट मानिसको आउजाउ अझै रोकिएको छैन्। चोरबाटोबाट प्रवेश चलिनै रहेको छ। जसका कारण गाउँदेखि सहरसम्म कोरोना संक्रमणको जोखिम बढाएको छ। 

सीमामा आउजाउ रोक्न तायनाथ सुरक्षाकर्मीको जति रोक्न खोजेपनि चोरबाटोको लाभ उठाउँदै सीमामा आउजाउ पूर्ण रुपले रोकिएको छैन्। सुरक्षाकर्मीहरु हात जोडेर सीमाना घेरेर बस्ने अवस्था पनि छैन्। 

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ। यी जिल्लाका १ सय ३३ वटा वडा(गाउँ) भारतीय सीमासँग जोडिएका छन्। चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ९ वटा नाका छन्। जसमा सशस्त्र प्रहरीको ५३ वटा बोर्डर आउटपोष्ट छन्। सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट वारि र वारिबाट पारि गर्नेहरुले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन्। 

चोरबाटोको लाभ भारतबाट घर फर्किने मानिसहरुले मात्र उठाइरहेका छैनन्। वारिका सामान पारि र पारिका सामान वारि गर्ने तस्करले पनि चोरबाटोको भरपूर लाभ उठाउँदै छन्। अहिले वारिका सहरबाट राहत सामग्री लेखिएको ब्यानर झुन्ड्याइएको सावरी साधनमा मदिरा भरेर सीमामा सञ्चालित गोदामसम्म पुर्याउने र त्यहाँबाट बोरामा भरेर अनुकुल समयमा टाउकोमा बोकेर पारि पु-याउने धन्दा फस्टाएसँगै कोरोना संक्रमणको खतरा बढाएको छ। सीमामा राती राती दुबैतिर(नेपाल भारत)का तस्कर समुहको सघन आउजाउले स्थानीयबासीलाई असुरक्षित बनाएको छ।

चोरबाटो यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ। सीमाबाट लुकिछिपि हुने प्रवेश र तस्करीले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको छ। खुल्ला सीमानाका कारण हुने आउजाउले कोरोना संक्रमणको जोखिम बढाउँदै छ। 

प्रकाशित: १८ वैशाख २०७७ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App